एनआरएन यूकेको काउन्सिल बैठक अर्को साता

nrn-uk१८ भदौ, काठमाडौं/ गैरआवासीय नेपाली संघ एनआरएन यूकेको काउन्सिल बैठक अर्को साता हुंदैछ । सेप्टेम्बर ११ तारिख आइतबारका दिन अल्डरसटस्थित एम्पायर हलमा बिहान १० देखि सांझ ८ बजेसम्म काउन्सिल बैठक तय छ ।
बैठकमा बेलायतमा क्रियाशिल सम्पुर्ण नेपाली संघसंस्थालाई आमन्त्रण गरिएको छ ।

एनआरएन यूकेका संघसंस्था समन्वय विभाग प्रमुख दासुराम पाण्डेका अनुसार अहिलेसम्म झण्डै ५ दर्जन संघसंस्थाले बैठकमा सहभागी हुने आफ्ना प्रतिनिधीको नाम पठाइसकेका छन् । अहिलेसम्म नाम नपठाएका संघसंस्थालाई पनि यथासक्य छिटो प्रतिनिधीको नाम पठाउन उनले आग्रह गरेका छन् ।
बेलायतस्थित सबै संघसंस्थालाई पत्र लेखेर नै निमन्त्रणा पठाइएको भन्दै पाण्डेले प्राविधिक कारणले कुनै संस्थाले पत्र पाइनसकेको भए उनले एनआरएन यूकेमा सम्पर्क राखेर बैठकमा सहभागी भइदिन पनि आग्रह गरे ।
बेलायतस्थित नेपाली संघसंस्थाहरुबीचमा आपसी एकता र भातृत्व बढाउने तथा नेपाल र नेपालीलाई अधिकतम हित हुने गरी कसरी काम गर्न सकिन्छ भन्ने विषयमा विमर्श गर्नु नै काउन्सिल बैठकको उद्धेश्य छ ।

कार्यक्रममा सहभागी सम्पुर्ण संघसंस्थाका प्रतिनिधीहरुलाई विभिन्न समुहमा विभाजन गर्ने र उनीहरुलाई निश्चित विषयमा छलफल गर्न लगाएर उनीहरुबाट धारणा तथा सुझावहरु संकलन गर्ने गरिन्छ ।

एनआरएन यूकेका भूतपूर्व अध्यक्ष सुर्य गुरुंगको पालादेखि काउन्सिल बैठकको अभ्यास सुरु भएको हो । त्यसपछि कुल आचार्य र योगेन क्षेत्री नेतृत्वका कार्यसमितिले पनि एकएकपटक काउन्सिल बैठक बोलाएका थिए ।

 

source: nepali patra

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES