संशोधन प्रस्तावमा सर्वसम्मती वा दुई तिहाई पुग्ने अवस्था नभए निर्णयार्थ पेश गर्नुहुँदैन् : विश्वकर्मा

काठमाडौं, २८ असार । नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले संसदमा विचाराधिन संविधान संशोधन विद्येयक निर्णयार्थ पेश गर्न नहुने स्पष्ट पारेका छन् । उनले सकेसम्म प्रस्तावलाई सर्वसम्मती नभए दुईतिहाई पुग्ने अवस्था भएमात्रै निर्णयार्थ प्रस्तुत गर्नुपर्ने यदि दुवै अवस्था नभए प्रस्तावलाई थाँती राखेर चुनावी एजेण्डा बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता विश्वकर्माले मधेशको मुद्दालाई कसैले पनि उपेक्षा गर्न नहुने बताउँदै सकेसम्म यही असारभित्रै संशोधन प्रस्तावलाई सर्वसम्मतिले पारित गर्नेगरि वर्तमान सरकार र यसको नेतृत्वकर्ता लागि परिरहेको जनाए । उनले भने,‘अझै दुई तीन दिन बाँकी छ, प्रधानमनत्रीले प्रस्तावको पक्षमा एमाले सहितको सर्वसम्मति जुटाउने प्रयास गरिरहनु भएको छ, यदि सहमति कायम हुन सकेन भने दुई तिहाई पुर्याउन प्रधानमन्त्री शेरबहादुर देउवाजीले प्रयास गरिरहनुभएको छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले प्रमुख प्रतिपक्षी दलले आजै सहमति जनाए भोलि नै प्रस्ताव पारित हुनेपनि जनाए । उनले भने,‘यदि प्रस्तावको पक्षमा एमालेले आजै सहमति जनाए, भोलि नै यो प्रस्ताव पारित हुन्छ, तर प्रस्तावको पक्षमा सहमति हुन सेकन र दुई तिहाई पनि पुग्ने अवस्था भएन भने यसलाई निर्णयार्थ पेश गर्नुहुँदैन, बरु यसलाई थाँती राखेर संशोधन अर्थात यो प्रस्तावका पक्षधरहरुले चुनावमा यही एजेण्डा लिएर जानुपर्छ।’

उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मौसमअनुसारको राजनीति गरिरहेकोले अहिले मुलुकले समस्या व्यहोरिरहेको आरोप लगाए । उनले भने,‘एमालेले उधारो कुरा गरिरहेको छ, किनकी उसले आजसम्म अघाएको कुरा मात्रै गरेको देखिन्छ।’

एमालेप्रति निकै आक्रमक रुपमा प्रस्तुत भएका उनले अघि भने,‘एमाले बेईमानीका साथ राष्ट्रिय राजनीतिबाट भाग्न खोजिरहेको छ, विहान आफ्नो सहमतिमा तयार पारेको प्रस्ताव ठिक हुने र साँझ अर्कोले गर्दा बेठीक हुने।’ उनले एमालेले पछिल्लो समय संविधान संशोधन प्रस्तावको विषयमा गरिरहेको टिप्पणी शोभनीय नभएको र गम्भिर आपत्तिजनक रहेको जिकिर गरे ।

उनले कांग्रेसले प्रस्तावको पक्षमा मतदान गर्नको लागि सबै दलहरुसँग अपिल गरिरहेको समेत जानकारी दिए । उनले भने,‘हामी प्रस्ताव पारित गराउनको लागि लागिरहेका छौं, तर हामी गणितीय हिसावले भन्दा पनि सहमतिका साथ, अर्थात एमालेको सहमतिमा नै प्रस्तावलाई पारित गराउन खोजिरहेका छौं, यही कारणले केही विलम्ब भएको हो।’ उनले प्रस्तावको पक्षमा सहमति जुटाउनको लागि सरकारको तर्फबाट निरन्तर प्रयास भैरहेको विश्वास दिलाए ।

संशोधन प्रस्तावको पक्षमा दुई तिहाई पुग्ने अवस्था आए हामी सदन अवरुद्ध गर्छौं : भीम आचार्य
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव भीम आचार्यले सदनमा विचाराधिन संशोधन प्रस्तावलाई कुनैपनि हालतमा पारित हुन नदिने ठोकुवा गरेका छन् । उनले भने,‘संशोधन प्रस्तावको पक्षमा कुनैपनि हालतमा दुई तिहाई पुग्दैन, यदि पुग्ने अवस्था आयो भने हामी जेपनि गर्न बाध्य हुनेछौं ।’
आचार्यले अहिलेको संशोधन प्रस्ताव मधेश र मधेशी जनताको हितमा नभएको समेत जिकिर गरे । उनले थपे,‘यो प्रस्ताव मधेशी जनताको पक्षमा छैन, यो सत्तामा पुग्नको लागि गरिएको सम्झौता अनुसार अघि बढाईएको हो, यसले न मधेशीको, न जनजातिको न मुस्लिम, न आदिवासी कसैकोपनि हितमा छैन्।’

उनले निर्वाचनअघि संशोधन प्रस्ताव अघि नबढाउने भनेर प्रमुख तीन ठूला दलहरु कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रवीच भएको सहमति कुल्चिएर सत्तारुढ दलले प्रस्ताव अघि बढाउन खोजेको भन्दै यसमा आफ्नो पार्टीको गम्भिर आपत्ति रहेको समेत बताए । उनले भने,‘यो प्रस्तावमा मधेशी जनताको एउटापनि एजेण्डा छैन, त्यसैले एमाले पास गराउनको लागि बाध्य हुनेछैन्।’

आचार्यले संशोधन प्रस्तावप्रति आफ्नो पार्टीको कुनै लिनुदिनु नभएको समेत स्पष्ट पारे । यद्धपी उनले राष्ट्र र जनताले आवश्यक ठाने भने तत् क्षण संविधान संशोधन हुने सक्ने बताए । उनले अहिले सत्तापक्षले संशोधन गर्नुपर्छ भनेर बखेडामात्रै नझिकेर निर्वाचनको लागि तुरुप प्रयोग गरिरहेको समेत आरोप लगाए ।

उनले अहिले मधेशमा बाढीबाट जनताहरु पीडित बनेको अवस्थामा मधेशवादी दलहरुले जनताको पक्षमा एक शब्दपनि नबोलेको गुनासो पोखे । उनले भने,‘तराईका जनता अहिले मर्नु कि बाँच्नु भन्ने अवस्थामा छन्, तर कसैले पनि यो एजेण्डामा बोलेका छैनन् ।’

पत्रकार ऋषि धमलाले प्रस्तावको पक्षमा दुई तिहाई पुग्ने अवस्था आए तपाईहरु प्रस्तावलाई निर्णयार्थ पेश गर्न दिनुहुन्छ वा सदन अवरुद्ध गर्नुहुन्छ भनेर सोधेको प्रश्नमा आचार्यले संशोधन प्रस्ताव पारित हुने अवस्था नरहेकोले यदि त्यस्तो अवस्था सिर्जना भए आफूहरुले त्यही अनुसारको कदम चाल्ने समेत चेतावनी दिए । उनले भने,‘हामी सदन अवरुद्ध गर्न पनि सक्छौं, त्यो परिस्थिति हेरेर हुन्छ, यदि दुई तिहाई पुग्ने अवस्था आयो भने हामी सदन अवरुद्ध गरेर प्रस्ताव पारित हुन दिँदैनौं।’

मधेशप्रतिको एमालेको अभिव्यक्तिले मुलुकमा गम्भिर खतरा निम्त्याउँछ : शर्मा
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले एमालेले मधेशलाई उपेक्षा गरेर अघि बढेको आरोप लगाए । उनले एमालेको यस्तो व्यवहारले मुलुकमा गम्भिर दुर्घट्ना निम्त्याउने र राष्ट्रलाई निकै ठूलो खतरा हुने टिप्पणी गरे ।

शर्माले आफ्नो पार्टी सुरुदेखि नै मधेशको मुद्दालाई राष्ट्रिय मुद्दाको रुपमा लिएर समस्याको हल गर्न प्रयत्नशील रहेको जिकिर गरे । उनले भने,‘एजेण्डा सानो ठूलो भन्ने हुँदैन्, हामी संख्यामा सानो हौंला तर हाम्रो एजेण्डा मर्दैन्।’

उनले आफूहरु संशोधनको पक्षमा रहेको उल्लेख गर्दै अझैपनि समय भएकोले वार्ता तथा सम्वादको माध्यामबाट प्रस्तावको पक्षमा सहमति खोज्नुपर्ने बताए । शर्माले थपे,‘समस्या सुल्झाउनतिर लाग्नुपर्छ, प्रस्ताव पारित हुँदैन भनेर भन्नुहुँदैन्।’ उनले सकेसम्म प्रस्तावलाई एमालेको सहमतिमा नभएपनि प्रक्रियाबाट टुँगोमा पुर्याउनु पर्ने बताए । उनले भने,‘निर्णयार्थ पेश गर्दा पास भए ठिकै छ, नभए पनि परिणाम स्विकार गरेर चुनावमा यही विषयलाई एजेण्डा बनाएर जानुपर्छ।’
शर्माले सरकारमा पार्टीको तर्फबाट पठाउने नेताहरुको नाम टुँगो लागि सकेकोले जतिबेला पनि दिन सक्ने जनाए । उनले भने,‘हाम्रो पार्टीबाट सरकारमा सहभागी हुनेहरुको नाम टुँगो लगाईसकिएको छ, नाम पूरा तयारी अवस्थामा छ।’ उनले पार्टी अध्यक्ष बैंककमा भएपनि यता नाम चाहिएको खण्डमा तुरुन्त उपलब्ध गराउन सक्ने अवस्थामा आफूहरु रहेको समेत स्पष्ट पारे ।

संविधान संशोधन प्रस्तावको पक्षमा ३७ जनाले नै भोट हाल्छौं : भुवन पाठक
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता भुवन पाठकले संशोधन प्रस्ताव निर्णयार्थ पेश भए आफ्नो पार्टीको तर्फबाट ३७ जनाले नै प्रस्तावको पक्षमा मतदान गर्ने स्पष्ट पारे ।

उनले भने,‘प्रस्ताव प्रस्तुत भयो भने हामी प्रस्तावको पक्षमा मतदान गर्छौं, केन्द्रिय कार्यसम्पादन समितिले निर्णय गरिसकेको छ।’ सकेसम्म प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पनि सहमतिमा प्रस्ताव पारित गराउनको लागि बृहत्तर सहमति खोज्ने प्रयास भैरहेकोले केही दिन विलम्ब भएको समेत उनको स्विकारोक्ति थियो ।

उनले आफ्नो पार्टीका ३७ जना सांसदले नै भोट हाल्ने जिकिर गरे । उनले भने,‘अहिले बजारमा अफवाह फैलाईएको छ, पार्टीले प्रस्तावको पक्षमा भोट हाल्ने निर्णय गरिसकेकोले सबैले प्रस्तावको पक्षमा नै भोट हाल्नुहुन्छ।’ यदि पार्टीको निर्णय विपरित प्रस्तावको विपक्षमा भोट हालिए पार्टीले सोही अनुसार गम्भिर निर्णय लिने समेत उनले जनाए ।

त्यस्तै पाठकले आफ्नो पार्टी सरकारमा सहभागी हुनेबारेपनि घनिभुत छलफल भैरहेको जानकारी दिए । उनले भने,‘हाम्रो पार्टी अध्यक्षलाई प्रधानमन्त्री र सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्षले सरकारमा सहभागी हुनेबारे आग्रह गरिरहनुभएको छ, दई चरणमा वार्ता भैसकेको छ।’ उनले यसबारेमा आगामी साउन ४ गते बस्ने कार्यसम्पादन समितिको बैठकमा समेत छलफल हुने जनाए । यद्धपी उनले संशोधन प्रस्ताव र सरकारमा सहभागी हुनेबारे कुनैपनि लेनदेन नरहेको जिकिर गरे ।

संविधान संशोधन नभए चुनावमा भाग लिँदैनौं : गुप्ता
राजपाका नेता वृजेशकुमार गुप्तालेअसोज २ गते हुने प्रदेश नम्बर २ को निर्वाचन अघि नै संशोधन प्रस्ताव पारित नभए आफूहरु चुनावमा भाग नलिने स्पष्ट पारे । उनले भने,‘संविधान संशोधन भएन भने हामी कुनैपनि निर्वाचनमा भाग लिँदैनौं, राजपाले चुनावमा भाग लिँदैन्।’

गुप्ताले संविधान जारी गर्दा तीन ठूला दलका नेताहरुले सदनमा सम्बोधन गरेर संविधानमा केही त्रुटिहरु भएका छन् र यसलाई सम्बोधन गर्ने भनेर वाचा गरेको स्मरण गराउँदै भने,‘उहाँहरुले सदनमा बोल्नुभएको थियो, हुन त संविधान जारी गरेको अर्थात मसी सुक्न नपाउँदै उहाँहरुले नै पहिलो संशोधन गर्नुभएको हो, त्यो पनि एमालेको सहमतिमा।’

उनले दोस्रो चरणको निर्वाचनमा राजपाले भाग नलिएको समेत जिकिर गरे । उनले भने,‘५ नम्बर प्रदेशमा केही साथीहरुले स्वतन्त्र रुपमा निर्वाचनमा भाग लिएका हुन्, तर राजपाले निर्वाचनमा भाग लिएको होईन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *