आफूहरुको प्रतिनिधित्व नभए प्रदेश र प्रतिनिधी सभा चुनाव बहिष्कार गर्ने १२ लाख मुसहर समुदायकोचेतावनी

काठमाडौं, २५ कार्तिक – देशभरिका २४ जिल्लाका मुसहर समुदायले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा आफ्नो समुदायको कुनै प्रतिनिधित्व नभएको भन्दै गुनासो पोखेका छन् ।

शनिबार ‘‘शक्तिहिनको सशक्तिकरणः मुसहर समुदायको समग्र उत्थान्’’ र नेपाल राष्ट्रिय मुसहर संघले संयुक्त रुपमा पत्रकार सम्मेलन आयोजना गरेर यस्तो गुनासो पोखेका हुन् ।

कार्यक्रममा अभियानका प्राविधिक सहयोगी राजकुमार महतोले स्थानीय तहको निर्वाचनमा समेत मुसहर समुदायलाई राज्य तथा प्रमुख दलहरुले बेवास्ता गरेको उल्लेख गर्दै आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा यो समुदायलाई पूरै बाईपास गरेको आरोप लगाए । उनले भने,‘राज्यले मुसहर समूदायलाई सँधै अधिकारबाट बञ्चित गराउँदै आएको छ, यो समूदायमा अहिले चरम शोषण भएको छ, उनीहरुले भोटको रुपमा सँधै प्रयोग गर्ने गरेका छन् ।’

महतोले प्रत्यक्षतर्फ यो समूदायका कसैलाई पनि अवसर नदिईएको बताउँदै समानुपातिक तर्फ समेत बेवास्ता गरिएकोमा चिन्ता व्यक्त गरे । उनले भने,‘अहिलेसम्मको नाम लिष्ट हेर्दाखेरि समानुपातिकमा एउटा पनि मुसहरको नाम पर्ने संभावना देखिएको छैन, यो अत्यन्तै दुःखदायी कुरा हो।’

अभियानद्धारा जारी गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ,‘प्रदेश सभा र प्रतिनिधी सभाको अवसर हाम्रो हाथ बाट निस्की सक्यो । तर हामी समक्ष एउटा अवसर अझैं बाकी छ, त्यो हो राष्ट्रिय सभा । हामी देश भरका मुसहर समुदाय एक जुट भएर हाम्रो सम्पुर्ण मत त्यस पार्टी र पक्षमा जान्छ जस्ले हामीलाई अब गठन हुने राष्ट्रिय सभामा मुसहर समुदायको जनसंख्याको आधारमा सम्मानजनक प्रतिनिधीत्व गराउन मनोनित गर्ने लिखित सहमती र समझदारी गर्दछ।’

विज्ञप्तीमा थप भनिएको छ,‘२४ जिल्लाबाट आउनु भएका ३५ भन्दा बढी मुसहरहरुले भने । यदिकुनै पनि पार्टीले मुसहर समुदायको सम्मानजनक प्रतिनिधित्व हुने गरी अब गठन हुने राष्ट्रिय सभामा मुसहर समुदायबाट समानुपातिक समावेशीताको आधारमा मनोनित गर्ने सुनिश्चिता गरेन भने हामी देश भरका १२ लाखमुसहर समुदाय मंसिरमाहुने प्रदेश र प्रतिनिधी सभा चुनाव बहिष्कार गर्छौै ।’

अभियानका संयोजक पचुलाल माझी मुसहरले राजनैतिक सहभागीता र प्रतिनिधित्वमा मुसहर समुदाय लगभग शुन्य सहभागिताको अवस्थामा रहेको भन्दै गुनासो पोखे । उनले भने,‘एक युगमा एक पटक आउने अवसर थियो संविधान सभा,त्यसमा पनि मुसहर समुदायको प्रतिनिधीत्व लगभग शुन्य नै थियो । यस्तो अवस्थामा हाम्रो पक्षमा र हाम्रो बारेमा सुहाउदो कानुन, नीती र कार्यक्रम कसले तय गरिदिने? नेपालको दलितहरुको छाता संगठनले समेत मुसहरलाई महा दलितको संज्ञा दिदै आएको छ ।’

उनले देशका राजनितीकदल र यसका नेताहरुले देशको १२ लाखको हाराहारीमा रहेको मुसहर समुदायलाई भोट बैंक मात्रै बनाएर राख्ने मानसिकता प्रष्ट देखिएको आरोप लगाए ।

नेपाल राष्ट्रिय मुसहर संघको अध्यक्ष चन्देश्वर सदाले देशलाई समृद्ध बनाउँछौं र पीडित उत्पीडित समुदायको जीवनलाई सम्मानित बनाउँछौ भन्ने झुटा आशा बाँड्ने राजनैतीक दल र यसका नेताहरुले आफनो नैतिक धरातल बिर्सेकोले गर्दा अव आफूहरु देशभरिका मुसहर समुदायको सम्पुर्ण मतदाताहरु र सम्पुर्ण मुसहर समुदाय एकजुट भएर अब राजनैतिक बार्गेनिड. गर्न बाध्यभएको स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *