आइतबार संविधान संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत भई पारित हुन्छ—वाणिज्यमन्त्री विश्वकर्मा

काठमाडौं, साउन २७ । वाणिज्यमन्त्री मीन विश्वकर्माले अबको संसद बैठकमा संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेश भई पारित हुने ठोकुवा गरेका छन् । प्रस्तावको पक्षमा आवश्यक मत पुग्ने बताउँदै भने,‘आइतबारको संसद बैठकमा संशोधन प्रस्ताव प्रक्रियामा लगी निर्णयार्थ पेश हुन्छ र पारित पनि हुन्छ ।’

प्रस्तावको पक्षमा प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि आउने दाबी गर्दै त्यसबारे आन्तरिक छलफल भइरहेको खुलासा समेत गरे । एमालेका सामु प्रस्तावको पक्षमा जानुको विकल्प नभएको मन्त्री विकको भनाई थियो । उनले भने,‘एमालेका लागि संविधान संशोधन प्रस्ताव निल्नु न ओकल्नु भइसक्यो ।’ राजनीतिक सहमति गरेर अगाडि बढ्ने नीतिका साथ सरकार लागेको बताए ।

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा मंसिरको पहिलो हप्ताका लागि प्रदेश र संसदको चुनाव एकैसाथ गर्नेगरी घोषणा हुने खुलासा गरे । सरकार एकै चरणमा चुनाव गर्ने पक्षमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अगाडि चुनावको मिति घोषणा हुने बताए । सरकारले राजनीतिक माहोल मिलाइसकेको र निर्वाचन आयोगले प्राविधिक र जनशक्तिको विषय टुंगो लगाएपछि चुनावको मिति घोषणा हुने बताए । एकै चरणमा चुनाव गर्दा प्रमुख प्रतिपक्षी एमालेको समेत चित्त बुझ्ने भएकाले त्यसबारे राजनीतिक सहमति बनिसकेको बताए । चुनाव एकै चरणमा गर्दा मतपेटिका, कर्मचारी र प्राविधिकको संख्या चार गुणा बढी हुने भएकाले चुनौती रहेपनि सरकारले चुनाव गरेरै छाड्ने बताए ।

प्रस्ताव कुनै हालतमा पारित हुँदैन—एमाले सचिव ज्ञवाली
नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संविधान संशोधन प्रस्ताव कुनै हालतमा पारित हुननसक्ने ठोकुवा गरे । नेकपा एमालेसँग परामर्श विना सरकारले संविधान संशोधनको मस्यौदा बनाएको भन्दै राजनीतिक दाउपेचको विषय बनाएकाले आफूहरू पक्षमा जान नसक्ने बताए । उनले भने,‘एमालेसँग परामर्श विना सरकारले दाउपेचको विषय बनाएर बढ्नुले नयाँ संकट बढाउँदैछ ।’ एमालेले चासो राखेको गम्भीर विषयलाई समेत बेवास्ता गरेर विधयेक संसदमा प्रस्तुत गरिएको बताए । विधयेक पास भए जस लिने र फेल भए एमालेलाई दोष देखाउने रणनीति बनाइएको उनको भनाई थियो । पछिल्लो समय दलहरूबीच दूरी बढाउने र देशमा नयाँ धु्रवीकरण गराउने खेलहरू भइरहेको बताए । ज्ञवालीले भने,‘संविधान संशोधन प्रस्तावलाई राजनीतिक कार्डका रूपमा प्रयोग गरी एमालेलाई एम्बुसमा पार्ने, मधेशविरोधी देखाएर प्रोपोगाण्डा गर्ने र तराईको सेन्टिमेन्ट जित्ने रणनीति लुकेको छ । संविधान संशोधन प्रस्ताव बारे एमाले गम्भीर छलफल गरेर अगाडि बढ्न तयार भएको उनको भनाई थियो ।

जस्तोसुकै चलखेल गरेपनि प्रदेश नम्बर दुईको स्थानीय चुनावमा एमाले पहिलो पार्टी हुने दाबी गरे । वर्तमान सरकारले गराउने प्रदेश र संसदको चुनावमा भाग लिनुहुन्छ भन्ने प्रश्नमा उनले भने,‘यसै सरकारले चुनाव गराओस् एमाले चुनावबाट भाग्दैन बहुमत ल्याएर सरकार चलाउनेछ ।’

चिकित्सा क्षेत्रको विकृतिविरूद्ध डा.गोविन्द केसीले गरिरहेको अनशनको मनशाय गलत नभएको बताए । समस्याको तत्काल समाधान खोजिनुपर्ने तर चिकित्सा क्षेत्रमा लगानी गरेकाहरूलाई समेत अन्यायमा पार्न नहुने उनको भनाई थियो । मध्यमार्गी बाटोबाट समाधान निकाल्नुपर्नेमा उनको जोड थियो । उनले भने,‘सरकारले हिजो गरेको गल्तीको भागिदार सर्वसाधारण र लगानीकर्ता हुनुहुँदैन । लगानी खरिद हुनुपर्छ ।’ अनसनलाई आधार बनाएर एमालेलाई लाञ्छित बनाउने क्रियाकलाप भइरहेकोप्रति आपत्ति जनाए । उनले भने,‘गोविन्द केसीका नाममा एमालेलाई लाञ्छित गर्ने घटिया राजनीति भइरहेका छन् ।’

राष्ट्रिय सहमतिसहित प्रस्ताव पारित हुन्छ—माओवादी नेता नायक
माओवादी केन्द्रका नेता तथा पूर्व कानुनमन्त्री अजयशंकर नायकले संविधान संशोधन प्रस्ताव पारित हुने बताए । राष्ट्रिय सहमति बनाएर प्रस्ताव पारित गर्ने प्रयास भइरहेको खुलाए । उनले भने,‘राष्ट्रिय सहमति गरेर संशोधन प्रस्ताव पारित गर्नुपर्छ ।’ नेकपा एमालेलाई राष्ट्रिय सहमतिको बाधक बनेको आरोप लगाउँदै देश र जनताको हितका लागि जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रह गरे । प्रमुख प्रतिपक्षीले आफ्नो भूमिका सही ढंगले ननिभाएकाले संकट समाधानमा ढिलाई भइरहेको बताए । उनले भने,‘एमालेले प्रमुख प्रतिपक्षीको दायित्व निभाउनुपर्नेमा निभाएन । गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिइरहेको छ ।’

राजपा चुनावमा आउने वातावरण बनेको बेला अड्को थाप्न नहुने बताए । चुनाव कसैले जस लिने र अपजस लिने विषय नभएकाले स्वार्थको विषय बनाउन नहुने बताए । संविधान संशोधनको विषयमा एमालेले भित्र एउटा गर्ने र बाहिर अर्को बोल्ने गर्दै आएको आरोप लगाए । एकै चरणमा चुनाव हुनुपर्नेमा उनको जोड थियो । चुनावमा माओवादी केन्द्रले सरकारमा भएका र सरकारलाई समर्थन दिएका दलहरूसँग तालमेल गर्ने सम्भावना औल्याएँ ।

डा.गाविन्द केसीको माग सम्बोधन गर्न कुनै ढिलाई गर्न नहुने नायकको भनाई थियो । तर, देशमा गम्भीर मुद्या उठिरहँदा केसीको अनसन शुरू हुने घटना दोहोरिनुलाई आफूहरूले गम्भीर रुपमा लिएको बताए ।

संविधान संशोधन पारितको पक्षमा एमाले पनि आउँछ— राजपा नेता यादव
राष्ट्रिय जनता पार्टीका शिर्ष नेता महेन्द्र राय यादवले संविधान संशोधन प्रस्ताव पारित हुने ठोकुवा गरे । एमालेलगायतका असन्तुष्ट देखिएका दलहरू पनि प्रस्तावको पक्षमा आउने बताए । उनले भने,‘हैर्दैजानुहोस् एमालेलगायतका दलको सहमतिमा संविधान संशोधन प्रस्ताव पारित हुन्छ हुन्छ ।’ एमालेले बाहिर बाहिर जे धारणा सार्वजनिक गरेपनि भित्र भित्र सहमतिको पक्षमा आइसकेको खुलाए । संशोधन प्रस्ताव सहमतिको दस्तावेज भएकाले आफूहरू पनि लचिलो बनेको बताए । देशको हितका लागि लचिलो भएर जानुको विकल्प नभएको यादवको भनाई थियो । कसैले पनि मेरो गोरूको बा¥है टिक्का गर्न नहुने भन्दै सहमतिबाट बढ्नुको विकल्प नभएको बताए । संशोधन प्रस्ताव पारित नभए चुनावमा जानुहुन्छ भन्ने प्रश्नमा यादवले भने,‘संशोधन प्रस्ताव पारित गर्नका लागि ल्याइदैछ । खेलको नियम मानेर सबैले बढ्ने हो ।’ सरकारले तीन बुँदे सम्झौतालाई कार्यान्वयन गर्ने भन्दै आएकोमा सर्वोच्च अदालतले पछिल्लो समय गरेको निर्णयले सहमतिको नयाँ ढोका खोलेको बताए । सर्वोच्चको निर्णयले चुनावमा जाने वातावरण बनेको उनको भनाई थियो । चुनाव लोकतन्त्रको आत्मा भएकाले जनमतको सम्मान गरी अगाडि बढ्नुपर्नेमा आफूहरू रहेको स्पष्ट पारे । चुनाव चिन्ह पाउनेवित्तिकै चुनावमा जाने प्रक्रिया बढ्ने बताए ।

संविधान संशोधन प्रस्ताव देशको एकता, सार्वभौमिकता, राष्ट्रिय मेलमिलापसँग जोडिएकाले सबै अग्निपरिक्षामा रहेको बताए । जो जो सहमतिमा आउँदैनन् तिनको अराष्ट्रवादी र देशघाती चरित्र खुल्ने यादवको भनाई थिाये ।

डा.गोविन्द केसीको मागमा अबिलम्ब सहमति गरेर टुंग्याउनुपर्नेमा यादवको जोड थियो । मागप्रति सरकार गम्भीर हुनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *