इन्द्रेणी पोखरीमा विरोध सभा सम्पन्न

dewan kirat
माओवादी केन्द्रका खोटाङ जिल्ला संयोजक देवान किराती ‘पृथ्वी’ कार्यक्रमलाई सम्बोधन गर्दै

माघ २६ खोटाङ,स्थानीय तह पुनः संरचना आयोगले प्रस्तावित खोटेहाङ गाउँ पालिकाको केन्द्र इन्द्रेणी पोखरीलाई नबनाएको भन्दै आज इन्द्रेणी पोखरीमा विरोध सभा आयोजना गरिएको छ ।

नेकपा माओवादी केन्द्रका खोटाङ जिल्ला संयोजक देवान किराती ‘पृथ्वी’ को प्रमुख आतिथ्यतामा सम्पन्न सभामा इन्द्रेणी पोखरीसँगै सिम्पानी, लिच्कीराम्चे, चिप्रिङ लगायत गाउँ विकास समितिका नागरिकहरुको वृहत सहभागिता रहेको थियो ।

कार्यक्रमलाई संवोधन गर्दै प्रमुख अतिथि किरातीले विगतमा सङ्घीयता नचाहने शक्तिमा संलग्न व्यक्ति नै अहिले आएर आफ्नै आँगनलाई गाउँ पालिकाको केन्द्र बनाउन अलोकतान्त्रिक तरिकाले चलिरहेको आरोप लगाए । किरातीले अगाडि भने,”अलोकतान्त्रिक तवरबाट आयोगलाई प्रभावित पार्न सकिए पनि जनतालाई सबै कुरा स्पष्ट भैसकेको छ” ।

यसैगरी इन्द्रेणी पोखरीका निवर्तमान गाविस अध्यक्ष प्रदिप राईले अहिले शक्तिमा रहेका केही ब्यक्तिहरुको अलोकतान्त्रिक चलखेलको कारण स्थानीय तह पुनः संरचना आयोगले स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिको सुझाव विपरित निर्णय लिएको लिएको भन्दै,शक्तिमा छु भन्दैमा अलोकतान्त्रिक गतिविधिमा संलग्न नहुन चेतावनी दिए । राईले अगाडि थपे, “शक्तिमा छु भन्दैमा अलोकतान्त्रिक गतिविधिमा संलग्न हुने ब्यक्तिहरु भोली भस्माशुर दैंत्य जस्तै आफ्नै शक्तिले आफै भस्म हुन पनि सक्छ” ।

कार्यक्रमलाई सम्बोधन गर्दै सिम्पानी गाविसका निवर्तमान अध्यक्ष दीपवहादुर थापाले अहिलेको लँडाई कुनै गाउँप्रति होइन स्थानीय तह पुनः संरचना आयोगले सरकारलाई पठाएको सुझावप्रति हो भने ।

यसैगरी नयाँ शक्ति नेपालका अभियन्ता ईन्द्र नारथुङेले आफू जन्मिएको ठाउँ भएको हुनाले इन्द्रेणी पोखरीलाई प्रस्तावित खोटेहाङ गाउँ पालिकाको केन्द्र माग गरेको नभै, यस ठाउँको भूगोल व्यवस्थित शहरीकरण गर्न सकिने ठाउँ भएकोले इन्द्रेणी पोखरी नै केन्द्र हुनुपर्छ भन्ने जिकिर गरे ।

नेपाली काँग्रेस क्षेत्रीय सदस्य तारानाथ भट्टराईको अध्यक्षतामा सम्पन्न भेलामा लिच्किराम्चे गाउँ विकास समितिका इन्द्रबहादुर राई, चिप्रिङ गाउँ विकास समितिका भवि राई, सिम्पानी गाउँ विकास समितिका लोकेन्द्र खड्का, इन्द्रेणी पोखरी गाविसका सतवहादुर खत्री लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

स्मरण रहोस्, स्थानीय तह पुनः संरचना आयोगले सरकारलाई सुझाव बुझाएपछि यस क्षेत्रका नागरिकहरु चरणवद्ध आन्दोलनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *