छेपारोको कथा र मेरो मे डे ( निबन्ध )

0
34
janu kambang lingden
janu kambang lingden is poetry

सबेरै उठी सम्पूर्ण नित्यकर्म सकी सधै झैं बाटो लागियो । एक गिलास तातो पानी नियमित पिउने बानी परेकोले पिउँदा पिउंदै ढिलो भो । भित्ताको घडी हेर्न भूलेर हतार तलामुनी झरेकोले खुट्टामा जुत्ता घुसार्दै मोबाईल हेरें ७ बजिसकेको रहेछ । घर नजिकको बस स्टप पुग्न नभ्याउला भनेर घर पछिबाट कु-अपरेटिभ तिर दौडिएँ । लामो ड्युटी परेकोले दिनभरिको माना चामल बोकेर दौडिदा झोला निक्कै गह्रौं भयो ।

दुई हातले झोला छातीमा नानिझै टाँसेर स्या…स्यांह गर्दै बल्लतल्ल बस स्टप पुगेँ, तर बस आईपुग्न ५ मिनट छ भनि ईन्फ़र्मेसन बोर्डमा देखाईएको थियो, छक्क परें ! होइन मेरो नियमित बस छुटेकै हो त ? मन मनै बोल्छु भन्दै थिएँ आतिएर फुत्त आवाज बाहिरियो । ४ जना साना-साना स्कूले केटाहरु मोबाईल खेलाउँदै बस पर्खि रहेका थिए । सबैले मलाई पालाक्क पुल्लुक्क हेरेपछि पो थाहा पाएँ आत्तिएर निस्केको मेरो आवाजको परिणाम ! लाज, लाज लाग्यो बेवास्ता गर्ने पल्टिएर गोजीबाट फोन झिकी उनीहरु संगै म पनि प्लस वान भएर फोन खेलाउन थालें । अचेल फोन नै संसार, फोन नै साथि, के विद्यार्थी, के मजदुर, के गृहिणी । हामीले फोन हेर्दा हेर्दै बस आईपुग्यो भित्र बस्ने सिटले पुग्दैन भन्दै ठेलमठेल गरेर होइन, पालै पालो ईमान्दारी ढंगले चढ्यौं हामी । जब बस चढेर बस पास बसको ठुतुनोमा सुन्घाउँदै गर्दा पो ड्राईभरले भन्यो, आज मे-डे हो सिटी सेन्टर जाने सडक बन्द छ माफ गर्नु होला !
बल्ल पल्टियो पढ्न बिर्सिएको किताबको पाना अचानक हावाहुरीले ह्वारह्वारती पल्टाए झैं गरि, अघिल्लो सालको मे डेमा पाएको दुख मनमा सररर ।

गत बर्ष, म सबेरै उठेर आज जस्तो ढिलो होइन छिट्टै पुगेकी थिएँ बस स्टप, तर मे डे भएर बाटोमा ट्राफिक र आज जस्तै सिटी सेन्टर तिर जाने रोड़ बन्द थियो l अक्सफोर्ड सिटी सेन्टर पुग्ने बेलाको ठुलो चर्चमा अक्सफोर्ड थर्काउने गरि घन्टी बज्दै थियो l चर्चको ठिक तल रहेको थेम्स नदीको पुलमा विद्यार्थीहरु धमाधम नदीतिर हाम फालिरहेका थिए l जताततै पुलिस र एम्बुलेन्स संग सुरक्षा ज्याकेट लगाएका रंगीचंगी मान्छेहरु दौड धुप गरिरहेका थिए l कति त चिसो पानीमा हाम फालेका कारण बिहोस भएर एम्बुलेन्स तिर हाल्दै जोन रेंक्लिफ हस्पिटलतिर कुदाई रहेका थिए l यो क्रम सदियौं देखि हरेक मे १ तारिक दोहोरिन्छ अक्सफोर्डमा यसको पनि पुरानो ईतिहास रहेको पाईन्छ l बेलायतको अक्सफोर्ड धेरै कलेज र युनिभर्सिटीहरुको शहर मानिन्छ, यहीबाट विश्वको ठुल्ठुला वैज्ञानिकहरुको शिक्षा प्राप्त गरेका ईतिहास सबैलाई सर्वविदितै छ l अंग्रेजी भाषाको उत्पति पनि यहीबाट भएको हो ।

विश्व विख्यात वैज्ञानिक स्टिफन हकिङ्ग्स पनि अक्सफोर्ड मै बस्थे । महात्मा गान्धीले शिक्षा यहीबाट प्राप्त गरेका थिए । यहाँ हरेक बर्ष विश्वका विभिन्न देशबाट विद्यार्थीहरु पढ़्न आउँछ्न् । धेरै धनि देशका ठुल्ठुला मान्छेका छोरा छोरीहरु बस्ने र अध्यायन गर्ने भएकोले सर्व-साधरणका लागि निक्कै महँगो सिटी मानिन्छ । भन्नुको मतलब घर भाडा देखि लिएर खान बस्न हरेक महँगो छ ।

यसरी नै हरेक साल काउली रोड़ र सिटि सेन्टर जोड्ने सडकको मुख्य पुलबाट विद्यार्थीहरु हाम फालेर खुशियाली मनाउने गर्छन् । अक्सफोर्डमा मनाईने एक पुरानो चाड नै हो यो मे डे । पुरानो भनाई अनुसार, अक्सफोर्डको यूनिभर्सिटीहरु बाट परिक्षा उतिर्ण गरेपछि औधि खुशी भएर यसरि खोलामै हामफालेर खुशियाली मनाउन सुरु गरेको कुरो ईतिहासमा उल्लेख छ ।

म जसै पहिलो बस छुटेर ढिलो भैसकेको थिएँ । फेरि सडक बन्दले २ स्टप वरैबाट हिड्नु पर्दाको दुख र समयमा ड्युटी पुग्न नसक्नुको चिन्ता अघिल्लो साँझ खानासँग आँशु आँशु हुँदै खाएको पिरो अनि मिठो अकबरे खोर्सानिको अचारले मुख हुँदै ओठ भतभत्ति पोले झैँ मन पोल्न थालेको थियो । म ओर्लिएको बस स्टप लास्ट बस स्टप थियो त्यो दिन बिहानको । म संग संगै बसमा रहेका थरिथरिका रंगीचंगी मान्छे सबै ओर्लिएर दौडन थाले आ-आफ्नो गन्तव्य पछ्याउँदै । साँच्ची नै बेलायतमा बसोबास गर्ने मान्छेहरु रंगीचंगी नै देखिन्छन् । रितिथिति फरक, भेष भुषा फरक, छालाको रंग फरक, भाषा फरक, खालि लटर पटर बोलिने अंग्रेजी भाषा मात्र मिल्छ, त्यसको पनि प्रोनाउनसेसन साउण्ड त फरक नै सुनिन्छ, नेपालमा डमरु बजाउंदै बरफ बेच्ने भैया र खालि बोतल बटुल्ने छिमेकी दाईले जबर्जस्ती नेपाली बोले जस्तो ।

कसैले छी ….यो भैया त कति कालो हो भन्दा पनि ! दिदी ! काला त काला हुँ पर, दिलवाला हुँ न भन्दै जमेको पानीमा चिनी घोलेर एकैछिनमा टन्नै पैसा
कमाएर हिड्ने ति भैयाहरुले बोल्ने नेपाली र हामीले बोल्ने अंग्रेजीमा के नै फरक छ र ?

घरबाट आएको बस छाडेर हस्पिटल जाने बस चढ्नु पर्थ्यो तर, त्यो बस बाटोको कारण निक्कै ढिलो आयो । अघिल्लो बर्षको एकान्द्रो मेटाउदै थियो म संग मस्त समयले दोहोरिएर । मैले गएको बर्ष पनि उही कुरो सोचेकी थिएँ जुन कुरो त्यो दिन सोचिरहेकी थिएँ । फरक यति थियो गएको बर्ष बस स्टपमा मसिनो विद्यार्थी होइनन् म जस्तै कामकाजी ड्युटी हिडेका मान्छेहरु भेटेकी थिएँ हुँला, अब गर्छु, गरि हाल्छु भनेर सम्झेको कुरो छिनमै बिर्सेने छेप्पारो जस्तो भूलकड़ मान्छेले, को-को भेटियो भनेर के याद राख्नु ? आफैले पाएको दुख त बिर्सेर यत्रो टाढा १ बर्ष पछि सम्झिँदो रहेछु त्यो नि मे डेले गर्दा ।
आ-जोसुकै भेटियोस मतलब भएन, तर अर्को बर्ष चाँही मे डे याद गरेर उतैबाट टेक्सीमा जानु पर्यो ड्युटी ।

हुन त यो कुरो हरेक मे डेमा दोहोरिएकै छ म भित्र लागू नभए पनि, भोलि त म पनि ठुलो तीनतले घर बनाउँछु साला ! आज यो पानीले सारै पो भिजायो है भन्छ रे छेप्पारोले पानी परेको दिन । फेरि पानी रहेर भोलि पल्ट घाम लाग्दा ठुलो ढुंगा माथि उतानो पल्टिएर घाम ताप्दा ताप्दै भुलिहाल्छ रे । अनि साँझमा फेरि पानी परेर भिज्दा आफैलाई थुक्क भूलकड़ भनेर थुक्दै रिसले निधार ठोकेर रातै बनाउछ रे, तेसैले त छेप्पारोको टाउको रातो हुन्छ रे भन्दै सानोमा बोजुले सुनाएको यो कथा मेरो पनि जिवनमा लागू भएको छ अचेल । समय अभावले भोलि गर्छु, पर्सि गर्छु भन्दै राखेका कयौं काम बाँकी छन् । कहिले
कहिँ त लाग्छ कति अधुरो कामहरु पुरा नभई मरिने पो हो कि !

समाप्त

जानू काम्बाङ्ग लिम्बु
ताप्लेजुङ्ग हाल युके !!
१ मे २०१८ अक्सफोर्ड

LEAVE A REPLY