एनआरएनएमा एमआईएस सिस्टमको चरम दुरुपयोग र मनोमानी, उच्चस्तरीय छानबिनको माग

काठमाडौँ । गैरआवासीय नेपाली संघले विश्वभरका सदस्यहरुको नामावली संकलन गरिएको पोर्टल, एमआइएस सिस्टमको व्यापक दुरुपयोग भै रहेको समाचार हरु प्राप्त भएका छन्।

हरेक देशको नियम र व्यक्तिगत बिवरण सम्बन्धि कानुन विरुद्ध राष्ट्रिय समन्वय समिति (एनसीसी) हरुलाई बाध्य पारेर सदस्यहरुको विवरण एमआइएस सिस्टममा दर्ता गर्न लगाइएको थियो।

अमेरिका, अस्ट्रेलिया जस्ता ठूला एनसीसीहरुले आफ्ना सदस्यहरुको व्यक्तिगत विवरण आफ्नो छुट्टै पोर्टल बनाएर राखेका छन्। तर अधिकांश एनसीसीहरुले केन्द्रको विश्वासमा आफ्ना सदस्यहरुका विवरणहरु एमआइएस सिस्टममा दर्ता गरेका छन तर अहिले एनसीसीहरुको चुनावको क्रममा तिनको व्यापक दुरुपयोग भएका प्रमाण फेला परेका छन ।

भर्खरै बेल्जियममा भएको निर्वाचनमा निर्वाचन समितिकै केहि व्यक्ति तथा एनसीसी बेल्जियमका केहि पदाधिकारीको मिलोमतोमा सयौं सदस्यहरुको नामावली, ठेगाना लगायत व्यक्तिगत विवरणमा फेरबदल गरी चुनावलाई प्रभावित गर्ने काम भएको छ।

चुनाव कसरि गर्ने भन्ने कुरा नै अन्योलमा राखेर पहिले अनलाइन मतदान गर्ने भनेर रातारात प्रत्यक्ष मतदान गर्न लगाईएको र मतदान सुरु हुँदा भोटर लिस्टको नाममा नै अदल बदल गरेको पाईएको थियो ।

एमआइएस सिस्टममा सदस्यहरुको नाम, ठेगाना, उमेर लगायतका बिवरण नै परिवर्तन गर्दिने र कुनै समूहका मतदातालाई छानिछानी इन्भ्यालिड गरिदिने जस्ता हर्कतले संघको स्थापित मूल्य मान्यता र विश्वासमा नै ठेस लागेको पुर्व सचिब जानकी गुरुङले बताईन ।

उनले एनआरएनए बेल्जियममा मत हाल्न आएका चार सय भन्दा बढि सदस्यले मत हाल्न नपाएको जनाउदै एनआरएनए बेल्जियमले आईसिसिमा निबेदन पनि हालेको र यो तत्काल सच्याई सबै सदस्यहरुको नाम तत्काल सार्बजनिक गरि मनोपोली गर्नेलाई कारबाही गर्न माग गरिन ।

पुर्व सचिब गुरुङले एनआरएनएमा मौलाएको बिकिर्ती तत्काल अन्त्य गर्नुपर्ने माग समेत गरिन । प्रवासी नेपाली मञ्च बेल्जियमका अध्यक्ष अर्जुन दाहालले मतदान प्रकृयामा गम्भीर त्रुटिहरु देखिएको र निर्वाचनको अघिल्लो दिन करिब २०० जनाको नाम मतदाता सूचीबाट गायब पारिएको आरोप लगाएका छन ।

“मतदाता सूचीमा नाम भएको प्रमाण, सदस्यता वापतको शुल्क तिरिएको प्रमाण हुंदाहुंदै पनि मतदान गर्न नपाउनु र मतदाता सूचीबाट एकाएक नामहरु गायब हुनु गलत हो। चुनाबमा हारजित गर्नकै लागि यसरी नामहरु हटाईएको हो भने त्यो गम्भीर अपराध हो । सम्बन्धित ब्यक्तिहरुले यसको जवाफ दिनुपर्छ,” दाहालले भने ।

जनसम्पर्क समिति बेल्जियमकी सभापति सीता सापकोटाले बेल्जियमको एउटा बुथमा १५० जना भन्दा बढीको नाम रातारा हटाई एडिट गरेर नयाँ नाम थपिएको बताइन । “७ ओटा बुथमा यसरि नै हिसाब गर्नुस् कति धांधली भए होला?” उनले प्रश्न गरिन्।

मतदान केन्द्रमा तोडफोड

गैरआवासीय नेपाली संघ बेल्जियमको नयाँ कार्य समिति चयन गर्न आईतवार भएको मतदानका क्रममा एन्तवेरपेन मतदान केन्द्रमा गैर नेपाली केही युवाहरु जबर्जस्ति पसी मतपेटिका नस्ट गर्ने प्रयास गरेका थिए। उनीहरुलाई रोक्न खोज्दा भएको भीडन्तमा केहि एनआरएन सदस्यहरु घाइते भएका छन्।

नेपाली जनसम्पर्क समिति बेल्जियम, नेपाली जनप्रगतिशिल मंच बेल्जियम, नेपाली सङ्घीय समाज बेल्जियम तथा प्रवासी नेपाली एकता मंच बेल्जियमले आइतबार नै एक संयुक्त विज्ञप्ति प्रकाशित गरी उक्त घटनाको निन्दा गरेका छन् ।

“यो घट्ना घट्नुको कारण एनआरएन बेल्जियमको सदस्यता वितरण तथा नवीकरण समितिका संयोजक तिर्थ धमलाको नियोजित चरम लापरवाही, सदस्यता भैसकेका ब्यक्तिहरुलाई पनि छानी छानी हटाउने, हरेक दिन हरेक घण्टा घण्टामा फरक फरक नाम लिस्ट निकाल्ने र निर्वाचन समितिको संयोजक लगाएतले एक पक्षीय नामको मात्रै रुजु गर्ने, भएको नाम पनि छिन छिनमै विभिन्न क्षेत्रमा पार्ने, कहिले अर्कै क्षेत्रमा पार्ने काम भएकोले त्यसको निस्पक्ष छानबिन गरियोस्।

यस्ता सबै गलत क्रियाकलापलाई रोक्न नसक्ने निवर्तमान समिती पनि जिम्मेवार रहेको ठहर गर्दै निस्पक्ष छानबिनको गरियोस भन्न चाहान्छौ,” संयुक्त विज्ञप्तिमा भनिएको छ।

तर नेकपा एमाले ओली समूहका एक नेता तथा एनसीसी बेल्जियमका महासचिव तीर्थ राज धमलाले आफु माथि लगाइएका आरोपहरुको खण्डन गरेका छन्।

“एनआरएनए बेल्जियमको निवर्तमान कार्यसमितिले 2162 पंजीकृत सदस्यता निर्वाचन समितीलाई बुझाएर आफ्नो ज़िम्मेवारी बहन गर्दै अधिवेशन सम्पन्न गरिसकेको परिप्रेक्ष्यमा मतदान प्रक्रिया आफ्नो पक्षमा नदेखेपछि धॉंधलिको मिथ्या आरोप लगाएर सदस्यता समितीको संयोजकलाई ब्यक्तिगत रुपमा लान्छना लगाई गरिएको नाटक मन्चनलाई बेल्जियम नेपाली समाजले नियालीरहेको छ भन्नेमा विश्वस्त छु।

सदस्यता समितीमा सहकार्य, गरिरहेका साथीबाट संस्थागत ज़िम्मेवारीलाई कुल्चेर विश्वासघात भएकोमा पनि म ध्यानाकर्षण गराउन चाहन्छु । समयले यसको पनि हिसावकिताब गर्ने नै छ । तपाईंहरु मध्य कोही कसैले एनआरएनएको MIS सिष्टमबाट जुन 26 तारीख़ चार बजे भन्दा अगाडी सदस्यता आवेदन पूर्णरुपमा गरेको प्रमाण छ भने दिनुहोला, त्यसको सम्पूर्ण ज़िम्मेवारी म लिन तयार छु,” उनले एक वक्तव्यमा भनेका छन् ।

जापानमा पनि एमआइएस सिस्टमको दुरुपयोग

केन्द्रले ‘स्मार्ट एनआरएनए” को नाममा जबर्जस्ति एमआइएस प्रणाली लागू गर्न खोज्नुको उद्देश्य अहिले स्पष्ट हुदै गएको एनआरएन अभियन्ताहरु बताउछन ।

झन्डै ९,००० पन्जिकृत सदस्य रहेको एनआरएन जापानमा झन्डै ३,००० जना सदस्यहरुको विवरणमा फेरबदल गरिएको पाइएको छ। ती मध्ये झन्डै १,७०० जना सदस्यको इमेल परिवर्तन गरिएकाले उनीहरुको इमेलमा मेसेज नै आएन।

कार्यसमिति कै पदाधिकारीहरुले यसको व्यापक विरोध गरे पछि इमेल आइडी परिवर्तन गरिएका सदस्यहरुलाई गुगल फर्ममा आफ्नो विवरण राख्नका लागि बुधबार सम्मको समय दिइएको छ। एनसीसी जापान को चुनाव अब ३० जुलाईमा हुने छ ।

“जब संस्थागत रुपमा धांधली गर्ने प्रयास हुन्छ र असैहय हुन्छ, त्यहाँ मात्रै मुठभेड हुन्छ । अहिले एनआरएन कब्जा गर्न खोजिरहेको त्यहि समूहले एमआइएस प्रणालीको चरम दुरुपयोग गरी एकलौटी गर्न खोजेकाले मुठभेडका घटनाहरु भएका हुन्,” एनआरएनएका एक आइसीसी सदस्यले भने।

उनले यस्तो प्रवृत्ति विरुद्ध आगामी बैठकमा जोडदार कुरा उठाउने बताउंदै यस्ता गतिबिधिको तत्काल उच्चस्तरीय छानबिन गर्न माग पनि गरे। “महासचिव हेम राज शर्मा र सचिव गौरी जोशीले हामीलाई जवाफ दिनु पर्छ । आफ्नो कार्यकालमै कलङ्कको टिका लाग्ने यस्तो काममा अध्यक्ष कुमार पन्त चुप लागेर बस्नु हुने छैन भन्ने हाम्रो विश्वास छ उनले भने । यसबारेमा अध्यक्ष पन्तसँग प्रश्न गर्दा उनले केहि बोलेनन् ।

एमआइएस सिस्टमको दुरुपयोगबारे सम्पर्क गर्दा सचिब गौरी जोशीले एमआईएस सिस्टमको नाममा कसले परिबर्तन गरे आफुलाई थाहा नभएको र एनआरएनए एनसिसिले समिति गठन गरेर छानबिन गर्लान नि दुरुप्रयोग भएको भए भनेर गैर जिम्मेबार उत्तर दिए ।

एमआइएस सिस्टमको दुरुपयोगबारे उपाध्यक्ष बद्रि केसीलाई प्रश्न गर्दा महासचिबलाई सोध्न आग्रह गरे । गैर आवासीय नेपालीहरुका नाममा राजनीति गरेर सत्ता हत्याउने, खाडीका मजदुर र संघमा आएको रकम हिनामिना गरेर कमाउने गिरोहको अत्याचारले संघ नै बिभाजन हुने मोडमा पुगेको आंकलन गर्न थालिएको छ ।

Leave a Reply

Your email address will not be published.