एनआरएनए, एसीसी कुवेतमा राई योगिनाको उम्मेद्वारी

आदरणिय कुवेतवासी दाजुभाइ तथा दिदी बहिनीहरु! सर्वप्रथम त सबैमा मेरो साईनो अनुसारको ढोग गर्दछु । खासमा म एक साधारण तपाईंहरु जस्तै प्रवासमा दु:ख गरेर जीवन गुजारा गरिरहेको एक चेली हुँ ! म बिगत ४ वर्ष देखी कुवेतको अलसाया कम्पनीमा क्लर्कको रुपमा कार्यरत छु ।

पहिले पहिले म यस समाजमा त्यति परिचित थिईन । कारण त्यति चिने जानेका व्यक्तिहरु थिएनन् । तर पछिल्लो समय यस समाजका प्रतिष्ठित व्यक्तित्वहरुसंग भेटेपछी यस समाजसंग भरखर भरखर परिचित हुँदैछु ।

मेरो सानै देखी एक समाजसेवीको रुपमा जीवन विताउने सानै देखीको सोंच रहेको कारण म यस्तै रुपमा आफुलाई यस समाजमा स्थापित गर्न चाहान्थें तर त्यस्तो परिस्थिति र अवसर त्यति प्राप्त भईरहेको थिएन । कुवेतमा र आफ्नै देश नेपालमा पनि जब कुनै नेपालीले दु:ख पाएको कुरा सुन्दथें या थाहा पाउँदथें मेरो मनमा कताकता पोल्दथ्यो । कसरी त्यस्तो व्यकतिलाई सहयोग गरौं जस्तो लाग्दथ्यो र सकेको सहयोग पनि गर्ने गर्दथें र भविष्यमा पनि गर्ने नै छु । तर यस बिचमा मैले सिकेको कुरा केहो भने म एउटा व्यक्तिले मात्र जति नै सहयोग गरेपनि त्यो पर्याप्त नहुने रहेछ । समाजलाई परिवर्तन गर्नको लागि सामुहिक रुपमा नै अगाडी बढ्नु पर्ने रहेछ ।

अहिले संसार भरीनै एनआरएनएको अधिवेशन साथै २०१७ देखी २०१९ को लागि नयाँ नेतृत्वको लागि एक प्रकारको रौनक छाएको छ र अबको केही दिनमा कुवेतले पनि उक्त नयाँ नेतृत्व प्राप्त गर्ने नै छ । यसरी यो रौनकलाई हेर्दा मैले आफैले आफैलाई हेरें अनि प्रश्न गरें, मैले चाँही यसमा किन उम्मेदवारी नदिने? किन यो समाजको लागि योगदान नगर्ने? किन पीडित दिदीबहिनीहरुको घाउमा मल्हम नलगाउने? अनि निश्कर्षमा पुगें कि मैले यो गर्नै पर्छ र कुवेतका महिलाहरुको नेतृत्व गर्दै अन्याय अत्याचार गर्नेहरुको बिरुद्दमा आवाज बुलन्द पार्दै अगाडी बढ्न पर्छ । त्यसैले मैले गैर आवासिय नेपाली संघ (एनआरएनए)/ साष्ट्रिय समन्वय परिषद कुवेतको महिला प्रतिनिधिमा उम्मेदवारी दिने निर्णयमा पुगें र उम्मेदवारी दर्ता गरें ।

उम्मेदवारी दर्ता त गरें तर महिला प्रतिनिधिको लागि म लगायत ३ जना महिलाहरुको उम्मेदवारी परेछ । त्यसमा अवश्य पनि तीन जनाको बिचमा प्रतिस्पर्धा हुने नै भयो । अरुको कुरा म जान्दिन तर मैले भने सोचे सम्झेर नै म यस पदको लागि योग्य छु भनेर नै यो महिला प्रतिनिधि पदको लागि उम्मेदवारी दिएको हुँ । प्रतिस्पर्धा हो मैले जित्न पनि सक्छु र हार्न पनि सक्छु । यो दुवै चुनौंतिको सामना गर्न पनि म तैयार नै छु । तर अब हामी तीन मध्ये कस्लाई चुन्ने भन्ने कुराको निर्णय भने कुवेतवासी तपाईं दाजुभाइ दिदीबहिनीहरुले मात्र गर्नु सक्नु हुन्छ । आशा छ हजुरहरुले सोचेर नै निर्णय गर्नु हुनेछ ।

मैले महिला प्रतिनिधि मै प्रतिस्पर्धा गर्न किन निर्णय गरें भने –
१, कुवेतमा पीडामा परेका दिदीबहिनीहरुको घाउमा मल्हम लगाउन ।
२, हाम्रा दिदीबहिनीहरुलाई अन्याय तथा शोषण गर्नेहरुलाई कानूनी कठघरामा उभ्याउन ।
३, कुवेत सरकार र नेपाल सरकार बिच श्रम सम्झौता नभएसम्म घरेलु कामदार खुल्न नदिन ।
४, अबैधानिक बाटो हुँदै कुवेतमा महिला दिदीबहिनीहरुलाई भित्र्याउन नदिन ।

अन्य उम्मेदवारहरुले पनि मेरो भन्दा राम्रो काम गर्ने प्रतिवद्दता व्यक्त गरेर मेरो तथा कुवेतमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको मन जित्नु हुन्छ भने मैले मेरो उम्मेदवारी भोलि नै फिर्ता हुन्छ । तर यदि त्यस्तो नभएको खण्डमा कुनैपनि हालतमा मैदानबाट पछाडी नहट्ने उद्घोष गर्दछु । धन्यवाद !

तपाईंहरुकै चेली
योगिना राई (सुनिता रुपाबुङ)
उम्मेदवार महिला प्रतिनिधि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *