आज प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीको पदबाट राजिनामा दिने

काठमाडौं ९ जेठ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रधानमन्त्रीको पदबाट राजीनामा दिने भएका छन् । प्रचण्डले व्यवस्थापिका संसदलाई दिउसो १ बजे विशेष सम्बोधन गर्दै राजीनामाको घोषणा गर्ने भएका हुन् ।

सरकार गठनका क्रममा भएको समझदारी अनुसार नै माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न लागेका हुन् । प्रचण्ड सरकार गठनका क्रममा नै दुई दलबीच सुरुको ९ महिना प्रचण्ड र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने समझदारी भएको थियो । तर, चैतमा स्थानीय तहको चुनाव हुन नसकेपछि प्रचण्ड सरकार केही लम्बिएको थियो ।

सोमबार बसेको माओवादी हेडक्वाटरको बैठकले पूर्वसमझदारी अनुसार नै प्रधानन्त्रीले राजीनामा दिने निर्णय गरेको थियो । प्रधानमन्त्रीको राजीनामापछि नयाँ सरकार गठनको प्रक्रिया सुरू हुनेछ । संसदको बजेट अधिवेशन सोमबार सुरु भएको छ । ११ गते राष्ट्रपतिले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र १५ गते कामचलाउ बजेट ल्याउने सरकारको तयारी छ । नयाँ सरकार गठनको प्रक्रिया पूरा गर्नु पर्ने भएकाले बजेट कामचलाउ सरकारले नै ल्याउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *