इयुले जेरुसलेमलाई इजरेली राजधानी नमान्ने

काठमाडौ – जेरुसलेमलाई इजरेलको राजधानीको रुपमा मान्यता दिने अमेरिकी निर्णयका विषयमा इजरेली प्रधानमन्त्री र युरोपेली संघकी विदेशनीति प्रमुखले सार्वजनिक रुपमा नै आआफ्नो मतभिन्नता व्यक्त गरेका छन्।

युरोपेली संघकी विदेश नीति प्रमुख फेडेरिका मोगेरिनीले गत हप्ता अमेरिकी राष्ट्रपति ट्रम्पले घोषणा गरेको जस्तो गरी जेरुसलेमलाई इजरेलको राजधानीको रुपमा उक्त गठबन्धनले मान्यता नदिनेमा जोड दिएकी छन्। तर इजरेली प्रधानमन्त्री नेतन्याहूले अमेरिकाको निर्णय ‘वास्तविकता’को सम्मान भएको भन्दै इयुले पनि वाशिंगटनकै उदाहरणलाई अनुसरण गर्ने आफूले विश्वास लिएको बताए। उनी वार्ताका लागि ब्रसल्समा छन्।

बीस वर्षभन्दा बढी समयमा सो शहर भ्रमण गर्ने उनी पहिलो इजरेली प्रधानमन्त्री बनेका छन्। तर युरोपेली संघकी विदेश नीति प्रमुख फेडेरिका मोगेरिनीले इजरेलको राजधानीका सम्बन्धमा उक्त गठबन्धनको धारणमा कुनै परिवर्तन नभएको बताएकी छिन्।

ब्रसल्स
उनी ब्रसल्समा इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूसंगै उभिएर बोल्दै थिइन्। उनको भनाईलाई चेक रिपब्लीकले पनि समर्थन गरेको छ।

इजरेलको निकटम इयु साझेदार भएतापनि सो देशका विदेशमन्त्रीले राष्ट्रपति ट्रम्पको गत हप्ताको घोषणालाई एकपक्षिय कदम भन्दै त्यसबाट तनावमा कुनै कमी नआउने बताएका छन्।

ब्रसल्समा पुगेपछि नेतन्याहूले अमेरिकी घोषणालाई स्वागत गर्दै जेरुसलेम शहर गत ३ हजार वर्षदेखि यहुदीहरुको राजधानी भएको र राष्ट्रपति ट्रम्पले वास्तविक तथ्यलाई सबैका सामु उजागर गरिदिएको बताएका थिए।
तर मोगेरिनीले युरोपेली संघले जेरुसलेमका सम्बन्धमा जे जस्तो अन्तर्राष्ट्रिय सहमति बनेको छ त्यसैलाई मान्यता दिन जारी राख्‍ने बताएकी थिइन्।

एक्लो
इजरेल र प्यालेष्टिनीहरुबीचको निकै संवेदनशील मुद्दामा डोनल्ड ट्रम्पले चालेको कदमले अमेरिकालाई एक्लो पारिदिएको छ।
जेरुसलेमलाई इजरेली राजधानीको मान्यता दिने अमेरिकी घोषणा विरुद्ध उक्त क्षेत्रमा विरोध प्रदर्शन जारी रहेको छ। वेस्ट ब्यांकमा दर्जनौं प्यालेष्टिनी प्रदर्शनकारीहरुले इजरेली सैनिकहरुमाथि ढुंगा प्रहार गरेका थिए।
तेहरान र बेरुतमा पनि विरोध प्रदर्शनका लागि आह्वानहरु भएका छन्।

Source: BBC Nepali

Leave a Reply

Your email address will not be published. Required fields are marked *