अर्जुनको खालिङको एउटा अधुरो पोट्रेट: भूपाल राई

राति १२ बजेर पाँच मिनेट जाँदा भाइब्रेसन मोडमा राखिएको मेरो मोबाइल अचानक थर्कियो । तन्द्राबाट ब्यूँझिएर हेरेँ । स्क्रिनमा दीपक सापकोटाको नाम पिलिक् पिलिक् बलिरहेको थियो । रिसिभ गर्नासाथ उताबट दीपकले भन्यो, ‘हैन, त्यो अर्जुन खालिङले आफूलाई किन सिध्याएको दाइ ? ‘ प्रश्नमा हतासा थियो तर दीपकको प्रश्नले हथप्रभ बनाएन मलाई।
बरु लाग्यो, मैले आफूले आफैंलाई सोधिरहेछु त्यो प्रश्न । हरेकलाई थाहा छ, खासगरी त्यतिखेर जतिखेर हरेक कोही त्यही प्रश्नको सघन धुवाँमा फसिरहेको छ निकै मुस्किल पर्छ त्यसको सपाट् र सहज उत्तर प्राप्त गर्न । जब कि दीपकजस्तै, मजस्तै सहरमा त्यतिखेर केही हजार मानिस त्यही धुवाँको सघनतामा फसिरहेका थिए ।
गत साल भदौ १९ गते मेरो कवितासंग्रह ‘आगोले जन्मोत्सव मनाउँदैन’को विषयमा प्रलेस चितवनले विमर्र्श कार्यक्रम राखेको थियो । हामी एक समूह काठमाडौंबाट रमाना भएका थियौं त्यहाँ, जसको नेतृत्व गरेका थिए अर्जुन खालिङले जो चिन्डो बुक्सका अध्यक्ष थिए । त्यो समूहमा सहभागी भएका दीपकले त्यो यात्राभरिका सजीव चित्र आँखाबाट उतारेर शब्दमा स्मरण गर्दै भने, ‘कस्तो मान्छे रहेछ ? यति बेलासम्म सुत्नै सकिएको छैन । उसले दिएको पेन्टिङ भित्तामै छ जसले झन्झन् उसको याद बल्झाइरहेछ ।’ तर, दीपकलाई थाहा थिएन दशा, मनोदशा उस्तै थियो यता पनि । भित्तामै छ अर्जुन खालिङले बनाएको उपहार पेन्टिङ । भर्खरैमात्र, भर्खरको तन्द्रा च्यातेर दीपकसँगको सहभावमा छु म पनि । अन्तिममा उसले भन्यो, ‘दाइ, त्यस्तो कुनै सुसाइड नोट भेटियो ?’
मैले भनेँ, ‘त्यस्तो केही सूचना आइसकेको छैन अहिले, भोलि थाहा होला ।’
फोन राखिसकेपछि पो मलाई हेक्का भो भोलि त भइसकेको रहेछ । रातको १२ त अघि नै भड्किइसकेको रहेछ । भोलिको नाममा हामीले आजै निक्कै लामो वार्तामा समय गुजारिसकेका रहेछौं । अर्जुनको आलो-आलो सम्झनामा दीपक र मैले भोलिलाई आज बनाइसकेका रहेछौं ।
त्यसैको लगभग पाँच घन्टाअगाडि फेसबुकमा लागेको सूचनाको डँढेलो देखेर उज्ज्वल प्रसाईले पनि फोनमै सोधेका थिए, ‘दाइ, यो कस्तो समाचार हो ? ‘
उत्तरमा मैले भनेको थिएँ, ‘यो सत्य हो भाइ ।’
फेरि उनले भने, ‘हैन, मान्छे त त्यस्तो गर्लान्जस्तो पटक्कै थिएनन् त ।’
मैले भनेँ, ‘मान्छे झगडा गर्न नजान्ने । कुस्ती खेल्न नसक्ने । धेरै कुरा हाँसेरै पचाउने । सायद उनीभित्रको सम्पूर्ण आवेग कतै अन्तरमा संगृहीत थियो । त्यसैले सायद उनलाई खायो ।’
मेरो कुरा सुनेर उज्ज्वलले भने, ‘हैन, उनीसँग त आफूलाई अभिव्यक्त गर्नको लागि पेन्टिङ थियो । धेरै कुरा कवितामा भन्नसक्ने मान्छे । कसरी यस्तो बाटो रोजे ?’
उज्ज्वलको उत्तरले मलाई यस्तरी हल्लायो कि मानौं मैले यो उचाइको कुरा कहिल्यै कल्पनै गरेको थिइनँ । साँच्चि नै एउटा कवि जसले कवितामा आन्दोलनको भाषा बोल्थ्यो । एउटा पेन्टर जसले आवेगहरू रङमा पोखाउँथ्यो । तर, कविताले पनि व्यक्त गर्न नसकेको, रङमा समेत पोखिन नसकेको के त्यस्तो आवेग थियो उनीभित्र ? र, यसरी व्यक्त गरे अन्तिम आवेग आफैंलाई सिध्याएर !

मंसिर ३० को अपराह्न, जुन दिन अर्जुन खालिङले कोटेश्वरस्थित आफ्नो डेराको आफ्नै पेन्टिङ रुममा आफूलाई समाप्त पारे, त्यसको सूचना मैले समयमै प्राप्त गरेको थिएँ । तर, खबर पाउनासाथ घटनास्थलतर्फ अभिमुख हुन मैले आफूलाई तयार गर्न सकिनँ । बरु ज-जसले मलाई फोन गरेर सूचना दिएका थिए, तिनीहरूलाई नै घटनास्थल पुगेर स्थितिसँग सामना गर्न अनुरोध गर्दै घरमै बसिरहेँ । घरमै बसेर सम्झिरहेँ, त्यो उनको पेन्टिङ रुम जो अपेक्षाकृत रूपले निकै ठूलो थियो, जसलाई उनले गत साल महाभूकम्पपश्चात् मलाई अवलोकन गराएका थिए ।
भित्ताहरूमा ठडिएका ठूलाठूला क्यानभास । यत्रतत्र छरिएर रहेका रङका बट्टा, कुचीहरू । तयार भइसकेका र हुन बाँकी अनेक आयामका कलाकृतिहरू । उनी प्रायः कुची खेलाउँदा खेलाउँदै त्यहीँ थकाइ मार्ने गर्थे र त्यहीँ सुत्ने पनि गर्थे । सम्झिँदासम्झिँदै अचानक सम्झिएँ उनको पेन्टिङ रुममाथि चुस्स निस्किएको सिलिङ फ्यानको त्यो फलामे हुक ।
र, सम्झिएँ, तारालाई जो यतिखेर आँसुमा नुहाइरहेकी होलिन् । तारा अर्थात् तारा नुमिहाङ । साइनोको मेरी भान्जी । जसलाई मैले एक गायिकाका रूपमा सर्वप्रथम काठमाडौंमा भेटेको थिएँ । सम्झिएँ,
१०/१२ वर्षीया अर्जुनकी फुच्ची छोरी ।
अर्जुन खालिङ । साइनो नपर्ने अर्कै जिल्लावासी भाइ, जसलाई एक कविको रूपमा सर्वप्रथम काठमाडौंमै भेटेको थिएँ । ०६१/०६२ सालतिर तिनीहरूको बिहेपश्चात् अर्जुनसँग मेरो साइनो बदलिएको थियो । ‘तिमी’बाट ‘तपाईं’मा उचालेको नवीन सम्बोधन बनेको थियो मेरो । भाइबाट भान्जामा उठेको थियो साइनो ।
साँझपख गणेशकुमार राईलाई फोन गरेर मैले भनेँ, ‘गणेश, आफूलाई बलियो बनाऊ र घटनाको सामना गर है । तिमीलाई थाहै छ, मसँग यतिखेर त्यहाँसम्म आइपुग्ने हिम्मतको अभाव छ ।’
गणेशले भन्यो, ‘थाहा छ दाइ, तपाईं घरमै रेस्ट गर्नुस् । हामी छौं यहाँ । भोलि भेटूँला ।’
त्यसपछि आफूले आफैंलाई प्रश्न गरेँ । स्थिति सामना गर्न नसक्ने, आँसुसँग डराएर भाग्ने म आफैं पनि कस्तो कायर हुँ ? अचम्म लाग्छ, यी सबसँग डराएर, भागेर अहिलेसम्म कसरी बाँचिरहेछु म ?
भोलिपल्ट दिनभरि अर्जुनको पार्थिव शरीरलाई पछ्याउने काम भइरह्यो । बिहान टिचिङ हस्पिटल महाराजगन्ज, जहाँ पोस्ट्मार्टमका लागि उनको शरीर राखिएको थियो, तारा मेरो हात समाएर असह्य भइन्जेल रोइन् । म कायर उनको कपाल सुमसुम्याउँदै निःशब्द उभिइरहेँ । थाहा छैन, किन यस्तो बेलामा मेरो कण्ठभित्रै शब्दहरू हराउँछन् ? किन म यति कमजोर भएर आफैंभित्र हल्लिन्छु
दिउँसो किरात राई यायोक्खाको प्रांगणमा श्रद्धाञ्जलिका लागि राखिएको थियो अर्जुनलाई । रुने मान्छेहरूको सूची अरू थपियो । त्यसपछि उनको शव पछिल्लो कालमा उनी आबद्ध राजनीतिक पार्टी संघीय समाजवादीको कार्यालय लगियो । म केही थकानको अनुभूतिले पार्टी कार्यालयको सट्टा सीधै वनकाली हानिएँ । सम्भवतः त्यहाँ पनि आँसुको मात्रा थपियो होला । पार्टीको केही औपचारिकता निभाइयो होला ।
श्रद्धाञ्जलिका भावपूर्ण शब्दहरू खर्चिए होलान् । पार्टीहरू यसै गर्छन् । बाँचिन्जेल जीवनको संघर्षपूर्ण घडीमा निरपेक्ष रहे पनि मरेपछि प्रतिभाहरूलाई आफ्नो बनाउन हतार गर्छन् । यो नेपाली प्रतिभा, खासगरी अर्जुन खालिङ हुनेहरूका लागि निकै ठूलो दुर्नियति हो । नत्र नेपालका ‘वरिष्ठ’ भनिने प्रतिभाहरूको पार्थिव शरीर एकैछिनका लागि भए पनि प्रज्ञाभवन कमलादीमा राखिने जुन अघोषित प्रचलन स्थापित छ, त्यसका लागि अर्जुन खालिङले पनि योग्यता बनाएकै हुन् । तर, त्यति हतार गर्ने पार्टीले त्यति फुर्सद देखाउन किन सकेन ? र, दुर्नियति अर्जुन खालिङहरूकै मृत्युमा अक्सर किन दोहोरिने गर्छ ? सायद त्यसका लागि निकै विलम्ब भइसकेको थियो ।
साँझ पर्न लाग्दा अर्जुनको अन्तिम प्रस्थानलाई वनकालीको जंगलमा लगेर बिसाइयो । मैले अन्तिम श्रद्धाञ्जलिका लागि फूलको सट्टा शब्दको सहारा लिएँ । र, टाढैबाट अर्पण गरेँ । म कायर अझै पनि छेउमा गएर उनको अनुहार नियाल्न असमर्थ थिएँ ।
वनकालीमा अर्जुनको बारेमा मञ्जु सोताङ भन्दै थिइन्, ‘मर्न एकदमै डराउने मान्छे । पछिल्लो समय सानै कुरामा पनि विचलित हुने गर्थे । पोहोरको भूकम्पपछि त जतिखेर पनि घर हल्लिरहेझैं ठान्थे ।’
मलाई अचम्म लाग्यो ! त्यस्तो मर्न डराउने मान्छे ! लगभग मजस्तै कायर मान्छेसँग आफैंलाई मार्ने हिम्मतचाहिँ कहाँबाट जुट्न गयो ?

अर्जुन खालिङ मात्र कुशल कवि थिएनन् । मात्र गोल्ड मेडलिस्ट कलाकार थिएनन् । थिए त उनी दुवै थिए । तर, मात्र दुवै थिएनन् । दुवैसँग उनले जुन सामाजिक चेतना र अन्तरसम्बन्धको हिस्सा जोडेका थिए त्यो अरू धेरैसँग थिएन । त्यसैले उनी मात्र दुवै थिएनन् । ५० को दशकदेखि दुवै क्षेत्रमा सक्रिय रहे पनि ६० को दशकदेखि उनले आफ्ना कलाकृतिलाई जुन आन्दोलनसँग जोडेर लगे, त्यसपछि मात्रै उनीसँग सापेक्षित समाजले बुझ्यो कि कलाको अर्थ के रहेछ !
अर्जुन कविमात्र थिएनन् । मात्र कलाकार थिएनन् । मात्र दुवै थिएनन् । उनी मेरो लागि भान्जाभन्दा बढी भाइ थिए । भाइभन्दा बढी कवि थिए । कविभन्दा बढी पेन्टर थिए । यी सबैभन्दा बढी सामाजिक अभियन्ता र एक सांस्कृतिक नायक थिए ।
फाइन आर्टको विश्वजनीन आयाम र मूल्य अर्कै होला तर अर्जुनले त्यसलाई एक खास सांस्कृतिक र सामाजिक आयामसँग जोडेर बुझ्न सकिन्छ भन्ने प्रमाणित गरेर देखाइदिए । पछिल्लो समय चिण्डो बुक्स, चिण्डो आर्ट, चिण्डो फेसनजस्ता सांस्कृतिक र प्राज्ञिक क्रियाकलापबाट किराती मानकलाई स्थापित गरेर देखाए । चिण्डो किराती संस्कृति र विश्वासको मानकमात्र होइन त्योसँग किराती जीवन दर्शन र दृष्टिकोण पनि जोडिएको छ ।
यति मसिनो र नदेखिने कुनै किराती प्रपर्टिजलाई आफूले सिकेको शिल्पको केन्द्र बनाएर उनले फाइन आर्टको इतिहासलाई नै बदलिदिए । उनीभन्दा पहिले स्केचहरूमा, पोट्रेटहरूमा किराती अनुहारको सौन्दर्य विरलै भेट्न सकिन्थ्यो । तर, उनको आगमनपछि हजारौं क्यानभास, हजारौं मान्छेका अनुहारहरूले किराती अनुहार पाए । किराती अनुहार धेरै अनुहारहरूको बीचमा एक परिचित अनुहार बन्यो । किराती वास्तुकलालाई चित्रकलाको प्रमुख विषय कसरी बनाउन सकिन्छ, यसको अनुसन्धानमै थिए अर्जुन ।
संविधानसभाको दोस्रो निर्वाचनपछि समाजका विभिन्न आन्दोलन र एजेन्डाहरूसँग जोडिएर मैले ‘आगो’ शीर्षकको धारावाहिक कविता लेखिरहेको थिएँ । फेसबुकमा अर्जुन ती कविताहरूका नियमित पाठक थिए । उनले एक दिन मेरो घरमा आएर भने, ‘यो कविता कसैलाई नदिनुहोला, हामी छाप्छौं ।’ त्यतिखेर उनकै संयोजकत्वमा चिण्डो बुक्स नामक प्रकाशन संस्था खडा भइसकेको थियो । पछि उनकै अग्रसरतामा ‘आगोले जन्मोत्सव मनाउँदैन’ शीर्षकमा त्यो संग्रह छापियो । छापिइसकेपछि पुस्तकसहित ताप्लेजुङ, इलाम, झापा, सुनसरी हुँदै ‘आन्दोलन कविता यात्रा’ सुरु गर्ने निर्णय गरिएको थियो । तर, अचानक महाभूकम्पले त्यसलाई तुहाइदियो । राजधानीको दुइटा शृंखला र चितवनको भदौ १९ को तेस्रो शृंखलापछि त्यो त्यत्तिकै स्थगित हुन पुग्यो ।
त्यो कवितासंग्रह छापिसकेपछि अक्सर अर्जुन भन्ने गर्थे, ‘हाम्रो घोषित निर्णय छ, हाम्रा पब्लिकेसनका कुनै पनि कृति मदन पुरस्कारका लागि दर्ता गर्नेछैनौं ।’ यसको पछाडि उनको आफ्नै तर्क थियो— मदन पुरस्कारसँग जोडिएपछि समाजका पछिल्ला जल्दाबल्दा एजेन्डाका बारेमा बोल्ने हाम्रो नैतिक बल कमजोर हुन्छ । सम्भवतः यो विचार सोलु जुभिङकै माटोबाट उत्सर्जित विचार थियो । मैले यसलाई हातका दसै औंलाद्वारा ल्याप्चे ठोकिदिएको थिएँ ।
आफ्नो ‘गोयाङको सुगन्ध’ कविताकृतिमा एक ठाउँ उनले भनेका छन्-
हीँ छ
मैले खाने गोयाङको बोट
मैले ओढ्ने अल्लोको आकाश
मेरो सद्धे सातो
मेरो सग्लो पहिचान
सातो धेरैको हराएको छ यस देशमा । तर, हराए पनि धेरैले पत्तो पाएका छैनन् । पत्तो पाए पनि धेरैले खोजेका छैनन् । खोजे पनि धेरैले पाएका छैनन् । तर, उनलाई राम्ररी थाहा थियो— उनको सातो कहाँ छ ? राम्ररी थाहा थियो— यही सातोको वरिपरि आजको सामाजिक र राजनीतिक विश्व घुमिरहेको छ । कविताको बारेमा उनलाई कुनै भ्रम थिएन । जानेका थिए— त्यही राजनीतिक चेतकै पोषणमा आजको कविता बाँचिरहेको छ ।
साधना र अभ्यासले धेरै मान्छे असल कवि बन्न सक्छन् । धेरै सिद्धहस्त पेन्टर बन्न सक्छन् । तर, अर्जुन खालिङ बन्न त्यतिले मात्रै पुग्दैन । मृत्योपरान्त मानिसको हँदै नभएको स्तुति गाउने जुन परम्परा छ, यो त्यत्तिकै लागि मात्र गरिएको पनि होइन । उनको सिर्जनाको साथसाथै उनको जीवनले अँगालेको सांस्कृतिक चेतनाको सघनता र सामाजिक दायित्वको अन्तर्बोधले यति भन्न बाध्य गराएको हो । त्यसैले पनि भनिएको हो, उनी कविमात्र थिएनन् । मात्र कलाकार थिएनन् । मात्र दुवै थिएनन् । उनी मेरो लागि भान्जाभन्दा बढी भाइ थिए । भाइभन्दा बढी कवि थिए । कविभन्दा बढी पेन्टर थिए । यी सबैभन्दा बढी सामाजिक अभियन्ता र एक सांस्कृतिक नायक थिए ।

आत्महत्या ? या डिप्रेसन ? अवश्य यी दुवै कुरा नकारबोधक विषय हुन् । अक्सर हामी प्रत्येकले टिप्पणी गर्ने गर्छौं, आत्महत्या अपराध हो । यो कायरताको पराकाष्ठा हो । अवश्य त्यो हो पनि । तर, आत्महत्याको सबैखाले पाटो केलाउने हामीलाई थाहा छ- आत्महत्याको समाजशास्त्र के हो । लाग्छ, यसबारेमा भने अपेक्षाकृत मौन छौं ।
अवश्य हो, समाजको संघर्षशील इतिहासमा आत्महत्याका लागि ठाउँ कतै छैन । भावी भविष्यका लागि यो यस्तो नजिर हो जसले सबैखाले बाटो अवरुद्ध भएको भयावह सन्देश प्रवाह गर्छ । आधुनिक समाजको इतिहासले मात्र होइन, पौराणिक किराती परम्पराले समेत यसलाई अपराध मानेको छ । किराती परम्पराअनुसार यस्तो मान्छेलाई अरू सामान्य मान्छेको पार्थिव शरीरले पाउने सबैखाले सम्मानबाट च्यूत गरिन्छ । उसलाई मरेपछि चुल्हाको प्रवेशमा रोक लगाइन्छ । पितृबाट ऊ बहिष्कृत हुन्छ । उसलाई यति अपमानित गरिन्छ— बाँचेकाहरूले यो देखून् कि योभन्दा निन्दनीय कार्य अरू केही छैन ।
तर, यति हँदाहुँदै पनि के हामी यो भन्न सक्छौं कि आत्महत्या समाजभन्दा नितान्त बाहिरको कुरा हो ? के योसँग समाजको कुनै सम्बन्ध छैन ? के यसको पछाडि राज्यसत्ताको कुनै हात रहँदैन ? डिप्रेसन व्यक्तिको दिमागको विकार हो तर यो पनि समाजकै देन हो । डिप्रेसन स्वयंले मान्छे मार्दैन, त्योसँग जोडिएको कपोलकल्पित घटनाले मान्छे मार्छ ।
उनीभन्दा पहिले स्केचहरूमा, पोट्रेटहरूमा किराती अनुहारको सौन्दर्य विरलै भेट्न सकिन्थ्यो । तर, उनको आगमनपछि हजारौं क्यानभास, हजारौं मान्छेका अनुहारहरूले किराती अनुहार पाए ।
राज्यले व्यक्तिहरूलाई कहिल्यै समान देख्दैन । जनता कहाँ/कसरी जन्मिरहेका छन्, कसरी बाँचिरहेका छन्, कसरी मरिरहेका छन् राज्य त्यसबाट बेखबर छ । त्यसले सर्वदा ठूलाठूला व्यक्ति, उद्योगपति, मन्त्री, राष्ट्रपतिलाई मात्र देख्छ । जनता देख्दैन । असहिष्णु राज्यले जनताबाट केवल लिन्छ तर दिँदैन । किनभने दिने ठाउँमा सर्वदा बसिराखेको हुन्छ असहिष्णु अनुहार । जो, आफैं समाजको हरेक कित्ताको पदेन ठेकेदार पनि हो ।
कुनै बेला त्यही असहिष्णु अनुहारले गणतन्त्र रोक्न खोजेको थियो । संविधानसभा रोक्न खोजेकै हो । आज त्यही अनुहारले संघीयताको मूलबाटो अवरुद्ध गरिराखेको छ । जनताले आफ्नो सरोकार र स्वामित्वबोधका आधारमा आफ्नो भूमि माग्दा, आफ्नो जरा र पहिचानको कुरा गर्दा ऊ टाङ अड्याएर बसिराखेको छ । किनभने उसलाई थाहा छ, त्यसो गर्दा उसको वर्चश्वको प्रत्याभूति कमजोर हुन्छ । समाज बदलिन खोजिरहेछ तर त्यो अनुहार जहीँको तहीँ छ । यस्तोमा आत्महत्या या डिप्रेसनलाई समाजभन्दा पृथक् कसरी हेर्न सकिन्छ ?
यद्यपि यो आत्महत्याका बारेमा कुनै जस्टिफिकेसन होइन । न हो अर्जुन खालिङले रोजेको बाटोप्रतिको सम्मानभाव । अवश्य हो, समाज बदल्न व्यक्तिले बाँचेर संघर्ष गर्नुपर्छ । मृत्यु कायरता नै हो । तर, चालीस चालीस वर्ष लामो संघर्षले पनि नबदलिने समाजको चाहिँ के कुनै दोष ठहर्दैन ?एउटा अर्जुन खालिङ निर्दोष समाजको एकलौटी दोषी भएर जसरी समाप्त भएको छ, तर यता राज्य बेखबर छ । समाजको त्यो असहिष्णु अनुहार जहीँको तहीँ छ । के यसमा समाजको कुनै दोष रहँदैन ?

म दाबी गर्दिनँ, अर्जुनसँग मेरो दैनन्दिन भेट थियो । मात्र डेढ/दुई महिना अगाडिको अन्तिम फोनवार्ता स्मरणमा छ । उनले भनेका थिए, ‘चुम्लुङ भवनको भित्तामा पेन्टिङ गर्दैछु । मुन्दुममा वर्णित मानव सृष्टिदेखि पछिल्लो सभ्यतासम्मको स्केच बनाउँदैछु । यहीँ बस्दैछु । यहीँ सुत्दैछु ।’
पत्तै भएन योबीचमा कतिखेर उनी डिप्रेसनको बिरामी भएछन् । कतिखेर गाउँ पुगेछन् । फेरि फर्केछन् । घटनाहरू यति छिटो घटित भए कि कसैसँग त्यो सामथ्र्य थिएन, त्यसलाई टक्क रोक्न सकियोस् । एकैचोटि पुस १ गतेको बिहान फेसबुकमा औंला चलाउनु पर्‌यो मैले, ‘सधैं त मृत्युलाई जित्न असम्भव छ, यो पक्का हो । तर, यति छिटै हार्नु यो पनि आफैंप्रतिको अन्याय हो । ओ ! विजमफूल नायक ! ओ ! गोयाङ अभियन्ता ! ओ ! अर्जुन ! तिमीलाई बिर्सनु त के सम्झिन पनि यतिखेर मलाई बल चाहिएको छ । हे ! सुम्निमा पारुहाङ कृपया बल देउ, मलाई…।’
सुम्निमा पारुहाङले उनलाई बल दिए कि दिएनन्, थाहा भएन । तर, त्यो दिन वनकालीमा उनका लागि तयार गरिएको खाल्डोनिर उभिएर खालिङ समाजका एक अभियन्ता भनिरहेका थिए, ‘हामी अन्य सामान्य मृतकलाई जस्तो उनलाई सम्मानित व्यवहार गर्नेछैनौं । बरु यस्तो गलत बाटो रोज्नेलाई उल्टो व्यवहार जताउनेछौं । उनलाई घोप्टो पारेर पुर्नेछौं । किनकि किराती संस्कारअनुसार अन्तिममा माटो चढाएर सम्मान जाहेर गर्नेछैनौं । त्यसैले पुरिसकेपछि उनलाई माटो पनि दिनेछैनौं ।’
भित्ताहरूमा ठडिएका ठूलाठूला क्यानभास । यत्रतत्र छरिएर रहेका रङका बट्टा, कुचीहरू । तयार भइसकेका र हुन बाँकी अनेक आयामका कलाकृति । अर्जुन प्रायः कुची खेलाउँदाखेलाउँदै त्यहीँ थकाइ मार्ने गर्थे र त्यहीँ सुत्ने पनि गर्थे ।
यति सुनिसकेपछि मलाई त्यहाँ बसिरहन मन लागेन । उनलाई धर्तीमा विलीन गराउनुभन्दा अगावै म त्यहाँबाट हिँडे । हिँड्दाहिँड्दै सम्झिएँ । त्यत्रो सातोको कुरा गर्ने मान्छे ! बाँचिन्जेल सत्तासँग लड्ने मान्छे ! आज उनैलाई परम्पराले यस्तो सजाय दियो कि जो जाँदाजाँदै तीन मुठी माटोको समेत भागीदार बन्न सकेनन् ।
यतिखेर म त्यो कुरा सम्झिरहेछु जो ताराले पछि भनेकी थिइन् – ‘अक्सर कलाकारले जीवनको अन्तिम घडीमा आफ्नो कुनै प्रिय मान्छेको पोट्रेट बनाउँछन् रे । उसले पनि आफ्नो अन्तिम घडीमा मैले जति नै कर गरे पनि अगाडि कहिल्यै बनाउन नमानेको मेरो पोट्रेट बनाउन सुरु गरेको थियो । यो ऊ बित्नुभन्दा केही दिनअगाडिको कुरा हो । अफसोस् यो चित्र अधुरो रह्यो ।’
ताराको भनाइले डरलाग्दो छटपटी भयो । अचानक मनमा प्रश्न उब्ज्यो – अधुरो पोट्रेट जस्तै के अर्जुन खालिङको जीवन पनि अधुरै रह्यो ?
उफ ! माटोको सन्तान अर्जुन खालिङ, जसलाई माटो समेत दिन पाइएन । अन्त्यमा यो काम पनि अधुरै रह्यो ।

लेखक: भूपाल राई आजको अन्नपूर्ण पोष्टमा

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES