सदाबहार मेहनती र अनुभवि मोडल एस के दाहाल

राम चन्द्र खड्का / अभिनय यात्राको सुरुवात देखिनै संगीत क्षेत्रमा नै वितेका चर्चित मोडल एस के दाहालको असली नाम सुरेन्द्र कुमार दाहाल हो, जो अभिनयको दुनियामा एक सशक्त कलाकार हुन । सदावहार रुपमा आफ्नै कलाकारीताको छवीलाई उचाईमा लैजान अभिनेता एवं मोडलको रुपमा दाहाललाई लिइने गरीन्छ । लोकप्रिय टेलीचलचित्र मेरी बास्सै, जिरे खुर्सानी, खासखुस लगायत आधा दर्जन भन्दा बढी टेलिसिरियलहरु र फिल्महरुमा पनि अभिनय गरेका दाहाललाई निरन्तर आफ्नो यात्रामा सक्रिय रहेको मोडल मेहनति सहनशील र ऊर्जाशील कलाकार भन्न रुचाइन्छ । तर आफु ठूलो कलाकार हुँ भन्ने कहिले घमन्ड नरहेको र अभिनय क्षेत्रमा कलाकार बन्न अझै यस क्षेत्रमा धेरै कुराहरु सिक्नु पर्ने र सिकिरहेको दाहाल बताउँछन् ।

विगत ७-८ वर्ष अगाडी चर्चित हास्य कलाकार गोपाल नेपाल ‘फिस्टे’ को जि.के कला केन्द्रमा भर्ना भई नृत्य सिकेको र केही महिना पछि कृष्ण फिल्मस्मा नृत्य निर्देशक शंकर वि.सी संग डान्स क्लास लिन थालेको र यहीँबाट आफ्नो डान्स र अभिनयको यात्रा सुरु भएको बताउँछन्। कृष्ण फिल्मस्मा डान्स सिक्दै गर्दा यहाँबाट निर्माण हुने म्युजिक भिडियोहरुमा ग्रुप डान्स गर्ने मौका मिलेको र सुरुवातका दिनहरुमा धेरै दुःख मेहनत गरेर चार सय भन्दा बढी म्युजिक भिडियोहरुमा ग्रुप १०० भन्दा बढी फिल्महरुमा ग्रुप डान्स गरेको र परिश्रम र मेहनतको फलस्वरुप पछि लिडिङ्ग रोलमा अभिनय गर्ने मौका मिलेको उनले बताए ।

काभ्रे जिल्लाको मेथिन्कोट गा.वि.स वडा नं. ४ मा पिता रेशम दाहाल र माता भवानी दाहालको कोखबाट जन्मेका कलाकार दाहाल २०६१ साल तीर पढाईको क्रममा काठमाण्डौ छिरे पनि सानै देखि कलाकारीतामा अत्यन्तै रुची भएको कारण कलाकारीतामा भने ०६५ सालबाट प्रवेश गरेका हुन । चर्चित शब्द संगीतकार लालकुमार बरालको संगीतमा रहेको गीत ‘जुनमा पनि दाग छ’ भने म्युजिक भिडियो २०७० सालमा पहिलो पटक उनको अभिनय यात्राको पहिलो अभिनय गरेको भिडियो थियो । जुन भिडियो अत्यन्तै चर्चित रहन गयो । सबैले मन पराईदिए पछि आफुलाई निकै रमाइलो महसुश भएको र अबका दिनहरुमा मैले अझै मेहनत गर्नु पर्छ भनेर निरन्तर लागि परेको कारण आजसम्म यसै क्षेत्रमा काम गरीरहन पाएको उनले बताए । आशिष म्युजिकबाट बजारमा आएको उक्त जुनमा पनि दाग छ म्युजिक भिडियोमा चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेका थिए । उक्त भिडियो सबैको मन मस्तिकमा बस्न सफल चर्चित भए पश्चात धेरै गीतहरुमा खेल्ने अफर आएको र चर्चित निर्देशक शंकर वि.सी, कपिल लामा, उज्वल घिमिरे, शिव वि.क लगायत धेरै नयाँ पुराना निर्देशकहरुसंग काम गरेको र आजसम्म दुई सय भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेको कलाकार दाहाल बताउँछन ।

सहनशील, कर्तव्यनिष्ठ, मेहनती, ऊर्जाशील कलाकार दाहालको नेपाली गीत संगीतमा निरन्तर योगदान अतुलनीय रहेको छ । दाहाल आफैलाई मन पर्ने अनि आम दर्शकहरुले रुचाइएका चर्चित भिडियोहरुमा जुनमा पनि दाग छ, बाचा कसम खाको, पलपल झल्को, नाचीदेउ घुमेर, पिरतीको लगन गाँठो, सोध्छु अब जुनलाई लगायत अरु थुप्रै गीतहरु चर्चित रहेका छन । पछिल्लो समय पैसाको कारण मोडलिङ या गीत संगीतको अन्य कुनै पनि विधामा उचित मापदण्ड नभएको कारणले गर्दा यो क्षेत्रमा विकृति बढीरहेको उनी बताउछन् ।

सदाबहार मेहनती र अनुभवि मोडल भएकै कारण यति लामो समयसम्म यसै क्षेत्रमा निरन्तर लागि रहेको र विभिन्न मान सम्मान अवार्ड तथा पुरस्कारहरु हात पार्न सफल छन्  मोडल दाहाल । म्युजिक भिडियो कलाकार संघ, चलचित्र कलाकार संघ, लोकदोहोरी कलाकार संघ, प्रस्तोता समाज लगायत अन्य संघसंस्थाहरुमा साधारण सदस्य आबद्ध कलाकार दाहाल यति बेला विभिन्न स्टेज प्रोगाम, टेलिसिरियल र म्युजिक भिडियोमा व्यस्त छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *