हाँस्यकलाकार भन्छन्, ‘व्यङ्ग्य विधा छाडा भयो, अब नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ’

साउन २४, काठमाण्डौ । गाइजात्राको अवसर पारेर रिपोर्टस क्लब नेपालले हास्यव्यङ्ग्य कलाकारहरुसँग साक्षात्कार कार्यक्रम गरेको छ । मंगलबार विहान क्लबको केन्द्रिय कार्यालय काठमाण्डौको भृकुटमण्डपमा चर्चित कलाकारहरुको जमघट भएको थियो । कार्यक्रममा चर्चित कलाकार मनोज गजुरेलले पछिल्लो राष्ट्रिय तथा अन्तराष्ट्रिय विषयवस्तुको चर्चा गरे ।

गजुरेलले पछिल्ला वर्षहरुमा गाईजात्रामा प्रस्तुत गरिने शैली छाडा हुन थालेकोमा चिन्ता व्यक्त गर्दै जसलाई जे पायो त्यही भनेर गाईजात्राको नाममा विकृति भित्र्याइएको आरोप लगाए । गाईजात्राको पुरानो संस्कृति र परम्परा हट्दै जानु र छाडा व्यङ्ग्यले प्रश्रय पाउनु दुखद भएको भन्दै गजुरेलले त्यस्ता प्रवृत्ति रोक्नुपर्ने बताए ।

कार्यक्रममा गजुरेलले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वराजा ज्ञानेन्द्र शाह र केपी शर्मा ओलीको क्यारिकेचर गरेर मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा सहभागि लोकगायक कमलीकान्त भेटवालले प्यारोडि गित मार्फत समसामयिक समस्यालाई उठान गरे । भेटवालले झम्के गुलेली भाकामार्फत राजधानीको खाल्डा, प्रदुषण, अपहरणका घटना लगायत नेताहरुको गलत प्रवृत्तिको व्यङ्ग्य गरे । उनले नेपाली कालाकारले साधनाबिना नै पैसा र रहरको भरमा गुणस्तरहिन सृजना गर्ने गरेको आरोप समेत लगाए ।

यस्तै नवकलाकार नविन दाहालले नेपाली नेताहरुले काम नै नगरी देशको ढुकुकी रित्याएको विषयलाई व्यङ्ग्य गरे । उनले नेताहरु रामचन्द्र पौडेल, केपी शर्मा ओली, बाबुराम भट्टराई, चित्रबहादुर केसी लगायतको व्यङ्ग्यात्मक क्यारिकेचर गरेका थिए ।

चलचित्र निर्माता तथा हास्य कलाकार दिपकराज गिरीले अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई भूमिका हस्तान्तरण गर्नुपर्नेमा जोड दिए । गिरीले पछिल्लो समय आफ्नो पुस्ताले नयाँ शैलीको प्रस्तुति दिन नसकेको स्विकार गर्दै गिरीले सबै पुराना कलाकारले यो विषयमा सोच्नुपर्ने बेला आएको बताए ।

०४६ साल पछिका वर्षमा प्रहसन हुने गाईजात्रा निरस बन्दै गईरहेको बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा लगायत मुख्य दलका नेताको बारेमा व्यङ्ग्यात्मक प्रस्तुति समेत दिए । गिरीको तर्कप्रति सहमत हुँदै वरिष्ठ कलाकार किरण केसीले पनि कलाकारितालाई पुस्तान्तरण गर्नुपर्ने बताएका छन् । गाइजात्रा विशेष साक्षात्करमा सहभागि केसीले आफ्नो पुस्ताले झण्डै तीन दशक हास्यव्यङ्ग्य विधाको नेतृत्व गरेको उल्लेख गर्दै अब या विधालाई अझ राम्रो बनाउनका लागि नयँ पुस्ता अघि सर्नुपर्ने बताए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा कलाकार केसीले गाईजात्राको महत्व घट्दै गएको र विषयमा विविधता नभएको स्वीकार गरे । जीवनका ४२ वर्षे यात्रामा अरुको नक्कल र आलोचना गरेका केसीले यो वर्ष अरु भन्दा पहिले आफु परिवर्तन हुनुपर्छ भन्दै आफ्नै जीवनका भोगाईको बारेमा अभिनय गरेका थिए ।

उनले नेपाली पत्रकारितामा ऋषि धमलाको योगदान महवपूर्ण रहेको औँल्याउँदै भने, “ऋषि धमला नेपाली जनताको प्राण हो, सुचनाको सम्वाहक हो, धेरैले यो अवसर पाउँदैनन्, तपाईसँग जनता पनि छन्, नेता पनि छन्, तपाई सँधै देश र जनताको पक्षमा रहेर काम गर्नुस् मेरो शुभकामना छ ।”

त्यस्तै अर्का कलाकार शैलेन्द्र सिङ्खडाले प्रधानमन्त्री शेर बहादुर देउवाको अभिनय र पछिल्लो समयमा सामाजिक सञ्जालमा आएका विषयलाई अभिनयको माध्यमबाट सन्देश दिएका थिए। भाईरल नामक गाईजात्रा निर्माण गरेका चर्चित कलाकार कमल गाउँलेले गाईजात्रामा नेपालीले भोग्नु परेको पीडालाई समावेश गरेको जानकारी दिदै प्यारोडि गित गाएका थिए । प्रभावशाली आवाजमा प्रस्तुति दिन सक्ने क्षमता भएका गाउँलेले कला क्षेत्रले समाजका नयाँ पक्ष र लुकेका सन्दर्भहरुलाई बाहिर ल्याउनुपर्ने बताए ।

कार्यक्रममा शिवहरी पौडेल‘जोगिन्दर’ ले पत्रकार ऋषि धमलाको पत्रकारिता र कार्यक्रम ‘जनता जान्न चाहन्छन्को’ बारेमा अभिनयमार्फत प्रस्तुत भएका थिए। उनले सबै राजनीतिक दलको गतिविधिका बारेमा व्यङ्ग्य गर्दै स्थानीय तहको निर्वाचनको नतिजाका बारेमा कटाक्ष गरेका थिए ।

पार्टी जुट्ने फु्ट्ने र निर्वाचनको समयमा चुनाव जित्नैको लागि गरिएको गठबन्धनले केही पार्टीलाई फाईदा पुगेपनि धेरै जसो पार्टीलाई फाइदा नभएकोप्रति उनको प्रस्तुति लक्षित थियो ।

कार्यक्रममा कलाकार जितु नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपीशर्मा ओली, रामचन्द्र पौडेल, पत्रकार ऋषि धमला लगायत चर्चित व्यक्तिहरुको क्यारिकेचर गरेका थिए ।

रिपोर्टस क्लब नेपाललले हरेक वर्ष गाइजात्राको अवसरमा हास्यव्यङ्ग्य कलाकारलाई भेला गराएर अन्तरक्रिया गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *