ज्योतिष हरिहर बने ब्रान्ड एम्बासाडर

माघ १९, ब्रिसबेन, अस्ट्रेलिया – अस्ट्रेलियाको क्वीन्सल्यान्ड राज्यको राजधानी ब्रिसबेनमा रहेको क्वीन्सल्यान्ड इन्टरनेसनल इन्स्टिच्युट (क्यूआर्इआई) ले युवा ज्योतिष हरिहर अधिकारीलाई नेपालका लागि ब्रान्ड एम्बासाडर घोषणा गरेको छ ।

नेपालमा क्यूआर्इआईका विभिन्न कोर्स एवं संस्थाका विभिन्न सेमिनार तथा गोष्ठीको प्रवर्धन तथा नेपाली युवा र संस्थाबीच पुलको काम गर्ने उद्देश्यका साथ ज्योतिष हरिहरलाई आगामी एक वर्षका लागि आफ्नो ब्रान्ड एम्बासाडर नियुक्त गरेको हो ।

ज्योतिष हरिहर गत पुस २५ मा यसै उद्देश्यका लागि अस्ट्रेलिया आएका थिए । यस बीचमा अस्ट्रेलियाको शिक्षा, रहनसहन र अन्तर्राष्ट्रिय विद्यार्थीको जीवनबारे अध्ययन गरे । क्वीन्सल्यान्ड राज्य र यसका प्रमुख ठाउँ घुमेर यहाँको खानपान तथा रहनसहन एवं यस शैक्षिक संस्थाको बारेमा क्रिस्टल क्लियर भएपछि मात्रै प्रस्ताव स्वीकार गरेका उनले बताए ।

‘म पैसाकै लागि विषको प्रवर्धन गर्न सक्दिनँ । तर अमृतको प्रवर्धन गर्न पैसा नै चाहिन्छ भन्ने छैन,’ कार्यक्रममा उनले भने, ‘नेपाली विद्यार्थी र यस शैक्षिक संस्थाबीच एक पुलको भूमिकामा जुट्न पाउँदा म प्रसन्न छु ।’

क्यूआर्इआई र यसका सदस्यहरुसँग धेरै संवाद र गहन छलफल गरेपछि यसले प्रदान गर्ने शैक्षिक योग्यता र गुणस्तरबारे आफू छर्लङ्ग भएको उनको भनाइ छ । माघ १९ गते आफ्नै क्याम्पसमा राखेको कार्यक्रममा काउन्सिल अफ इन्टरनेसल स्टुडेन्ट्स अस्ट्रेलिया (सिसा) का अध्यक्ष विजय सापकोटाले क्यूआर्इआईले विद्यार्थीको आवाजका लागि क्वीन्सल्यान्ड इन्टरनेसनल इन्स्टिच्युट स्टुडेन्ट एसोसिएसन सम्मान लायक भएको बताए ।

संस्थाकी प्रमुख ट्रेनर डायन एडवर्ड्स ले यस संस्थाले विद्यार्थीको रुचि, रहर, पृष्ठभूमि र आवश्यकता बुझ्ने र गुणस्तरीय शिक्षामा कहिल्यै सम्झौता नगरेको दाबी गर्दै नेपाली विद्यार्थीमाझ पुग्न ब्रान्ड एम्बासाडर हरिहर अधिकारीको भरपुर सहयोग एवं योगदान रहने विश्वास व्यक्त गरिन् ।

गैर आवासीय नेपाली संघ, अस्ट्रेलियाका महासचिव नारायण कोइरालाले एनआरएनए अस्ट्रेलियाले विद्यार्थीका कुनै पनि कठिनाइमा गर्दै आइरहेको सहयोग निरन्तर गरिरहने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *