एक्लै हिड्नुको बेफाईदा (यात्रा संस्मरण): जानु काम्बाङ् लिङ्ग्देन

यात्रा संस्मरण
एक्लै हिड्नुको बेफाईदा amrita janu kambang
————————————
काठमाडौको  चिसो  सुरु  भैसकेको  छ ! छेउमा अमृता थरथर  कापी  रहेकिछे बिचरी  म  नेपाल आएदेखि उसलाई फुर्सद छैन । म  संग  घुमफिर, खाना  पकाएर  खुलाउ यसै  व्यस्त । उसले हिजै एयरपोर्ट  आएर  खादा  ओढाईवरि अंकमाल गर्दै रुन्च्चे  स्वरले  बाई  दिज्यु  भनेकी  थिई |  तर उनको   आँखा  भरि  ताल  जमेको  आँशु  सुक्न नपाउदै म फर्केर आईपुगें ।
आज मंसिर १० गते,  यतिखेर  म हंगकंग  पुग्नु पर्थ्यो । तर म अझै नेपालमै छु । सोचाईले  मन अमिलो भएर कागती झैं निचोरिएको छ।मान्छेको जिवनमा समय कति महप्त्वपूर्ण हुन्छ त्यो बुझेर पनि मेरो आफ्नै लापरबाहीले जहाज छुटेको थियो ।

अम्रितासंग बिदा भएर भित्र पस्दा जेट एयरको काउन्टर बन्द भएको ५ मिनेट मात्र भएको थियो ।मलाई एकजना कर्मचारीले भने अनुसार,जहाज आईपुगेकै थिएन । उड्न डेढ घण्टा बाँकी थियो तर पनि  बोडीइङ्ग काउन्टर  बन्द भएको भनेर मलाई लिन मानेनन् । म अतलिएर यता र उता दौडन लागेँ।एकजना पुलिसले जेट एयरको अफिस देखायो,म भित्र पसेर लाख बिन्ति गरें तर दिएनन् ।  काठमान्डूको   त्रिभुवन   बिमानस्थल   जम्मै अँध्यारो भयो, पानी हावा हुण्डरी नै चल्यो, हिजो सम्म  रमाईलो  लाग्ने  आफ्नै  देशको  एयरपोर्ट आज  खल्लो  नमिठो  लाग्यो ।  एकछिन  थ्याच्चै  बेन्चिमा बसेर  धनबिर  भाईलाई फोन  गर्न थालें । भाईले फोन उठाएपछि  हंगकंग  जानु छ  भाई  तर  ढिलो  भयो  भने  आजै  नभएपनि  भोलि  नत्र  उताबाट  यूके  पुग्ने  मेरो  क्याथे पेसिफिकको फ्लाइट पनि छुट्छ ?  एकैसासमा सबै  कुरोको बेली  विस्तार  लगाएँ ।  भाईले पनि अतालिन्दै भएभरको फ्लाईट चेक गरेर भन्यो । हंगकंगको लागि डारेक्ट फ्लाईट  जम्मा २  वटा छन्  आर.एन.एसी र  ड्राईगन दुबैमा दुई दिनसम्मको लागि सिट छैन र पैसा पनि महँगो छ भन्नु भो । म जिल्ल परें कारण पैसा सब सकेको थियो अब चाहिंदैन भनेर भएको थोरै पैसा पनि खर्च गरिसकेकी थिएँ । मैले फेरि ट्रान्जिट हुँदै जाने भएपनि हुन्छ भनि चेक गर्न लगाएँ । केहीछिनमा उसले फेरि कल गरेर भन्यो मलेसियाबाट जाने छ दिदी ३८ हजार लाग्छ तपाईलाई भोलि दिउसो हंगकंग पुर्याउछ । एकमनले जाऊँ लाग्यो कारण हंगकंगमा फर्किंदा लान्छु भनि केहि सुनका गहना र पठाउँनि सामानहरु किनेर छाडेकी थिएँ । हुन्छ भाई मलाई मलेसिया हुँदै जान रमाईलो पनि लाग्छ काटी दिनुस भनेर फोन राखेँ अनि अमृतालाई फोन गरेर यहाँ केहि फोन कलबाट  सोधपुछ गर्दैछु एकछिन पर्ख है  भने ।   बास्तबमै मलाई बाहिर सबैसंग बिदा मागेर हिडेकोले फर्केर जानै मन लागेको थिएन ।

म बेन्चिमा बसेर घोरिन लागेँ …उपायहरु मेरो सामु मनमा बत्तीझै बल्दै निभ्दै गर्न लागे । फेरि फोन उठाएँ धनबिर भाई थियो उसले भन्यो मेरो पासपोर्टले गर्दा टिकेट काट्न यु.एस. डलर चाहिने भो ..र हाल देशमा डलर अभाब रहेकोले मुस्किल भएको कुरो बताएपछि त्यो आशा पनि माया मारें ! म बाहिर निस्केर ट्याक्सी चढेर अम्रिता संग मैतीदेबी उसको कोठामा पुग्यौं ! समान राखेर लाजिम्पार्ट जेट एयरको मेन अफिस दौडीयौ । घडीमा ४.१५ भैसकेको थियो, अफिस ५ बजे सम्म मात्र खुल्छ भनेका थिए एयरपार्ट बाट फोन गर्दा । बिहान एयरपोर्ट जाँदाको जस्तै जाम थियो बाटो अतालेर होला सरिर पुरै तातियो दिसा लागे जस्तो घरि पिसाब लागे जस्तो विटुङ्गोको कस्तो कस्तो भयो ।

सायद अमृताले मेरो अनुहार पढ्यो क्यारे ..दाई यो बाटो त पुगिन् जस्तो छ घुमाएर अर्को बाटो लानुस न हुन्न ? उपाय र आग्रह दुवै मिसाएर ड्राईभरलाई भन्यो । ड्राईभरले साङ्घुरोमा टेक्सी बल्लैले फर्काएर अर्को बाटोबाट हुईक्यायो काठमान्डूमा हुईकाउनु नि के र कुदायो । जता हेर्यो उतै भिड र जाम ..पेटी भरि हिड्ने मान्छेको ताँती, यस्तै पारा रह्यो भने एकदिन काठमान्डू पड्किने निश्चित जस्तो लाग्छ । गाडी र मोटर साईकल यति कुद्छन् बाटो काट्ने ठाउ र चान्स नै पाईन्दैन । बल्लैले लाजिम्पाट सिटि बिल्डिंग पुग्यौं अमृतालाई ट्याक्सीको पैसा तिर्न लगाई राखेर म दौडिएँ । ढोका खोलेर भित्र पसें अफिसमा दुई जना मान्छे बसेका देखेर सोधें भाई यो जेट एयरको अफिस हो ? भित्ताको दार्ही वाल बोलेन छेउको भर्खरको सिकुटोले भन्यो होइन दिदी यहाबाट निस्केर देब्रे मोडिनुस अनि एउटा ठुलो गेट आउछ त्यसको भित्र हो ।

स्वा स्वा ..गर्दै धन्यबाद दिएर निस्किएँ । अमृता पनि ट्याक्सीलाई बिदा दिएर आउदै थिई, भन्यो के भो दिज्यु ? अफिस भेटिएन ? होइन रंग अफिसमा पसेछु पल्लो साईटमा पो रहेछ ..भनेर हामी दुवै संगै गयौं । अफिस निकै भिड थियो म लाईनमा बसें । म भन्दा अगाडी एक जापानिज केटि थिई उ पछि म ..भने अर्को साईटमा एक आर्यन महिला थिईन् । अमृता वाईटिंग सोफामा बसेर मलाई कुर्न थालिन् उसको छेउमा एकजना भर्खरको केटा हातमा हरियो २ पासपोर्ट बोकेर निदाई रहेको थियो । हेर्दा लाग्थ्यो गाउमा आमाको गहना बेचेर श्रीमतीको रहर किन्न विदेश हिडेको हो । ऊ यस्तरी निदाएको थियो कि कुम्भकर्ण जस्तो ६ महिना देखि अनिन्दै छ ! उसको मुखबाट निस्केको रक्सीको नमिठो गन्धले होला छेउमा बस्ने अमृताले मुखमा लागाएको माक्स खोलेकै थिएन । मेरो पालो आयो पासपोर्ट र टिकेट दिएर मेरो समस्याको बिर्को खोल्न थाल्दै थिएँ मेरो स्वर बाटै चिनिहाल्यो कर्मचारीले ..अघि एयरपोर्ट बाट फोन गर्ने दिदी होइन ? मैले हो भने पछि कम्प्युटरमा चेक गरेर भन्यो यदि म हंगकंग हुँदै जानेभए मेरो पुरानै टिकटमा ३१ हजार थप्नु पर्यो र त्यसलाई छाडेर नयाँ टिकेट काटेर यूके जाने भए ३५ हजार ७ सय २७ रुपैयाँ लाग्नेछ । सोचें हंगकंग हुँदै जाऊँ फेरि मेरो हंगकंग टू युकेको प्लेन पनि छुट्ने हो की ? तै पनि एक पल्ट यूके कल गरेर सोध्छु भन्ने लागेर कल गरें ..न छोरा न श्रीमान फोन कसैले उठाएँनन् | एकैछिनमा अमृताको छेउको केटा त्यहा थिएन तर उसले हातमा बोकेको २ ओटा पासपोर्ट उसैको नाम थर र ठेगाना बोकेर लडी रहेका थिए । अमृताले टिपेर काउन्टरमा बुझायो । अनि दिक्क मान्दै यूके नै फिर्ने टिकेट मिलाएर अमृता र म हिड्दै मैतीदेबी फर्कियौं |

दिन ढली सकेको थियो । लाजिम्पाट पनि अरु ठाउ जस्तै परिबर्तन भएर झिलिमिली थियो, बाटो भर ठुल्ठुल्ला महल सुपर मार्केट, हुस्की, रम र बियरका ठुल्ठुला दोकान हेर्दै दरबार मार्ग पुग्यौं । नारायण हिटी राज दरबारको कम्पाउण्ड नियाल्दै निकैबेर हिडेपछि एउटा मिठाई पसलमा पुग्यौं । मैले भने अमृता यो दोकानमा पसेर भक्कु मिठाई खाउँ ? उसले भनि किन दिज्यु ? भोक लाग्यो ? होइन आज सारै मन र दिमाग तितो भो गुलियो खाएर भुलाउन पर्यो मैले भनें । पस्न त पसियो तर खासै खाउँ लाग्ने केहि देखिन अन्त्यमा मैले एउटा सिङ्गडा खाएँ अमृताले पानी पुरी । त्यति खाँदा १४० रु भएछ तिरेर
बाटो लाग्यौं |

गाडीहरुले गुड्दा उडाएको काठमान्डूको धुँवा र धुलोको सिरक ओढेर हरेक घर र बिल्डिंगहरु अनिदो बसेंझै देखिन्थ्यो । थकान र भोकले लखतरान भएर होला सारै हिड्ने आँट त थिएन तर पनि अमृताले हिडेरै जाऊँ दिज्यु नजिकै छ भनेकोले म लुखुर लुखुर उसलाई पछ्याईरहे । साँझ निकै झमक्क पर्दा मात्र कोठा पुग्यौं ! रेवत राई लगायत केहि गायक गायिकाहरु मलाई भेट्न आउने कुरो भएकोले केही जूस र खाने कुरोहरु किनेर माथि उक्लियौं |

कोठा पुगेपछि, म ढल्कें अमृता खाना बनाउन लागिन् ! पल्लो कोठाको सुष्मा बहिनी आएकी थीइन पुरै फ्लाईट सुनसान लाग्थ्यो सुष्मा नहुँदा ! लाजिम्पाट बाट ल्याएको हरियो तरकारीहरु काट कुट गर्दै खाना बनाउन लागिन् अमृता । मलाई सघाउन त मन लाग्यो तर, फ़ेरि तेल भन्दा महँगो पानीको बर्बाद म काम गर्न थालें भने । एकछिन पछि रेवत भाई आईपुग्नु भो एकछिन कुराकानी पछि एक गिलास ग्वाभा (अम्बक ) को जुस पिउदै फोटो खिचेर हिड्नु भो ..मैले भने ! होइन भाई यस्तो हालतमा के खिच्नु होला र फोटो ? होईट नाना..तपाईसंग फोटो खिचेन भने भेटेको अर्थ नै रहँदैन अचेल त ! हाहाहा….मन भरि फ्लाईट छुट्नुको चिन्ता बोकेर भएपनि म ठुलो हासें ,,,हाम्रो सबैको हाँसो ठोक्किएर एकछिन अमृताको सानो कोठा रंगमंच झैं भयो |

रेवत हिडे लगत्तै गायक तथा रेकडिस्ट दिप घोतानी भाई आईपुग्यो तर ऊ हतार भएकोले तलामुनी नै एकछिन भेटेर उभि उभि सेल्फी फोटो खिचेर छुट्नु भो…म माथि चढें अनि खाना खाएर नेपाली टाईमको क्लक अम्रितासंग नभएकोले, मेरो मोबाईलमा युके टाईम रातको ९ बजेको अलाराम लगाएर पल्टिएँ किनकि बिहान ३ बजे उठेर ५ बजे एयरपोर्ट पुग्नु थियो । उठिन्दैन कि भन्ने चिन्ताले होला निन्द्रा लागेन बल्ल तल्ल निदाउथे घरि घरि ब्युझिंथे ..कुखुरे निन्द्रा सुतेर ३ बजे उठें ..बिचरा अमृता मस्त निन्द्रामा थिइन् । सधैं पनि राति अबेला निदाएर बिहान अबेर उठ्ने बानी सारै माया लाग्यो उठाईन । चुपचाप म पाईखना गएँ, मुख धुएं अनि तयार भएर तातो पानि तताएर पिएँ अनि मात्र उठाएँ त्यो बेला साँढे ४ बजेको थियो |

बेलुकी नै ट्याक्सी बन्दोबस्त गरेर सुतेको हुनाले टेक्सिको चिन्ता भने थिएन । सुटकेस बोकेर तल ओर्लिएँ ट्याक्सी आएर बसिरहेको थियो, अमृतालाई नजाऊ भनेको मानेन सो दुवै हिड्यौ ।
मैतीदेबि बाट बिहान बाटो खालि भएर होला १५ मिनट पनि लागेन एरपोर्ट पुग्न …अघिल्लो दिनको कुरो सम्झेर मन मनै पछुतो लाग्यो । मलाई संगीतकार तथा गायक तारा प्रकाश भाईले त भनेकै थियो । दिदी तपाईको घरसम्म पुगेर भारि तारी लिएर हिड्नु भनेको समय खेर फाल्नु हो, अगाडिनै अमृताको मै सामान ल्याएर राख्नुस ! भाईको यो भनाईले मन नराम्रो गरि घोच्यो । तर के गर्नु हुनु नहुनु भै त सक्यो सोचेर चित् बुझाएँ |

चाडै एयरपोर्ट पुगेकोले दह्रो बसाई मच्चियो, अमृतालाई सबेरै ट्याक्सी नपाउलाकी भनेर सोहि टेक्सीमा फर्काएँ । हेर्दा हेर्दै ५ बज्यो खोलिएन ढोका, तर मान्छेको हुल भने बढिरह्यो। बाहिर धमिलो हुस्सु थियो ..डिपाचर द्वार A मा देशका युवाहरु लामबद्ध थिए भने B साईटमा हामी जस्ता र म जस्ता यात्रीहरु थियौं । हेर्दा बिरक्त लाग्नेगरी श्रीमान श्रीमतीहरु अंगालोमा कस्सिएर रुईरहेका थिए । कत्रो-कत्रो थोपा विरहको आँशु झार्दै सपानाको कुम्लो मनभरी बोकेर कतार, अरब, दुबई अनि मलेशिया जान लाईनमा उभ्नेहरुलाई अरुझैं बन्द बक्समा नफर्किनु है तपाईहरु चाही भन्दै कामना गरिरहें ….छेउमा चखेवाको जोडी जस्तै गुनगुन गर्दै एक युगल जोडी उभिएर एक अर्कालाई चाडै भेट्ने बाचा गरिरहेको सुने अनि छि….मान्छेको मन कति पापी कस्तो कुरा सोच्या होला ?? मैले आफैलाई गालि गरें धिक्कारें अनि ती केहि मिनटमा छुट्टी जाने मायालु जोडीलाइ त्यहि छाडी म द्वार नम्बर B साइट्तिर लागेँ ।

न कर्मचारी आउछन् न द्वार खोलिन्छ टिकटमा भनिएको समय ५ बजे बितेर १ घण्टा अघि दौडी सकेको थियो । अघिल्लो दिन ५ मिनट ढिलो हुँदा बन्द हुने काउन्टर र कर्मचारीलाई मन मनै सराप्दै ओहोरदोहोर गर्न थालें, मेरो अघि बेलायतमा मैले देखेका बृद्ध बृद्धा जस्ताहरु लामबद्ध थिए । सोचें सायद बेलायत हिड्या होलान् ! सब भन्दा छिट्टो पुग्ने यात्री म द्वार नम्बर A तिर डुली हिड्दा आफ्नो द्वार नम्बर B को लाईनमा पछि परि सकेको रहेछु । म पुरै २१ जनाको पछि गएर उभिएँ ..हेर्दा हेर्दै ६.३० बज्यो ढोका खोलिएन । मेरो पछाडी एक गाडी गोरा गोरिनीहरु ओर्लिएर लाईनमा उभिए एक जना सुट बुटमा सजिएको मान्छे थियो । सायद कुनै होटल या ट्राभल एजेन्सीबाट, सी अप गर्न आएको हुनु पर्छ । अंग्रेजी राम्रो बोल्थ्यो । मेरो अघिका पाका पाकि बिचको मायालू व्यवहार हेरेर एकोहोरिएको म फेरि सुटबुटमा आएका नेपाली मान्छे र रफ ड्रेसमा हिडेका गोरा गोरेनी बिचको ब्यबहारले मलाई एक रमाईलो रमिते बनायो । ६.४० तिर एउटा लिखुरे पुलिस र अधबैंसे कर्मचारी आएर सिशाको ढोका खोले । म आफ्नो ट्रली मात्र गुडाउन लाग्दै थिएँ …त्यो सुटबुट्को मान्छेले आफ्नो पर्देशिहरुलाई कर्मचारी र पुलिसको सहारा लिएर अघि लगारी हाल्यो …मेरो अघि रहेका बृद्ध बृद्धा र म हेरेको हेर्यै भयौं । जाडो उस्तै थियो । नरमाईलो लाग्यो केहि बोल्न पनि सकिन…किन कि त्यहाँ हामी नेपालीको पालो मिच्ने नेपालीनै थियो ! खुकुरी पनि आफ्नै अचानो पनि आफ्नै के बोल्नु जस्तो लाग्यो । म भन्दा पछि आएका २ जना इण्डियनहरु भने कराउन थाले आफ्नै भाषामा ! हामी अघि हुनुपर्नेहरु पछि लागेर भित्र छिर्यौँ । मेसिनमा पुगेर सामन झोला ईत्यगरम छिराएर म पनि छिरें ..पुलिसनी बहिनीले मेरो जम्मै सरिर छामछाम छुम्छुम गरिसकेर निकै ठुलै स्वरले झर्केर जानूस …भनिन् । बिचरा मेरो ब्याग र हेनक्यारी सानो सुरुङ्ग मार्ग हुँदै पारि तरेर मलाई कुरिरहेका थिए, पहिले तानेर बूट लगाएँ अनि सुटकेस ट्रलीमा राखेर सबैलाई जित्दै काउन्टर को अघि लाईनमा उभिएँ |

उभ्दा उभ्दा ७.१५ भैसक्यो कर्मचारी आउदैनन् । बल्लैले एउटा फुच्चे केटा आएर जेट एयर लेखेको देखिने गरि बिजुली बत्ति बालेर गायव भयो । पुरै ७ बजेपछि केहि कर्मचारी आएर बल्ल समान तौलाउदै बोडीङ्ग पास् बाड्न थाले ..हाम्रो टिकटमा ८.२५ को उडान भनिएपनि काउन्टर ७ बजेतिर मात्र खोलिएको देखेर मलाई अघिल्लो दिनको जम्मै रिस छताछुल्ल पोख्न मन लाग्यो तर के गर्नु बितेको कुरा झनै हानिकारक हुने, अघिल्लो साल म नेपाल आउदा यहि एयरपोर्टमा सुटकेश लिन आउदा एकजना दिदीले ..नेपालको कर्मचारी भतुवा चोर खान नपाएर पैसा झर्छ कि भनेर निहू खोज्छन् भनेको सम्झे ..त्यो बेला मैले त्यो दिदीलाई गलत सम्झेको थिएँ तर आज आफैलाई पर्दा उसलाई बाडुली लाग्ने गरि सम्झें मैले । बल्लतल्ल समान जिम्मा लगाएर बोडीङ्ग पास् र पासपोर्ट चापी माथी उक्लिएँ । प्रस्थान र आगमन लेखेको चिट भर्ने ठाउमा द्वार नम्बर A र B दुबैको भेला भएर होला निक्कै खचाखच थियो,कतिले लेख्ने कलम सम्म नबोकी हिड्या रैछन् एकजना भाईले मलाई माग्यो म संग ३ वटा रैछ ब्यागमा एउटा दिएर छिर्ने लाईनमा उभिएँ ।

भित्र छिरेर रु ३५० मा १ कप ब्लाक कफी किनेर त्रिभूवन बिमानस्थलको अन्तिम लाईनमा उभिएँ । त्यसपछि मात्र प्लेन चढ्ने प्रतीक्षालयमा पुगिन्थ्यो । मेरो अघि लाईन लाग्ने बाबा आमाहरुलाई त्यहाँ पनि भेटें । त्यो अन्तिम मेसिन बाट झोला ज्याकेट बूट सबै सबै छिराउदै हामी आ-आफ्नै प्रतिक्षालयमा पुगेर बस्यौँ । निकैबेर पछि पालैपालो एनाउन्स भयो बा-आमाहरु कतार एयर तिर लागे म जेट एयर बाट दिल्ली तर्फ़ लागें ।

प्लेन चढेर पनि पुरै १ घण्टा पछि मात्र उडायो ..मेरो बेलायत जाने प्लेन छुट्ने हो की भन्ने चिन्ताले मन पिरोलीरह्यो । तर पनि ट्रान्जिट्को बारे सोचेरै उडाउलान् नी भन्ने एउटा उज्यालो दीप बालेर बिथोलिएको मन छेउकुना सेक्दै बसिरहें । ९.१५ बजेतिर बल्ल नेपालको भुई छाडियो । जे जस्तो भएपनि आफ्नो देश र आफ्ना आफन्त छाड्दाको नमिठो पिडाले छाती कोक्याईरह्यो जति माथी उड्थ्यो उती उती हात खुट्टा चिसिंथ्यो !
मेरो सिट १७ A झ्यालको थियो । बिचमा एउटी गोरेनी परेकी थिई,,उनि पुरै नेपाली ढाका लुगामा सजिएकी थिइन् हेर्दा उसले र मैले लुगा साटेर लगाएको जस्तै देखिन्थ्यो । वल्लो छेउमा लामो लामो दाह्री जुँगा भएको एउटा इण्डियाको मान्छे बसेको थियो । साथमा आई प्याट लिएर उसैको प्रधानमन्त्री मोदीको भाषण हेर्दै बस्थ्यो । ३ सिटमा ३ देशको ३ थरी मान्छे बसेर उड्दै थियौँ ।

न्यु दिल्ली पुग्दा त्यहाको लोकल टाईम १० बजेको थियो । ओर्लेर ट्रान्जिट्को गेट ३ तर्फ़ लागेँ ! मेरो लागि दिल्ली ट्रान्जिट नौलो थिएन तेसैले खुरुखुरु सुरुमै पुगेँ एकजना कर्मचारी लण्डन जेट एयर यता यता भन्दै कराउदै थियो म त्यहिँ गएर उभिएँ ..मेरो पालो आयो काउन्टरको मान्छेले मेरो पासपोर्ट हेर्दै नचाहिँदो प्रश्न गर्न थाल्यो,कतै नभएको पारो तातियो तर अर्काको देश चुपै लागेर सोधेको उतर दिनुनै बेटर सम्झें र त्यसै गरें । पहिले सोध्यो यूके बसेको कति भो ? मैले भने 11 वर्ष भो ,फेरि सोध्यो युके कुन ठाउमा बस्छस ? मैले भने अक्सफोर्ड, फेरि सोध्यो नेपाल जानुको कारण ? मैले भने, फेमली भिजिट ! मेरो उतरले नअघाएर हो या जानी जानी दुख दिनुलाई हो बोडीङ्ग पासमा छापनै नलगाई दिएछ । अन्तिम चेकिङ्ग्मा पुगेपछि थाहा पाएँ ..फेरि फर्केर त्यहि पुगी छाप लगाउन लगाएँ ।
चेकिङ्ग पछि माथी डिपाचरको फ्लोरमा उक्लिएँ सुचना बोर्डमा लन्डन हित्रोह जाने जेट एयर cw १२२ को गेट नम्बर ३ A भनेर दिएको थियो । म संग समय
२ घण्टा  जति  थियो । हेन  क्यारी तान्दै  ट्वाइलेट गएँ  मलाई देखेर ट्वाइलेट  सफा गर्ने महिलाले रुमाल झिकेर ट्वाइलेट बस्ने सिट पुछपाछ गरिदियो । ऊ अरु ठाउको जस्तो मरंच्यांसी नभएर हर्ताकर्ता नै थिईन् । सकेर हिड्ने बेला माया लागेर अस्ति नेपाल आउदा चिया किनी खाँदा फिर्ता आएको भारु २० रुपैया थियो निकालेर दिएँ पैसा पाएर उनि खुशी भईन् |

हिड्दा हिड्दा लखतरान भएर गेट नम्बर ३ मा पुगेर मोबाईल चार्ज गर्ने प्लग खोजेर बसें । अगाडिको टि.भी स्क्रिनमा प्रधानमन्त्री मोदीको न्युज आईरहेको थियो । पन्जाबको मुख्यमन्त्रि ड्रग्स ब्यापारी रहेको कुरा खुलासा भएको सनसनी खबरहरुको छलफल चलिरहेको थियो । हेर्दै एकछिन बसें तर इन्डियाको न्युज दोहोरि रहने बिषयलाई धेरै बेर नियाल्न मन लागेन सो ब्यागमा यो पालिको मदन पुरस्कार प्राप्त कथा संग्रह ऐना निकालेर पढ्न थालें ।
सुरुका केहि सुभकामना पढेपछि भित्र को एउटा सुदुर पस्क्षिमको व्यथा बोकेको कथा चिल् गाडी पढें । कथा रमाईलो थियो त्यहाको पात्रले आफुले मन पराएको रुपा नामको केटीलाई आफ्नो बनाउन नपाउदाको पिडा छुट्टै थियो भने हाल नेपालमा आफ्ना उमेरदार श्रीमतीहरु छाडेर बिदेशीने दाजु भाईहरुको स्वस्निहरुको प्यासी यौबनलाई उधृत गरिएको थियो ।

किताब हेर्दा हेर्दै निन्द्रा लाग्ने बानीले त्यहाँ पनि झकझकायो एक्लै थिएँ निदाउँ भने समान हराउने डर थियो । एकछिन आँखालाई चारै तिर डुलाए पेसेन्जर जम्मा हुँदै थिए । केहीबेर पछि मेरो छेउमा एकजना क्षेत्रि बाहुन जस्तो देखिने २५,३० को जस्तो देखिने सिकुटे सिकुटे मान्छे मेरो छेउमा आएर बस्यो म फोन चार्ज गर्ने खम्बा तिरै फर्किएर किताबमा आँखा टंसाएर नदेखे झैं गर्दै बसिरहें । उसले म संग बोल्ने बहाना खोजिरह्यो मैले नहेरेरै पनि उसको नियतलाई महसुस गरिरहें । अरुसंग बिना काममा बोल्ने बहाना खोज्ने मान्छे संग एलर्जी नै हुन्छ मलाई । त्यसैले चुपचाप किताबमा आँखा जोतेर बसिरहें तर त्यो मान्छेको म संग बोल्ने नियतलाई मेरो किताब र आँखा दुबैले छेक्न सकेन अखिरमा बोलेरै छाड्यो । उसले कोइलीको आवाजमा आफ्नो बोलि मिठो पार्दै सोध्यो अप काहाँ से है ? जबर्जस्तीको बोली ओकलेर मै नेपाल से हुँ भने ! ओह ! आप लन्डन जा रही है ? अर्को प्रश्न सडेको पानको गन्ध संगै तेर्सायो । मैले पनि हरी बंशे ईन्लीसमा यस भनेर किताबतिर आँखा गाड्न थालें । आरे वहा…क्या सन्जोग है, मै भी तो लन्डन हि जा रहा हुँ भन्नु थाल्यो । मलाई बोल्ने मनै थिएन बिनासित्ती किताबको पानाहरु फर्फराई रहें ताकि उसले पढ्दै छ डिस्ट्ब गर्दिन भनोस भनेर । तर जतिनै पढेको बहाना गर्दा पनि ऊ बोल्नु छाडेन बरु उल्टै मेरो प्रसंसा गर्न लाग्यो । म सारै राम्री रे मोडल जस्ती रे उसको पनि थुप्रै नेपाली साथीहरु इन्डिया पुनामा छन् रे तर म जति राम्री देखेको थिएन रे उफ्फ्फ़….के के हो के के ..दिक्क लागेपछि, सरि म ट्वाइलेट जान्छु भनि उठेर सुटकेस तान्दै हिडें ।

ट्वाइलेट नै नलागे पनि पसे जस्तो गरें ..एकछिन भुलेर निक्लिंदा बोडीङ्ग सुरु भैसकेको थियो । मान्छे मान्छे उभिएर बनेको लामो रेल गाडी जस्तो लाईनमा म पनि उभिएँ, मेरो पछि अरु थपिंदै थपिंदै लाईन झन् झन् तन्किन्दै थियो । सुस्तरी एउटा आवाज सुने आपका सिटका नम्बर कितना है ? फर्केर हेरें उही मान्छे आएर मेरै पछि उभिएको थियो । मेरा तो ३७ F है उसले प्रस्नमै उतर पनि दियो ! म बोलेकै थीइन रिसले पारो तात्तिएर आयो । आफ्नो सिट नम्बर त्यसले सोधेपछि बल्ल हेरें ३७ A रहेछ । तर त्यसलाई देखाउन मन लागेन र देखाईन । कन्सिरी झनन्न भयो ..सरिरका रौँ ठाडा भए निधार झनन्न भयो, रिसको राग त्यतिबेला महसुस गरें ।

बोडीङ्ग पास सो गरेपछि म खुरुखुरु आफ्नो ३७ A झ्यालको सिटमा बसें ! तेस्को सिट बिचको लामो ४ सिट भन्दा पारीको झ्यालको सिट रहेछ बल्ल छुटकारा पाएँ त्यो दिक्क लाग्ने मान्छे संग । म संग १ सुन्दर मायालु ढुकुर जस्तो ब्रिटिश जोडी परेको थियो म झ्यालमा बिचमा श्रीमती उता बाटो पट्टि श्रीमान बसेर यात्रा आरम्भ गर्यौं । मैले त्यो बेला आफ्नो श्रीमानलाई धेरै मिस गरें, सम्झें सायद उहा हुनु भएको भए त्यो धोति भाईले मलाई त्यसरी बोलाउने हिम्मत गर्ने थिएन । अनि एक नमिठो अनुभवको तितो हाई काड्दै आफ्नो श्रीमान बिना एक्लै हिड्नुको बेफाईदा महसुस गरें मैले ।

जानु काम्बाङ् लिङ्ग्देन
ताप्लेजुङ् हाल बेलायत

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES