कलाकार देशको अभिन्न अंग हो:-सुजन तिगेला लिम्बु

नेपाली सांगीतिक आकाशमा आशावादी भएर उदाएको गायक तथा संगीतकार सुजन तिगेला लिम्बु संग जानू काम्बाङ्ग लिङ्ग्देनले गरेको छोटो सांगीतिक कुराकानीsujan limbu

१- तपाईं अहिले के गर्दै हुनुहुन्छ ?
सर्बप्रथम त यहाँलाई र सूचना खबर डटकम  परिवारमा म कलाकार सुजन तिगेला लिम्बूको नमस्कार । म अहिले मेरो सोलो एल्बम कालजयी -२ र मेरो पहिलो लिम्बू एल्बम काङ्सोरे लगायत अन्य एल्बम तथा फुटकर गीतहरूमा सिर्जनारत छु ।

२- तपाई यो क्षेत्रमा आएको कति भयो र सांगीतिक शिक्षा कहाँबाट लिनु भयो ?
म यस क्षेत्रमा आएको त डेढ दशक भयो , म  कक्षा ९ मा पढ्दै गर्दा नै मैले गीत रेकर्ड गरिसकेको थिएँ । तर संगीतको शिक्षा लिएर औपचारिक रूपमा भने,  ७० साल देखि हो । अनि मैले सांगीतिक शिक्षा दार्जिलिङका गुरुदय मणिकमल क्षेत्री र अनिल फागोबाट लिएको हुँ ।

३- तपाई हिजोको साधारण जीवन र आजको कलाकारिताको जीवनलाई कसरी हेर्नुहुन्छ ?
जीवन जिउने शैली त उस्तै नै हो तर साधारण जिवनमा कमाउथे , खान्थे , घर बनाउथे , गाडी किन्थे यहि त हो तर कलाकारिताको उपनाम थपिए पछि यी कुरा त छदैछ अझै मेरो नाम संग हाम्रो सामुदाय भित्रको कलाकारिताको प्रतिनिधित्व साथै देशकै केही हिस्सा मेरो काँधमा पनि जिम्मेवारी थपिएको महसुस हुन्छ ।

४- यो क्षेत्रमा, चर्चामा आउन कतिको सजिलो छ ?
गाह्रो छैन चर्चामा आउन त अनेक किसिमले आउन सकिन्छ , र आइरहेका पनि छन धेरै ब्यक्तिहरु , तर चुलिन राम्रो नपाइ नाम निसाना हराई हाल्छ , भन्नुको मतलब सस्तो चर्चा हुन्छ । कला सबै संग  हुन्छ तर क्वालिटि सबै संग  हुदैन फरक यही  हो । चर्चामा नआउनु राम्रो आइसके पछि स्थायित्व कायम राख्नु राम्रो होला।

५- भनिन्छ कलाकारहरु एकपल्ट चर्चामा आउछन् र हराई जान्छन्, तपाई यो भनाईलाई झुट साबित गर्न के गर्नु पर्छ जस्तो लाग्छ ?
आउनु , हराउनु त स्वभाविक हो किनकी जो संग जति छ त्यति नै दिने हो अब भाडै रित्तेपछि पस्केर के दिनु र ? त्यसैले हरेक क्षेत्रमा अध्यायन, अनुसन्धान  जसले बढी गरेको  हुन्छ खुबी पनि उसै संग बढी हुन्छ तसर्थ बिलाउनु हराउनु उसको ब्यक्तिगत मेहनतमा भरपर्छ जस्तो लाग्छ मलाई।

६- तपाईको स्वर यति राम्रो छ, दिनको कति घण्टा रियाज गर्नु हुन्छ ?
स्वर मन पराईदिनु भो यहाँलाई फेरि पनि धन्यवाद ! पहिले पहिले समय पाउँदा १२/१४ घन्टा पनि रियाज गरिन्थ्यो, त्यसैले मेरो गला फुटायो अनि त्यसैले ६ महिना आवाज नि सुकायो तर अहिले भ्याउदिन एक डेढ घन्टा गर्छु ।

७- अहिलेसम्म कति वटा गीतहरुमा स्वर भरिसक्नु भो ?
१५० जति भए होलान् चानचुन ।

८- परिबर्तित समयको माग संगै गीत सुन्ने भन्दा हेर्ने चलन बढेको छ तपाई यसलाई कसरी  हेर्नुहुन्छ ?
गीत भनेको वास्तबमा सुन्नकै लागि हो , प्रत्येक ब्यक्ती पिच्छे एउटै गीत धेरै कोणबाट  सुन्न सक्छन्, किन्तु जब त्यहि गीत हेर्न बनाइन्छ गीतमा एउटा मात्रै थिममा डिरेक्शन हुन्छ त्यसैले कतिपय गीतहरु भिडियोको कारण सहिद भएका छन । यो मनोरञ्जनात्मक क्षेत्र भएकोले समयको मागलाई नकार्न सकिन्न।

९-तपाई यो सांगीतिक क्षेत्रलाई उहिले र अहिलेमा फरक कतिको पाउनु हुन्छ ?
सांगीतिक क्षेत्रमा उहिले र अहिले मात्र, समय फरक छ तर संगीत त्यहीं सात शुद्ध र पाँच बिकृत गरि जम्मा १२ वटा स्वरमै दौडि रहेछ र कालान्तर दौडि रहने छ।

१०- संगीत गर्नलाई सिक्नु कतिको जरुरि छ ?
संगीत ध्वनि र चाल दुबै हो तसर्थ सिक्ने नसिक्ने कुरा परको हो । संसारमै  चालमय र ध्वनिमय छ । भोक लागेसी खानै पर्छ अर्को उपाय छैन। सिक्नु १००% अनिवार्य छ।

११- तपाईंलाई कस्तो खालका गीत गाउदा बढी आत्मा सन्तुस्टी मिल्छ ?
मलाई यस्तो उस्तो गीत भन्दा पनि शब्द भाब अनुसारको न्याय र लयकारी गीत गाउदा सन्तुष्टि लाग्छ।

१२- कलाकारितालाई राज्यले कसरि हेरिरहेको छ र अझ कस्तो गरे हुन्थ्यो जस्तो लाग्छ ?
वास्तबमा कलाकार देशका गहना होइन , किनकी यहाँ लाउन मन लाग्दा लाउने फुकाल्नु मन लाग्दा फुकाल्ने गरिन्छ  । देशको उन्नती प्रगती हुनुमा कलाकारको ठुलो भुमिका हुन्छ , यसर्थ कलाकार देशको अभिन्न अंग हो । आफ्नो कला , संस्कृति लोपभए देश लोप भएर जान्छ यो कुरा राज्यले बुझेर अघिबढे उत्तम हुन्थ्यो।

१३- तपाईले धेरै  गीतहरुमा स्वर भरिसक्नु भएको छ, अहिलेसम्मकै आफैले गाएको गीत आफैलाई अति मन परेको कुनै छ ?
आफ्नो गीत राम्रो नराम्रो भन्दा पनि कहिल्यै चित्त बुज्दैन मेरो बुझाईमा । पछिल्लो समयमा गाइएका गीत राम्रै छन् ।  तर मेरो परिचय दिन सफल गीत चाहिँ मेरो आफ्नै शब्द / संगीत  रहेको के साह्रो ब्युटी …बोलको गीत हो ।

१४- अब तपाई त गायक मात्र नभएर एक राम्रो संगीतकार पनि पर्नु हुन्छ ? तपाइलाई मन परेको कुनै एक मात्र गीतकारको नाम लिन परे कसको लिनु हुन्छ ?
अब यो प्रश्न गीतकारज्युले नै सोध्नु भो , तपाईंको मन पर्छ भन्दा रिसाउनु हुन्छ होला हाहाहा… यसको उसको भन्दा पनि यथार्थपरक मर्मस्पर्सी शब्द मलाई मन पर्छ ।  , चाहे त्यो नयाँ गीतकार किन नहोस।

१५- तपाइले जीवनमा पहिलो पल्ट स्टुडियो छिरेर गित रेकर्ड गर्दाको अनुभब कस्तो रह्यो सेयर गर्न मिल्छ ?
म कक्षा ९ मा पढ्थे त्योबेला धरान म्युजिक मिडिया रेकर्डिङ स्तुडियोमा अलि-अलि  हडबडाको थिएँ ।

१६- तपाईको आउने दिनहरुको सांगीतिक योजनाहरु के कस्ता छन् ? यहाँ भन्न मिल्छ,?
त्यही हो नेपाली गीत संगीतको सूचीमा राम्रो अंक ल्याउने सोच छ, अनि आफ्नो मातृभाषामा पनि अब्बल गीत संगीत दिएर मर्न पाए आत्माले सन्तुष्टि पाउथ्यो होला यहि सोचले दौडाई रहेको छ मलाई ।

१७- तपाईको कुनै देशमा सांगीतिक यात्रा भएको छ ?
अवसर नआएको होइन आए पनि धेरै पटक गुमाए यो सवालमा, अब यहि अप्रील १५   र मे २७  मा हङकङ जादैछु अनि युरोप म्युजिकल टुर चाँही अब हजुरहरुले बोलाउनु भयो भने अवस्य आउने छु ।

१८-नेपाली गीत-संगीतलाई अंगालेर जीवन चलाउन कतिको सहज छ ?
नेपाली गीत-संगीतलाई अंगालेर  जिउन सकिन्छ, बेस्सरी अलिसान गाडी बंगलामा बस्न नसकेपनि ईज्जतले दुई  छाक खान पुग्छ l देह मरे पनि सिर्जना कहिल्यै नमर्ने कुरा हुन् ! म त अझ स्वर्गीय हटाउनु पर्छ भन्ने पक्षको मान्छे म । किनकि कलाकार समाजको ऎना हो कहिल्यै मर्दैनन्  । फेरि पहिला भन्दा अहिले संगीतमा राम्रो आर्थिकउपर्जन पनि हुन्छ अनि देश पनि हेर्ने मुख पनि फेर्ने समग्रमा राम्रो छ सबै भन्दा धेरै भ्रमण गर्ने नि कलाकार हुन् अलिकति राज्य पक्षले हाम्रो नेपालमा पनि सिस्टम बसाइ दिए मज्जाले बाच्न सकिन्छ ।

१९-अन्त्यमा मैले सोध्न भुलेको र तपाईलाइ भन्नु पर्छ जस्तो लागेको केही छ ?
त्यस्तो भन्ने पर्ने त केही छैन, तर सम्पुर्ण युकेमा बसोबास गर्नुहुने जानु जी लगायत सम्पुर्ण युकेवासी  सबैमा मेरो साइनो अनुसारको सेवाढाेग अनि यो  सुजन तिगेलाको नमस्कार , सेवारो ।

प्रस्तुती :-जानू काम्बाङ्ग लिङ्ग्देन
बेलायत

Leave a Reply

Your email address will not be published. Required fields are marked *