प्रलेसको औचित्य सकिएकै हो त ?

0
91

– खेम थपलिया
माक्र्सवादी लेखक–साहित्यकारहरू समाजलाई वर्गविभक्त रूपमा लिन्छन् र समाजमा चलिरहने वर्गसङ्घर्षलाई रूपान्तरणको प्रेरक तत्व ठान्दछन् । श्रमिकवर्गलाई सम्पूर्ण भौतिक एवम् भावनात्मक सम्पदाका स्रष्टा र इतिहासका निर्माताका रूपमा स्वीकारिन्छ । द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई सौन्दर्यचिन्तनको आधारका रूपमा अँगाली समाजमा व्याप्त सामन्तवाद, साम्राज्यवाद, प्रभुत्ववाद तथा विस्तारवादको विरोध मात्र होइन; त्यसका विरुद्ध सङ्घर्ष गर्न भौतिक आधारहरू आवश्यक हुन्छन् । नेपालमा सामन्तवाद तथा विस्तारवादी–साम्राज्यवादीविरोधी धाराको प्रतिनिधित्व गर्ने साङ्गठनिक रूपमा प्रतिबद्ध सर्जकहरूको साझा मञ्चको आवश्यकतालाई मध्यनजर गर्दै २००९ सालमा राष्ट्रियस्तरबाट स्थापना भएको प्रगतिशील लेखक सङ्घको औचित्यबारे अहिले विभिन्न कोणबाट मत–अभिमत सार्वजनिक हुन थालेका छन् । मूलतः एमालेमा माओवादी केन्द्र पूर्णतः विलयन हुने लगभग पक्कापक्कीजस्तै भएपछि यो विषय झनै मुखरित हुँदै गएको हो ।

चर्चामा वैचारिक स्खलन
प्रगतिशील लेखक सङ्घको वैचारिक स्खलनको सन्दर्भमा केही वर्षयता विभिन्न कोणबाट विषयहरू उठिरहेका छन् । प्रलेसको नीति, नेतृत्व, सङ्गठन र सङ्घर्षबारे विभिन्न आयामबाट छलफल पनि हुन सक्छन् । केही साक्ष्य हेरौँ ः

साक्ष्य १ : पीताम्बर पोखरेल लेख्नुहुन्छ, “प्रगतिशील लेखकको परिभाषा अहिले विषयवस्तुगत प्रगतिशीलता हैन, हँसिया–हथौडा भएको झन्डाको सदस्यता र हनुमानगिरी मात्रै भएको छ । लेखन हेरेर कुन प्रगतिशील, कुन यथास्थितिवादी, कुन क्रान्तिकारी र कुन प्रतिगमनकारी छुट्याउन नसकिने भएको छ । यसको प्रमाण भनेको एमालेको सदस्यता लिएका पण्डितहरू पनि प्रगतिशीलको मार्कामा देखिने देखाउने संस्कारले पुष्टि गरेको छ ।”

साक्ष्य २ : धनप्रसाद सुवेदी लेख्नुहुन्छ, “सही कुरा । मेरो भागमा परेको प्रगतिशील निबन्धको इतिहास लेख्ने काम यसरी नै केलाई प्रगतिशीलता मान्ने भन्ने कुरा छुट्याउन नसकेर अलमलमा परेको छ । कम्युनिस्ट नामका कार्यकर्ताका गन्थन, पृथ्वीनारायण स्तुति र मधेसीहरूका विरुद्धको गाली प्रगतिशीलताभित्र पर्छ कि पर्दैन म अलमलमा छु । … वामपन्थी पार्टीमा नभएका अझ काङ्ग्रेसलाई भोट हाल्नेका रचना हाम्रा वामपन्थी पार्टीका अझ प्रलेसका नेताका रचनाभन्दा बढी प्रगतिशील देखिन्छन् ।”

साक्ष्य ३ : बलराम तिमिल्सिना लेख्नुहुन्छ, हामीले प्रगतिशील रचनाको समीक्षा गर्ने हो । प्रगतिशील भनिने व्यक्तिको जीवनी लेख्न खोजेको पक्कै होइन । निश्चित रूपमा स्रष्टा र सिर्जना अन्तर्सम्बन्धित कुरा हुन् । निमको रुखमा स्याउ फल्दैन भन्ने कुरा त हामी सबैलाई थाहै छ क्यारे ।”

उपर्युक्त साक्ष्यले प्रलेसबारे मानिसहरूले कसरी धारणा बनाइरहेका छन् भन्ने कुरा बुझ्न सकिन्छ । प्रगतिशील लेखक सङ्घ यतिबेला सङ्कट र सङ्क्रमणको घडीबाट गुज्रिरहेको छ । विभिन्न घटकीय समीकरणका आधारमा बनेको प्रलेसले मुलुकलाई अग्रगामी आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको दिशातिर देखिनेगरी पहलकदमीको न्यूनताको सबैले महसुस गरेकै छन् । राष्ट्रघात तथा दलालीकरणले चरमचुली नाघेको बेला, देशका सिमानाहरू मिचिएको बेला, दिदीबहिनीहरू अपहरित र बलात्कृत भइरहेको बेला, साम्राज्यवादी–विस्तारवादीले आ–आफ्नो स्वार्थअनुरूप नेपाललाई ध्वस्त बनाउन लागिरहेको बेला आमूल परिवर्तन चाहने स्रष्टा–द«ष्टा तथा जनताले प्रलेसको भूमिका अझ सशक्त, ओजपूर्ण र सार्थक भएको हेर्न र देख्न चाहनुलाई अन्यथा लिनुहुँदैन ।

माओले भनेजस्तै साम्राज्यवाद कागजी बाघ हुन् । बाहिर साम्राज्यवाद जति बलियो देखिए पनि आफैँभित्रका चर्को अन्तर्विरोध र विश्वका उत्पीडित जनताको निरन्तर प्रतिरोधले ऊ कमजोर बन्दै गएको छ । पुँजीवादीहरू आफ्नो सङ्कट टार्न वैज्ञानिक समाजवादको सहायता लिन थालेका छन् । अझ दलाल पुँजीवादमा देखिएको चरम सङ्कट र यसको अवश्यम्भावी पतनलाई संसारका मुक्तिकामी जनतामाझ प्रगतिशील शक्तिहरूले सशक्त ढङ्गले बुझाउन आवश्यक छ । साम्राज्यवादी उत्पीडनको भयानक जाँतोमुनि संसारका उत्पीडित जनता र राष्ट्रहरू थिचिएकै छन् । साम्राज्यवाद आर्थिक, राजनीतिक, सांस्कृतिक माध्यमबाट दुनियाँमा आफ्नो बर्चश्व र उत्पीडनलाई कायम राख्न चाहन्छ । भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवाद उसको दमनकारी बलियो हतियार हो ।

बजारतन्त्री उपभोक्तावादको जगमा खडा पुँजीवादले उत्तर–आधुनिकतावादी चिन्तनका माध्यमबाट कम्युनिस्ट विचार, दर्शन र प्रगतिवादी साहित्यका विरुद्ध तिखो प्रहार गरिरहेको छ । प्रलेसले यसका विरुद्धको सङ्घर्षलाई माथिल्लोस्तरमा उठाएको देखापर्दैन । आम जनता र क्रान्तिकारी शक्तिलाई तर्साउनका लागि दलालहरूले प्रचार गरे जस्तो साम्राज्यवाद ‘अजेय’ छैन । “क्रान्तिकारी परिस्थिति यति प्रतिकूल छ, क्रान्तिकारी आन्दोलन उठाउनु सम्भव नै छैन” भन्ने पराजयवादी र आत्म–समर्पणवादीहरूले गरेको प्रचार सही होइन । सबैखाले साम्राज्यवादका विरुद्ध प्रचारात्मक सङ्घर्षलाई विकसित गर्दै लग्ने, क्रान्तिको तयारी गर्ने र त्यहीअनुरूप साहित्यको सिर्जना गर्नुपर्दछ । कला–साहित्यको क्षेत्रमा साम्राज्यवाद एवम् विस्तारवाद विरोधी शक्तिहरूसित विभिन्नस्तरमा संयुक्त मोर्चा, कार्यगत एकता वा आपसी समझदारी कायम गरी तदनुरूप अगाडि बढ्ने योजनाको आवश्यकता छ । हामीले भनिरहेका छौँ– अबका परिवर्तनकारी स्रष्टाले मालेमावादलाई आत्मसात् गर्नुपर्दछ । सबैखाले संशोधनवाद र मुख्यतः दक्षिणपन्थी संशोधनवाद एवम् विसर्जनवादका विरुद्ध सशक्त रूपमा विचारधारात्मक सङ्घर्ष चलाउन प्रलेसले आँट गर्नुपर्दछ । त्यसैले इतिहासको यो कालखण्डमा आफ्नो भूमिकालाई अझ सशक्त बनाउनुपर्ने दायित्व प्रलेसको काँधमाथि छ । यो सिर्जनशील सचेत स्रष्टाहरूको साझा संस्था भएकोले कला–सिर्जनाका माध्यमबाट रूपान्तरणका निम्ति सङ्घर्ष गरिरहेका स्रष्टाहरूले उपर्युक्त सवाललाई गम्भीरतापूर्वक आत्मसात् गर्न आवश्यक छ ।

प्रलेसमा मूलतः सुधारवादी र क्रान्तिकारी धारा संलग्न छन् । मुख्य कुरा लेखकको विश्वदृष्टिकोणको प्रश्न हो । प्रगतिवादी आन्दोलनमा लेखकीय विश्वदृष्टिकोण, लेखन–निरन्तरता र प्रतिबद्धता निकै मननीय छन् । केही मानिसहरू अंशलाई हेरेर समग्रताको अवमूल्यन गर्दै प्रलेसमाथि गालीशास्त्र वर्षाइरहेका छन् । गालीशास्त्रले रूपान्तरण सम्भव छैन । वैचारिक स्खलनको चर्को मूल्य व्यहोरिएको नेपाली समाजलाई प्रलेसले कसरी वैचारिकी ढाडस देला ? यावत् प्रश्नहरू नभएका होइनन् । अहिले प्रगतिशील लेखक सङ्घमा झन्डै ७ विभिन्न राजनीतिक पार्टी र तिनसित आबद्ध लेखक–साहित्यकारहरू आबद्ध छन् । तिनका आ–आफ्नै राजनीतिक कार्यदिशा रहेका छन् । यहाँ कुनै एक घटकले भनेको जस्तो सबै कुरा भइहाल्दैन । साझा सहमति बनाउन धेरै माथापच्चिसी गर्नुपर्छ । साथै, अग्रगामी पक्षधरहरूले सत्ता–तावेदारीका विरुद्ध गरेको पहलकदमी यतिबेलाका उल्लेख्य पक्ष हुन् ।

अहिले प्रलेस ‘भ्यालीवाद’ भत्काएर जिल्लामा केन्द्रित हुन खोजिरहेको यतिबेला प्रलेससम्बद्ध सबैलाई एउटै हाँडीमा हालेर भुट्ने कुरा सर्वथा अमान्य छ । तथापि, कहिलेकाहीँ प्रलेस एकीकृत जनक्रान्ति, जवज, समाजवादी क्रान्ति, लोकतन्त्र, बहुलवादको झोला बोकेर चौबाटोमा टोलाएर बसेको प्रतीत हुन्छ । प्रलेसको वैचारिकता कायम गर्ने, अझ उन्नत बनाउने र आन्दोलनमा सार्थक उपस्थिति जनाउने प्रयासमा सबैको चासो हुनु आवश्यक छ । वैचारिक स्खलनको बडेमानका पहिरो गइरहेको समकालीन परिवेशमा ‘प्रलेसमा वैचारिक स्खलन भयो’ भयो भनेर कुर्लनुको खास अर्थ हुँदैन । त्यसरी कुर्लनेले चाहिँ ‘वैचारिकस्तर मापन हुनेगरी मैले यति यति काम गरेको छु’ भनेर नजिर प्रस्तुत गर्न नपर्ने हुन्छ र !

प्रलेसका संस्थापक श्यामप्रसाद शर्मा आफ्नै नेतृत्वमा स्थापना भएको प्रगतिशील लेखक सङ्घको मूल्य–मान्यतालाई लात हानेर दुईवटा बद्नाम पुरस्कार (तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रदान गरिने रु. १ लाखको महेन्द्र प्रज्ञा पुरस्कार र सीताराम साहित्यिक प्रतिष्ठानबाट प्रदान गरिने रु. १ लाख, २५ हजारको) लाई अँगालो मार्नु वैचारिक स्खलनको पराकाष्ठा थियो । भूमध्य–रेखामा उभिएर एउटा खुट्टा उत्तरीध्रुबमा र अर्को खुट्टा दक्षिणी ध्रुबमा हाल्नु प्रलेसको जीवनमा सम्भव छैन ।

सीमारहित छैन प्रलेस
प्रगतिशील लेखक सङ्घले आफ्नो सङ्गठनात्मक जीवनमा विभिन्न उतार–चढाव झेल्दै नआएको होइन । २०५२ फागुन ९ र १० गते भएको प्रलेसको तेस्रो राष्ट्रिय सम्मेलन तत्कालीन अखिल नेपाल जनसांस्कृतिक सङ्घ (हाल अखिल नेपाल जनसांस्कृतिक महासङ्घ), इसास, रक्तिम, जनकला सिर्जना समाजसम्बद्ध लेखक–साहित्यकारहरूले बहिष्कार गरेका थिए । एमालेसम्बद्ध लेखक–साहित्यकारले एकलौटी पार्टीको भातृसङ्गठनजस्तो बनाउन खोजिएको आरोप लगाइएको थियो । यो कुरा सामान्य थिएन तर पछिल्ला चरणमा आउँदा फेरि सबै एकै ठाउँमा भएको देखिन्छ । के कारणले फेरि एकै ठाउँमा आइएको हो वा के–के कुरामा सहमति भएको वा के हो ? त्यो कुरा अहिलेसम्म अग्रजहरूले त्यति स्पष्ट पारेका छैनन् तर पनि, यस किसिमका साझा मोर्चाको आवश्यकता सबैले महसुस गरिरहेकै छन् । आफ्नो पार्टी, आफ्नो सङ्गठन राम्रोसित चलाउन नसक्ने अनि त्यसको पीडा प्रलेसमाथि पोख्ने कुरा सही हुँदैन । आफ्नै सङ्गठनमा त आफूले सोचेको जस्तो हुँदैन भने साझा मोर्चामा हुबहु आफूले सोचेको जस्तो खोज्नु मनासिव हुँदैन ।

वैज्ञानिक साङ्गठनिक एवम् आर्थिक व्यवस्थापन अनि स्पष्ट कार्यदिशाले प्रलेसको जीवन गतिशील र उपलब्धिमूलक हुनेछ । वैचारिक स्पष्टता यसको अर्काे अनिवार्य शर्त हो । सम्पूर्ण परिवर्तनकामी स्रष्टालाई सङ्गठित गर्न अब प्रलेसको नयाँ कार्यदिशा हुनुपर्दछ । साझा मोर्चाका रूपमा रहेको प्रलेसले सम्बन्धित घटकबाट आवश्यक महत्वबोध गराउन पनि सकेको पाइँदैन । प्रगतिशील साहित्यिक आन्दोलनमा समाविष्ट प्रतिभाको विशाल पङ्क्तिलाई विचारधारात्मक रूपमा प्रशिक्षित गराउनु प्रलेसको मुख्य दायित्व हो ।

स्रष्टामा विश्वदृष्टिकोणमैै गम्भीर समस्या हुनु खतरानाक कुरा हो । प्रतिबद्धता र आदर्शअनुरूपको सार्थक रचनाकर्मका निम्ति विचारधारात्मक स्पष्टता आवश्यक हुन्छ । यो स्पष्टता प्रतिध्रुबसँग विचारधारात्मक सङ्घर्षका निम्ति झनै आवश्यक छ । कलालाई श्रमसँग जोड्नु, गतिशील यथार्थको कलात्मक पुनःसिर्जन र सोद्देश्यतामा कलाको सौन्दर्य देख्नु, सबैप्रकारका उत्पीडनका विरुद्ध उभिनु, मानवद्वेषी विचार र कुरूप संस्कृतिका विरुद्ध खडा हुनु, सामाजिक न्याय, समानता र स्वतन्त्रताको पक्षमा आफूलाई दृढतापूर्वक उभ्याउनु, सामन्तवाद, साम्राज्यवाद, विस्तारवादलगायत सबैखाले प्रभुत्ववादका विरुद्ध खडा हुँदै राष्ट्रिय स्वाधीनताका निम्ति सङ्घर्षरत रहनु परिवर्तनकामी स्रष्टाहरूको दायित्व हो । प्रलेसलाई सबै भाषा, सबै प्रगतिशील स्रष्टाहरूसित जोड्न आवश्यक छ । सामाजिक–सांस्कृतिक रूपान्तरणको उद्देश्य बोकेका स्रष्टाहरू सर्वप्रथम आफैँ रूपान्तरित हुनुपर्दछ । आत्मसङ्घर्ष, अन्तर्सङ्घर्ष र वर्गसङ्घर्ष रूपान्तरणका मूल पक्ष हुन् ।

‘काम कुरा एकातिर, कुम्लो बोकी ठिमीतिर’ गर्ने हो भने अलग्गै कुरा हो, होइन भने नेपालमा प्रलेसको औचित्य अझै बाँकी छ । औचित्य छैन भन्ने हो भने स्पष्ट विकल्पसहित हामीले तुरुन्त कार्यालय बन्द गरेर हिंड्नु उपयुक्त हुन्छ । औचित्य छैन पनि भन्दै गर्ने अनि त्यसमा घिस्रिरहने कुरा उपयुक्त हुँदैन । नत्र यो त ‘अँध्यारो कोठामा लुकेर चूक खाने अनि उज्यालोमा आएर डकार्ने’ कुरा जस्तो हुन्छ । यसको स्थापनाकालदेखिकै गतिविधि एकपटक समीक्षा गरौँ त, सबै कुरा छर्लङ्ग भइहाल्छ । ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी विश्वदृटिकोणलाई व्यवहारमा ठीक ढङ्गले पकड्न नसक्नु र तदनुसार प्रतिबद्धता र स्पष्टता नहुनुजस्ता मूलभूत समस्या प्रलेसमा नभएका होइनन् ।

प्रगतिशील साहित्यिक आन्दोलन प्रतिध्रुबसँग कुरामा सङ्घर्षको गर्ने, व्यवहारमा तिनैसित घाँटी जोड्ने कुरा हामीलाई अमान्य छ । नेपालमा सांस्कृतिक सामन्तवाद जीवितै रहेको र भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवादको आक्रमण तीब्र भएको यतिबेला हामीले उत्तर–आधुनिकतावादी कोकोहोलो कम्युनिस्ट विचार, दर्शन र प्रगतिवादी साहित्यका विरुद्ध खडा भएको कुरा राम्ररी नै बुझेका छौँ । यसका विरुद्ध विचारधारात्मक सङ्घर्ष र सिर्जनात्मक हस्तक्षेपलाई बढाउनुको कुनै विकल्प छैन ।

प्रलेसले आफ्नो पक्षधरताको ख्याल गर्नैपर्दछ । प्रगतिशील लेखक सङ्घ माक्र्सवादी सङ्गठन हो । शब्द र कर्मको एकत्व कायम गर्दै सबैखाले अन्यायपूर्ण युद्धका विरुद्ध उभिनुपर्दछ । प्रलेसले वैज्ञानिक समाजवादी राज्यसत्ता प्राप्तिको दिशा लिनुपर्दछ र यसले माओको येनान प्रवचनको स्पिरिटलाई पकड्नुपर्दछ भन्ने कुरामा हामीलाई कुनै द्विविधा छैन ।

निरुपण
प्रगतिशील लेखक सङ्घ सामन्तवाद, साम्राज्यवाद, विस्तारवाद तथा प्रभुत्ववादविरोधी स्रष्टाहरूको साझा मोर्चा हो । यो नै यसको वैचारिक (माक्र्सवादी) एवम् नीतिगत (वर्गसङ्घर्ष) नाभीकीय आधार पनि हो । प्रलेसले प्रगतिशील स्रष्टाहरूलाई सङ्गठित गर्नु, उनीहरूको प्रतिभाको परिष्कारका निम्ति वातावरण निर्माण गर्नु, उनीहरूलाई प्रेरित र प्रोत्साहित गर्नुु, वैचारिक रूपले माझ्नु र परिचालित गर्नु, सङ्गठनलाई बलियो बनाउनु र परिवर्तनका निम्ति सर्जकीय हस्तक्षेपसहित सङ्घर्षमा ओर्लनु आजको आवश्यकता हो । वस्तुगत अवस्था र आवश्यकताअनुसार प्रलेसले आफूलाई समृद्ध नगरे यसको औचित्यमाथि प्रश्नचिन्ह उठ्छ नै । सिङ्गो राष्ट्र, राष्ट्रियता, क्रान्तिकारी कम्युनिस्ट आन्दोलन तथा त्यससम्बद्ध साहित्यिक–सांस्कृतिक विरासतमाथि चौतर्फी हमला भइरहेको यतिबेला प्रलेसले कमान्डरीय भूमिका खेल्न नसकेको कुरा सही हो ।

नेपोलियनले भनेका छन्, “मृत्युु केही होइन तर पराजित र अपमानित हुनुचाहिँ दिन–दिनैको मृत्यु हो ।” हामी पराजित र अपमानित मृत्यु चाहँदैनौँ । हामी गौरवशाली इतिहास खोजिरहेका छौँ । नलेखिएका, लुकाइएका, छोपिएका, मेटिएका इतिहासको खोजी गरिरहेका छौँ ताकि लक्ष्यभेदन गर्न सकियोस् । चर्चित लेखिका महाश्वेतादेवीले भनेजस्तै प्रत्येक अक्षर–अक्षर र शब्द–शब्दका बीचमा रहेको खाली ठाउँमा महान् इतिहास लुकेको हुन्छ । विचार, वर्गसङ्घर्ष, इतिहास, विगत र आगत, ऊध्र्वगामिता त्यसैमा प्राप्त हुनेछ । प्रलेसको वैचारिक विरासत त्यही त्यतै कतै खोजौँ । सडकमा धारेहात लगाएर सराप्दैमा प्रलेसको वैचारिक स्खलन रोकिँदैन । माछा खान मन हुनेसित माछा पाल्ने सीप र क्षमता हुनुपर्छ । नदी पार गर्नेले पौडने आँट गर्नैपर्दछ, नदीमा हाम फाल्नैपर्दछ । आफू केही नगर्ने, मात्र गालीशास्त्रलाई सिरानीमा हालेर केही हुँदैन । अन्तिम सही कुराचाहिँ यो हो कि प्रतिक्रियावादी–दलाल शासक र सत्ताको तावेदारी प्रलेसको चरित्र होइन । सत्ता–शासकीय तावेदारी चरित्र रहिरहे प्रलेसको विघटन अवश्यम्भावी छ ।

२ माघ, २०७४

LEAVE A REPLY