ए मेरो हजुर २ को निर्देशन गर्दै छु : झरना थापा (अभिनेत्री)

thapa

झरना थापा (अभिनेत्री)

प्युठानमा जन्मिएर बाल्यकाल दाङमा बिताई कर्मथलो काठमाडौं बनाएकी झरना थापा विवाह गर्नु अघि राजभण्डारी थिइन् । सानैदेखि चञ्चले अनि छुच्ची स्वभावकी झरना पहिला आफू अभिनेत्री बन्छु भन्ने कहिल्यै नसोचेको बताउछिन् । दाङबाट एसएलसी गरेपछि उच्चशिक्षाको लागि काठमाडौ आएपछि उनको कला यात्रा शुरूवात भएको हो । झरना भन्दा केहि समय अगाडिका जल शाह, बिपना थापा, निरुता सिंह, अरुणिमा लम्सल आज चलचित्र क्षेत्रभन्दा बाहिर नै छन् । उनि भन्दा पछाडीका पनि थुप्रै यो क्षेत्रबाट विस्थापित भइसकेका छन् । तर झरना आजसम्म निरन्तर चलचित्र क्षेत्रमै सक्रिय रूपमा लागिरहेकी छन् । झरना थापा सँग सुचना खबरको लागि इन्द्र कुमार राई (जिजीबिषा) ले गरेको कुराकानी ।

आजकल केमा व्यस्त हुनुहुन्छ

मेरो आफ्नो होम प्रोडक्सनको चलचित्र ‘ए मेरो हजुर–२’ र अन्य दुई चलचित्र चलचित्रहरूको काम गर्दैछु ।

>कति वटा चलचित्रमा काम गरि सक्नु भयो ?
सयभन्दा धेरै चलचित्र र धेरै म्युजिक भिडियोमा काम गरिसकेकी छु । केहि डकुमेन्ट्री र भोजपुरी चलचित्रमा समेत काम गरिसकेकी छु ।

बाल्यकाल कहाँ र कसरी बित्यो ?
मेरो जन्म चाहीँ प्युठानमा भए पनि बाल्यकाल दाङमा बित्यो । पछि कक्षा ५ सम्म काठमाडौको सिद्धार्थ वनस्थलीमा पढे । एसएलसी दाङबाटै गरे । अनि फेरि काठमाडौ आएर कलेज ज्वाइन गरेर ब्याचलर सम्म पढे । यस्ता दिनहरूको याद आज पनि आउने गर्छ ।
बाल्यकालका धेरै कुराको सम्झना छ । बच्चा हुँदा बदमास गरेको याद आउँछ । सानोमा म झोक्की स्वभावकी थिएँ । बलियो छु जस्तो पनि लाग्थ्यो । केटाहरूले जिस्कायो भने झगडा गरिहाल्थे । अनि सानो सानो ढुङ्गा, ईटाको घर बनाएर कुकुरलाई राख्ने अनि घर भत्काइ दिने अनि कुकुर कराउदै भाग्थो हामी चै भुईचालो ! भुईचालो भन्दै भागेजस्तो गरिन्थ्यो । स्कुल पढ्दा, कलेज पढ्दाको दिनहरू याद आउँछ । होस्टेल बस्दा पेटभरी खाना नपाएको, सबैको आफन्त भेट्नु आउने तर हाम्रो ६÷६ महिनामा मात्र भेट्न आउनुहुँदा अलि न्यास्रो लाग्थ्यो ।
भाई र म मात्रै भएको बेला बुबाममीलाई पनि पछि यसरी नै टाढा राख्नुपर्छ भनेर सल्लाह गथ्र्यौ । म आफू नखाइ नखाइ पनि मेरो भागको अन्डा र रोटी दिन्थेँ ।

कला क्षेत्रमा आउने कसरी मोह जाग्यो ?
त्यस्तो खासै केहि कुरा पनि छैन । सिम्पल छ । म बच्चामा सिम्प्ली सोच्थे । मेरो सानो ममी राधा मल्ल नविल बैंकमा काम गर्नु हुन्थ्यो । उहालाई जहिले पनि टाइम टेबलमा साडी लगाएर अफिस गको देख्थे । त्यो देखेर मलाई पनि बैंकर बन्न मन लाग्थ्यो । एक्टर बन्छु भनेर कहिले पनि सोचिनँ । तर कोठाभित्र क्यासेट बजाएर मज्जाले नाच्थेँ र साथीहरूको अगाडी पनि मज्जाले नाच्थेँ । उनिहरू पनि दङ्ग पर्थे । तर कहिले पनि कुनै कार्यक्रममा भाग लिइनँ । कलेज लाइफमा नृत्य र सङ्गीत विषय लिएर पढ्नुपर्दो रहेछ । तर मलाइ पहिला थाहा थिएन । अनि साथीहरूसँग नृत्य विषय एउटा छानौ न त भनेर छान्यौं । कक्षा शिक्षकहरूले नृत्य सिकाउँदा र क्याम्पसको कार्यक्रम हुँदा म मज्जाले नाची दिन्थे र सबै जनाले राम्रो नाच्छौ भन्नु हुन्थ्यो । प्रतियोगितामा पनि प्रथम हुने, त्यस्तो देखेर सबै जनाले ‘त राम्रो नाच्छेस्, राम्री छेस् हिरोइन बन’ भनेर भन्नु हुन्थ्यो । एक जना सम्झना रौनियार हुनु हुन्थ्यो, उहाँले जहिले पनि कलाकार बन्नु पर्छ । हिरोइन बन्नु पर्छ भनेर मलाइ घच्घच्याइ रहनु हुन्थ्यो, र त्यो बेला नृत्य प्रतियोगितामा प्रधानमन्त्री र अन्य विशिष्ट व्यक्तिहरूको हातबाट पुरस्कार पाएँ । यिनै कुराहरूले मलाइ यो क्षेत्रमा आउन प्रेरित ग¥यो । पहिलो पटक ‘दाइजो’ फिल्ममा सहनायिकाको रूपमा काम गरे । त्यसरी म यो क्षेत्रमा आइपुगेँ ।

त्यस समयमा प्रेम प्रस्ताव त धेरै आउथ्यो होला नि हैन ?
पक्कै पनि, प्रेम प्रस्ताव त फिल्म क्षेत्रमा आउनु भन्दा अगाडि नै धेरै आउथ्यो । सबै जनाले मन पराउने, झरना तिमी राम्री छौ, आइलभयु भनेर लेख्ने गर्दथ्यो । एकदिन एउटाले ‘झरना + …..’ लेखेछ, यो देखेर म तीन दिनसम्म स्कुल नै गइनँ । यसरी धेरैले मन पराउने माया गर्ने गर्नु हुन्थ्यो । प्रपोज त एकदम धेरै नै आउथ्यो ।

पहिलो प्रेम कोसँग भएको थियो ? भन्न मिल्छ ?
पहिलो प्रेम भनेर मलाइ चाही मन पराउने त्यो टाइममा धेरै नै थिए । मानवीय स्वभाव नै हो, उमेर भएपछि माया प्रेम गर्ने र तर त्यसको रिलेसन के कति र कहाँसम्म हुन्छ भन्ने मात्र हो । मलाई पनि एकजना मन पर्ने साथी थियो तर उ संग प्रेम हुन सकेन त्यसपछि सुनिलजीसँग नै मैले पहिलो प्रेम गरेँ । उहाँसँग नै मेरो पहिलो प्रेम हो र उहाँसँगै बिहे पनि गरेँ ।

पहिलो फिल्मबाट कति पारिश्रमिक पाउनु भयो त ?
मेरो पहिलो चलचित्र ‘दाइजो’मा सहनायिकाका रूपमा काम गरेको हँुदा खासै पैसा पाएँजस्तो लाग्दैन । त्यसपछि ‘धर्मसंकट’मा काम गरेँ र अर्को ‘गोर्खाली’ चलचित्रमा काम गरेपछि ‘जीवनसाथी’ भन्ने चलचित्रमा काम गरे पछि ३५ हजार पाएकी थिएँ ।

नेपाली चलचित्रको ब्यापार घट्दो अवस्थामा छ । यस्तो अवस्थामा होम प्रोडक्सनलाई कसरी चलाइरहनु भएको छ ?
सबैभन्दा पहिला त दर्शकको साथ र सहयोग पाएकी छु । आफूले कसरी चलचित्र व्यवस्था गर्ने भन्ने ठिक्क लगानी नडुब्ने हिसाबमा गरिन्छ । तर पनि घट्दो व्यापार व्यावसाय छ । यसले मलाई मात्रै नभई सम्पुर्ण फिल्म इन्डस्ट्रीलाई घाटा पारेको छ । नाका बन्दी र भुकम्पको कारणले पनि यस क्षेत्र डुबेको छ तर पनि हरेश खानु हुँदैन । म पनि हारेको छुइनँ । नाफा र घाटा त व्यापारमा भई नै रहन्छ ।

तपाईलाई चलचित्र क्षेत्रमा कहिलेसम्म देख्न पाइएला ?
मलाइ नायिकाको रूपमा नदेखिए पनि कुनै न कुनै तरिकाले नेपाली चलचित्र क्षेत्रमा म जब सम्म रहन्छु त्यो बेलासम्म म फिल्मको पर्दामा आइरहने छु ।

चलचित्र छायांकनको दौरान कुनै अविष्मरणीय घटेको घटनाको याद छ ?
‘आज बाह्र हाते पटुकी’ भन्ने गीतको सुटिङ्को लागी हामी गोवा पुगेका थियौ । त्यही सुटिङको क्रममा म चिप्लिएर मेरो खुट्टा चट्टानमा ठोक्किएर फ्याक्चर भयो । डाक्टरले १५ दिन रेस्ट गर्ने सल्लाह दिए पनि हामीसंग समय नभएकोले पेन किलर खाएर मैले काम गरेको छु । आज पनि नियालेर हेर्यो भने त्यहाँ मेरो एउटा खुट्टा सानो र अर्को खुट्टा ठुलो देख्न सक्नुहुन्छ । अनि ‘कहाँ छौ कहाँ’ भन्ने फिल्म सुटिङको लागि नेपालगञ्ज जाँदै गर्दा हाम्रो सवारीसाधन दुर्घट्नामा प¥यो । यस्ता धेरै नै अविस्मरणीय क्षणहरू छन् ।
अन्त्यमा  केही भन्न चाहनु हुन्छ कि ?
आजसम्म झरना थापा खुल्ला किताब जस्तै भइसकेकी छे । अब मेरो निर्देशन रहेको चलचित्र ‘ए मेरो हजुर–२’ चाडै आउँदैछ । सबैजनाले नेपालीपन र मनले चलचित्र हेरिदिनुहोस्, माया गरिदिनुहोस् । यहि नै भन्न चाहन्छु ।

                                                                                                  प्रस्तुतिः इन्द्र जिजीविषा

jharna

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES