दोस्रो बैंकिङ एक्स्पो सम्पन्न, ५५ हजारले गरे अवलोकन

काठमाडौं
काठमाडौंको भृकुटीमण्डपमा आयोजित दोस्रो बैंकिङ एक्स्पो–२०१८ सम्पन्न भएको छ । दुई दिनसम्म संचालित बैंकिङ एक्स्पोमा करिब ५५ हजारले अवलोकन गरेका छन् । एक्स्पोमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त वित्तीय संस्था, बीमा कमपनी, युवा स्वरोजगार कोष, नागरिक लगानी कोष लगायतका जम्मा ५० वटा स्टलहरु राखिएका थिए । नेपाल राष्ट्र बैंकको मूख्य प्रवद्र्धन, बीमा समितिको सहकार्य र नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, वित्तीय संस्था संघ, माइक्रोफाइनान्स बैंकर्स संघ र नेपाल क्लियरिङ हाउसको साझेदारीमा मिडिया इन्टरनेशनलले आयोजना गरेको बैंकिङ एक्स्पो दुई दिन सम्म सञ्चालन भई शनिबार सम्पन्न भएको हो ।

शुक्रबार भव्य समारोहकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालद्वारा समुद्घाटन भएको एक्स्पो शनिबार बीमा समितिका अध्यक्ष चिरंजीवि चापागाँईबाट समापन भएको हो । समापन समारोहमा बोल्दै बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाँईले पछिल्लो समय थप गरिएका बीमा कम्पनीहरुका कारण मुलुकमा रोजगारी बढाउन विशेष महत्व पुगेको बताएका छन् । शनिबार राजधानीको भृकुटीमण्डपमा आयोजित बैंकिङ एक्स्पोको समापन समारोहलाई सम्बोधन गर्दै समितिका अध्यक्ष चापागाँईले चालु आर्थिक वर्षदेखि बीमा व्यवसाय शुरु गरेका कम्पनीबाट २ हजार भन्दा बढी नागरिकले प्रत्यक्ष र हजारौ नागरिकले अप्रत्यक्ष रुपमा रोजगारी पाएको बताएका हुन् ।

मुलुकमा पछिल्लो समय बीमाको दायरामा समेत वृद्धि भएको अध्यक्ष चापागाँईले दावी गरे । ‘पछिल्लो समय सर्वसाधारणमा बीमा चेतनाको वृद्धि भएको छ’ समापन समारोहलाई सम्वोधन गर्दै अध्यक्ष चापागाँईले भने– ‘अघिल्लो वर्ष सम्म न्यून रहेको बीमाको पहुँच चालु आर्थिक वर्षमा उल्लेख्य वृद्धि भएको छ ।’ बीमा समिति तथा बीमा कम्पनीहरु स्वंयले समेत बीमा चेतना अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गरिरहेका कारण बीमाप्रति नागरिकको आकर्षण बढ्ने उनको भनाई थियो ।

कार्यक्रममा नेपाल माइक्रोफाइनान्स बैंकर्स एशोसिएसनका अध्यक्ष एवम् छिमेक लघुवित्त विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र जोशीले बीमाको पहुँच वृद्धिमा माइmक्रोफाइनान्सको भूमिका समेत महत्वपूर्ण भएको बताए । वित्तीय पहुँच विस्तारमा विशेष भूमिका निर्वाह गर्दै आएका माइक्रोफाइनान्सहरु पछिल्लो समय लघु बीमाको माध्यमबाट बीमाको दायरा बढाउन समेत महत्वपूर्ण भूमिका खेलेको अध्यक्ष जोशीले बताए ।

सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकि क्षत्रीले बीमा साक्षरताकोकमीकै कारण सोचे अनुरुप बीमाको पहुँच विस्तार हुन नसकेको धारणा राखे । यसैगरी युनियन लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजलाल कर्णले हाल नेपालका १० प्रतिशत नागरिकमा बीमाको पहुँच पुगेको तथ्यांक गलत भएको बताए । कति नागरिकमा बीमाको पहुँच पुगेको भन्ने एकिन तथ्यांक नभएको भन्दै सीईओ कर्णले यति नै प्रतिशत नागरिकमा बीमाको पहुँच पुग्यो भन्न नसकिने अवस्था रहेको बताए ।

दोस्रो बैंकिङ एक्स्पो औपचारिक रुपमा समापन भएको घोषणा गर्दै कार्यक्रम संयोजक एवं मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषले अब राजनीति मुद्धा छाडेर आर्थिक मुद्धा तर्फ सबै सञ्चारकर्मीहरु केन्द्रीत हुनु पर्ने बताए । नेताको भाषण लेख्ने पेजमा कागती फलेको समाचार लेखे मात्रै उद्यमशीलता तर्फ उत्प्रेरणा जाग्ने र मुलुक समृद्ध बन्ने उनको भनाई थियो ।

एक्स्पोको उद्घाटन समारोहमा नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगाना, विकास बैंकर्स संघका महासचिव झलकप्रसाद खनाल, नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधर, माइक्रोफाइनान्स बैंकर्स संघका उपाध्यक्ष प्रकाशराज शर्मा, साना व्यवसायी तथा युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद गौतम लगायत विभिन्न बैंक, वित्त, बीमा कम्पनी लगायतका प्रमुखहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता वित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले गर्नुभएको थियो ।

समुद्घाटन पश्चात शुक्रबार नै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको बैंकिङ प्रविधि विशेष अन्तरक्रिया कार्यक्रममा नेपाल क्लियरिङ हाउसका सीईओ निलेशमान सिंह प्रधान, बैंकर्स संघका कार्यकारी सदस्य अशोक शेरचन, प्रभु इन्स्योरेन्सकी अध्यक्ष कुसुम लामा लगायतको उपस्थिती रहेको थियो ।

एक्स्पोको दोस्रो दिनको पहिलो सत्रमा बैंकिङ लगानी र उद्यमशीलता विशेष अन्तक्र्रिया कार्यक्रम आयोजना गरियो । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अन्तक्र्रियामा युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक डा. विष्णु प्रसाद गौतम, डेभलपमेन्ट बैंकर्स एसोसिएसनका महासचिव झलक प्रसाद खनाल, माइक्रोफाइनान्स बैंकर्स संघका उपाध्यक्ष प्रकाशराज शर्मा एवम् बीमा विज्ञ भोजराज शर्मा लगायत मन्तव्य राखेका थिए ।

त्यसैगरी, दोस्रो दिनको दोस्रो सत्रमा सेयर बजार विशेष अन्तक्र्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् सेयर विज्ञ डा. गोपाल भट्ट, मर्चेन्ट बैंकर्स संघका अध्यक्ष ध्रुव तिमल्सिना, ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मि, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्की लगायतले नेपालको पुँजी बजारसम्बन्धि मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *