एक हप्ताभित्रै पहिलो चरणको निर्वाचनको मतपरिणाम सार्वजनिक हुन्छ : प्रमुख निर्वाचन आयुक्त यादव

काठमाडौं, ३ जेठ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले एक हप्ताभित्रै पहिलो चरणको निर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक हुने बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा प्रमुख आयुक्त यादवले एक हप्ताभित्रै सबै मतपरिणाम आईसक्ने दाबी गरेका हुन् । उनले भने,‘मतगणना भैरहेको छ, तर ढिलाई भएको चाहीँ हो, यसको प्रमुख कारण भनेको नै मतपत्र ठूलो भएर हो, अब हामी मतगणना डेस्क बढाउँछौं।’ उनका अनुसार काठमाडौं, ललितपुर, पोखरा, भरतपुर महानगरमा मतगणना डेक्स थपिनेछन् । काठमामाडौंमा मतगणना डेस्क ११ सम्म पुर्याउने उनले जानकारी दिए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै यादवले पहिलो चरणको निर्वाचन सम्पन्न भएकै साँझदेखि मतगणना कार्य सुरु भएको उल्लेख गर्दै अहिलेसम्म २५ जिल्लाको मतगणनना सकिएको बताए । यद्धपी उनले मतगणना ज्यादै ढिला नभएको स्पष्ट पारे ।

मुख्य निर्वाचन अधिकृतको अधिकारलाई आयोगले हस्तक्षेप गर्न नमिल्ने पनि उनले बताए । उनले थपे,‘कानूनी जटिलताहरुपनि छन्, आयोगले हस्तक्षेप गर्न मिल्दैन्, आयोगले माँग भएबमोजिम जनशक्ति उपलब्ध र सहयोग गर्न सक्छ, र हामी तयार छौं ।’ त्यस्तै उनले आयोगले मतगणना द्रुत गतिमा अघि बढाउनकोे लागि निर्वाचन आयोगले निर्देशन समेत दिईसकेको बताए ।

उनले भने,‘अहिले केही ढिलाई भएका छन्, तर समय लाग्दा कोही पनि आँत्तिनुहुँदैन्, २० वर्ष निर्वाचन नहुँदा चुप लागेर बस्नेहरु अहिले किन एक हप्ता धैर्य गर्न नसकेका होलान् ? मलाई त आश्चर्य लागेको छ।’ यादवले मतपरिणाम सार्वजनिक गर्नकोलागि विद्युतीय डिस्प्ले पनि राखिने तयारी भएको बताए ।

यादवले ०५४ सालको स्थानीय तहको निर्वाचनमा पनि मतपरिणाम आउन ६ दिन लागेको दरिल पेश गर्दै भने,‘०५४ सालमा भएको स्थानीय तहको निर्वाचनको सम्पूर्ण मतपरिणाम आउनको लागि ६ दिन लागेको थियो, तर अहिले त मतपत्रपनि ठूलो छ, मतदाताहरुको संख्यापनि धेरै छ, समय त लागिहाल्छ नि।’

त्यस्तै यादवले जेठ ३१ गते दोस्रो चरणको निर्वाचनमा पनि यही मतपत्र प्रयोग हुने भएकोले अहिलेको अनुभव अनुसार आफूहरुले दोस्रो चरणको निर्वाचनको मतगणना गर्ने जानकारी दिए ।

यादवले पहिलो चरणको निर्वाचनमा ७४ प्रतिशत मत खसेको र मत बदरपनि बढेको उल्लेख गर्दै भने,‘मत बदर पनि बढेको देखियो, मतबदर ५-६-७ प्रतिशतसम्म हुनसक्छ।’ उनले दोस्रो चरणको निर्वाचनको पनि काउन्टडाउन सुरु भैसकेकोेले आयोगले सबै तयारी गरिसकेको जनाए । उनले भने,‘दोस्रो चरणको निर्वाचनको काउन्टडाउन सुरु भैसक्यो, आयोगले सबै तयारी गरेको छ, मुख्य अधिकृत कार्यालय पुगिसक्नुभएको छ, निर्वाचन अधिकृतहरु जानुभएको छ, मतपत्रहरु पठाईसकेका छौं, सबै सामाग्रहीहरु पुगिसकेका छन्।’

उनले पहिलो चरणको निर्वाचनमा दलहरुको सहमति, समर्थन र उत्साहजनक सहभागिता रहेकोले निर्वाचन अत्यन्तै सफल रुपमा सम्पन्न भएको बताउँदै भने,‘दोस्रो चरणको निर्वाचनको लागि पनि दलहरुबाट यो भन्दा बढि सहयोग र समर्थन हुन्छ भन्ने आशा लिएका छौं।’ यद्धपी उनले पहिलो चरणको निर्वाचनमा केही सेक्युरिटी ल्याव्सेस भएपनि अब दोस्रो चरणको निर्वाचनमा जिल्लादेखि केन्द्रसम्म यसको राम्रो प्रबन्ध सरकारले गर्नेमा आयोग पूर्ण रुपमा विश्वस्त रहेको बताए ।

यादवले पहिलो चरणको निर्वाचनको मतगणना र दोस्रो चरणको निर्वाचनको तयारी सँगसँगै एकैसाथ आयोगले गर्ने स्प्ष्ट पारे । उनले भने,‘कुनै समस्या हुँदैन्, आयोगले एकैसाथ काम गर्छ।’

क्लबका सभापति ऋषि धमलाले पहिलो चरणको निर्वाचन भयरहित, स्वतन्त्र र निश्पक्ष रुपमा सम्पन्न गर्न सकेको भन्दै निर्वाचन आयोग र यसका प्रमुख आयुक्त यादवलाई बधाई तथा धन्यवाद दिए । उनले यही जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनको लागि पनि आयोगले सफलता पाओस र जनताको मन जित्न सकोस भन्दै शुभकामना समेत दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *