भिसामा एकरुपता ल्याउन अमेरिकाको प्रस्ताव, प्रस्ताव नमाने नेपाललाई पनि भिसा अवधि घटाउने अमेरिकाको तयारी

काठमाडौ १९ मंसिर – नेपालले आफ्ना नागरिकप्रति अवलम्बन गर्दै आएको भिसा नीति परिवर्तन गर्न अमेरिकी दूतावासले नेपालको परराष्ट्र मन्त्रालयलाई प्रस्ताव गरेको छ । दूतावासले परराष्ट्र मन्त्रालयमार्फत उसका नागरिकका लागि अवलम्बन गरिँदै आएको भिसा नीति परिवर्तन गरी आफूसँग एकरूपता कायम गर्न प्रस्ताव गरेको हो ।

दूतावासले पर्यटक, कामदार, विद्यार्थी र सञ्चारकर्मीका लागि दुई मुलुकबीच भिसा पारस्परिकता कायम गरी भिसा शुल्क र अवधिमा एकरूपता ल्याउन प्रस्ताव गरेको हो ।

नेपालले अमेरिकी नागरिकलाई भिसा जारी गर्दा थोरै अवधिका लागि गर्ने तर शुल्क भने बढी तिर्नुपरेको भन्दै दूतावासले अवधि र शुल्कमा एकरूपता कायम गर्न प्रस्ताव गरेको हो ।

दूतावासले नेपाली नागरिकलाई भिसा जारी गर्दा अवलम्बन गरिएको नीति अख्तियार गरी एकरूपता ल्याउनसमेत आग्रह गरेको छ । अमेरिकाले उसका नागरिकलाई १ सय ६० डलर शुल्कमा प्रतिवर्ष १ सय ८० दिन बस्न पाउने गरी ५ वर्षको बहुप्रवेशी भिसा दिन प्रस्ताव गरेको स्रोतले बताएको छ । अहिले पर्यटक नेपालमा एक आर्थिक वर्षमा बढीमा १ सय ५० दिन मात्र बस्न पाउँछन् । आफ्नो प्रस्ताव नेपालले अस्वीकार गरे जनवरी २ देखि नेपालीलाई समेत थोरै समयको भिसा दिने तयारी अमेरिकाले गरेको स्रोतले बताएको छ ।

अमेरिकाले पर्यटकलाई ५ वर्षका लागि १ सय ६० डलरमा नेपालीलाई बहुप्रवेशी (मल्टिपल) भिसा दिँदै आएको छ भने नेपालले अमेरिकी नागरिकबाट १ सय ५० दिनकै २ सय ४० अमेरिकी डलर लिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *