सञ्चारकर्मी बोखिमको रुमानी साँझ सार्वजानिक

सीता तुम्खेवा
काठमाडौं, २८ माघ – सञ्चारकर्मी तथा स्रष्टा भानु बोखिमको कथा सङ्ग्रह रुमानी साँझ आइतबार मण्डला थिएटरमा सार्वजानिक भएको छ । फरक ढङ्गले सार्वजानिक गरिएको कार्यक्रममा सभापतित्व तथा प्रमुख अतिथि नरहेको कार्यक्रममा प्रकाशक, स्रष्टा र समिक्षकले छोटो मन्तव्य दिई सार्वजानिक गरिएको थियो ।

शाब्दिक बुक्सले प्रकाशन गरेको कथा सङ्ग्रह प्रकाशन गृहको दोश्रो प्रकाशन रहेको प्रकाशक प्रतिनिधि नरेन्द्र नगरकोटीले बताए । यसभन्दा अगाडि विजय सापकोटाको ‘अनावरण’ कथा सङ्ग्रह प्रकाशन गरेको र यस सङ्ग्रह दोश्रो रहेको उनले जानकारी दिए । साहित्य क्षेत्रमा ग्याप रहेको विधालाई प्रोत्साहन रहेको र शैक्षिक क्षेत्रका पुस्तकको पनि प्रकाशन गर्ने प्रकाशन गृहको लक्ष्य रहने नगरकोटीले थप प्रष्ट्याए ।

स्रष्टा भानु बोखिमले सानो छँदा साहित्य उति मन नपरेको तर रेडियो नेपालमा नवराज लम्सालको एक कार्यक्रम सुनेर कथालेखनतर्फ अग्रसर भएको सुनाए । बिचमा एण्टेना फाउण्डेसनको लागि धेरै नाटक लेख्न पुगेको, नाटक खोज्दै विभिन्न गाउँघरमा पुग्दा कथा भेटाएर यो रुमानी साँझको परिकल्पना आएको पनि लेखकले बताए ।

समिक्षकको रुपमा प्रस्तुत भएका नवराज लम्सालले भानुलाई विभिन्न रुपमा चिन्न पुगेको बताए । कुनैबेला पत्रकारिताको तालिममा विद्यार्थीको रुपमा चिनेको भानुलाई कहिले सञ्चारकर्मी, कहिले रेडियोकर्मी, नाटककर्मीहुँदै अहिले फेरि कथाकारको रुपमा चिन्न पुगेको बताए ।

“कथाकारले आफ्ना विचारलाई भन्न पात्रको चयन गरेर पात्रलाई भन्न लगाइन्छ । त्यसैले कथाकारले विभिन्न गाउँ घुम्दा देखेको घटना र उब्जिएको भावनालाई पात्र चयन गरिएको कथाहरू सत्यताका नजिक छन् ।” लम्सालले समिक्षाका क्रममा बताए । कथाको प्रकृति हेर्दा मझौलाखाले उपन्यास लेख्न सक्ने खुबी भानुमा रहेको र कुनै पनि देशमा पुग्दा यो नेपालबाट निस्किएको कृति हो भनेर गर्वका साथ राख्न सक्ने समिक्षाको क्रममा लम्सालले बताए ।
उनले प्रकाशन गर्न सजिलो र वितरण गर्न अप्ठ्यारो रहेकोतर्फ पनि इङ्गीत गरेका थिए ।

‘रुमानी साँझ’मा १६ वटा कथा छन् । २१४+१० पृष्ठमा फैलिएको पुस्तकको मुल्य रु. ३०० रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *