कतारको विकसित अवस्थाबारे राजदुतमार्फत जानकारी लिईरहेको छु, नेपालीहरुको अवस्था सामान्य छ : श्रममन्त्री मन्सुर

काठमाडौं, १० असार – श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले प्रदेश नम्बर दुई को तेस्रो चरणको निर्वाचन अघि नै संविधान संशोधन गर्नेगरि अहिले तयारी भैरहेको स्पष्ट पारेका छन् । उनले भने,‘प्रदेश नबरको २ को निर्वाचन अघि नै संविधान संशोधन गर्ने गृहकार्यमा सरकार जुटेको छ, र राजपालाई पनि असोज २ गते हुने तेस्रो चरणको चुनावमा सहभागी गराइन्छ।’

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री मन्सुरले संविधानको दायरालाई फराकिलो बनाउने काममा वर्तमान सरकार गम्भिर भएर लागिपरेको समेत बताए । उनले भने,‘यसको लागि संंविधान संशोधनका कामहरू अघि बढिरहेको छन् मलाई विश्वास छ, तेस्रो चरणको निर्वाचनअघि नै संविधान संशोधन हुन्छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री मन्सुरले भने,‘सम्पूर्ण नेपालीहरुको अपनत्व हुनेगरि संविधानको दायरा फराकिलो बनाउने काममा वर्तमान सरकार लागेको छ, प्रधानमन्त्री शेरबहादुर देउवाजी पनि यसैमा लागिरहनु भएको छ, मलाई विश्वस छ, अब संविधान संशोधनमार्फत असन्तुष्टहरुको माँग सम्बोधन छिट्टै हुन्छ।’

मन्त्री मन्सुरले आगामी माघ ७ गतेभन्दा पहिले नै तीनवटै निकायको निर्वाचन गर्नेगरि काम अघि बढेको समेत जिकिर गरे । उनले भने,‘हाम्रोसामु तीनवटै निर्वाचन गर्नुपर्ने बाध्यता छ, हामी त्यसैको आधारमा अघि बढिरहेका छाँै, दुई नम्बर प्रदेशको निर्वाचन त्यहाँका राजनीतिक दल र जनताकै अपेक्षा अनुसार असोज २ गतेको लागि सारिएको छ, सरकार निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्नको लागि तयार छ, जनताको उल्लेख्य उपस्थितिमा निर्वाचन हुन्छ।’

उनले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नेगरि वर्तमान सरकार तिव्रताका साथ लागिरहेको भन्दै सम्पूर्ण राजनीतिक दल र सरोकारवाला पक्षलाई निर्वाचनजस्तो महाअभियानमा सहभागी हुनको लागि आह्वान समेत गरे ।

मन्त्री मन्सुरले फरक प्रसँगमा रोजगारीको सिलसिलामा कतारमा रहेका ४ लाख नेपाली कामदारहरुको बारेमा आफुले सम्पूर्ण जानकारी लिएको बताए। उनले भने,‘मैले कतारमा रहेका हाम्रो राजदुतलाई खबर गरेको छु, त्यहाँ जुन विकसित स्थिति छ त्यसले नेपालीको रोजगार र पेशा व्यवसाय केही फरक पार्दैन, कतार आँफैमा दक्ष र सक्षम छ भनेर जवाफ दिनुभएको छ, कतारले पनि अन्य असन्तुष्ट मुलुकसँग वार्ता गरिरहेको छ, चाँडै समस्या समाधान हुने कुरा बुझिएको छ।’
कतारको पछिल्लो अवस्थाबारे आफूले प्रधानमन्त्री देउवालाई समेत प्रभावकारी रुपमा व्रिफिङ गरेको जानकारी दिए ।

क्लबका सभापति ऋषि धमलाले मन्त्री मन्सुरलाई बधार्इृ तथा सफलताको शुभकामना दिएका थिए । धमलाले मन्त्री मन्सुरलाई खादा ओढाएर सम्मान गरेका थिए । धमलाले भने,‘जनताको पक्षमा र जीनवस्तर उकास्नेगरि काम गर्नुहोला, तपाईलाई हामी सबैको शुभकामना छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *