अस्थायी शिक्षकले शिक्षा विभाग र शिक्षा सेवा आयोग घेर्ने

काठमाडौं १७ बैशाख, अस्थायी शिक्षक केन्द्रिय संघर्ष समितिले एक हप्ते आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
आईतबार रिपोर्टर्स क्बल नेपालमा समितिले पत्रकार सम्मेलन गरेर सबै अस्थायी शिक्षकहरूलाई स्थायी गर्नुपर्ने, आई.एल.ओ सन्धि कार्यान्वयन गर्नुपर्ने, विभेदकारी ऐन खारेज गर्नुपर्ने लगायतका मागहरूसँगै शिक्षा विभाग र शिक्षा सेवा आयोग घेर्नेसम्मका कार्यक्रम सार्वजनिक गरेको छ ।

आन्दोलन घोषणाको लागि आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै समितिका अध्यक्ष हेम चौलागाँईले सरकारले तत्काल आफ्ना मागहरू सम्बोधन नगरे आन्दोलनले उग्र रुप लिने चेतावनी समेत दिए ।

अस्थायी शिक्षकहरूको हितका लागि आफुहरुको अन्तिम आन्दोलन भएको बताउँदै उनले भने,‘सरकारसँग वार्ता गर्न हामी जाँदैनौँ, शिक्षामन्त्रीले हाम्रा कुरा सुन्नुभएन, अब हामी सडकमा आईसकेका छौँ, अब सरकार सडकमा आएर वार्ता र सम्वाद गर्न बाध्य हुनेछ, हामी त्यो वातावरण निमार्णको लागि जुटिरहेका छौँ।’ उनले फरक प्रसंगमा आफुहरूले पटक÷पटक गरि धेरै चोटी सरकारले तोकेको मापदण्ड पुरा गर्दापनि अयोग्य र अस्थायी जस्तो विल्ला भिराएर चरित्र हत्या गर्न खोजेको आरोप लगाए ।

समितिले बैशाख १८ गते प्लेकार्ड सहितको आन्दोलन, १९ र २० गते देश भरका सामुदायीक विद्यालयहरू बन्द गरि जिल्ला शिक्षा कार्यलयरूमा तालावन्दि गर्ने, बैशाख २१ शिक्षा विभागमा धर्ना दिने र बैशाख २२ गते शिक्षा सेवा आयोगमा धर्ना गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।

कार्यक्रममा रामआश्रयराय यादव, गगनकुमार रावत, धर्मा पौडेल, सुरेन्द्र अधिकारी लगायतले आन्दोलन र आफ्ना मागहरूका बारेमा प्रकाश पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *