काँग्रेस र माओवादीले कुल आचार्यलाई समर्थन गर्ने, ‘सर्कुलर’ पछि एनआरएनएमा हलचल

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी अक्टोबर २० मा हुने निर्वाचन रोचक बनेको छ ।

चुनाव नजिकिँदै जाँदा अध्यक्षका प्रत्यासी कुल आचार्यको पक्षमा काँग्रेस र माओवादीले खुलेरै परिपत्र जारी गरेपछि अन्य उम्मेदवारमा भूकम्प गएको छ ।

आचार्यको पक्षमा लाग्न काँग्रेस र माओवादी पार्टीले विश्वभरका आफू निकट गैरआवासीय नेपालीलाई आन्तरिक सर्कुलर नै जारी गरेपछि एनआरएनए चुनावको माहोल तातेको छ भने आचार्यको जित सुनिश्चित देखिएको छ ।

एनआरएनएमा आचार्यसँगै बद्री केसी र रविना थापा चुनावी मैदानमा देखिएका छन । आचार्यको समुहको केसीसँग प्रतिस्पर्धा हुने देखिए पनि आचार्य धेरै बलियो अवस्थामा रहेका छन् ।

नेपालमा भएको सत्ता गठबन्धनअनुसार नै एनआरएनएमा पनि गठबन्धन गर्नुपर्ने नीतिका साथ काँग्रेस र माओवादी एक ठाउँमा उभिँदै आन्तरिक सर्कुलर गरेर चुनाव आफू अनुकुल बनाउने योजनामा देखिएका छन ।

यो भन्दा पहिले नेपाली काँग्रेस केन्द्रीय कार्यालयले असोज १५ गते नै विदेशस्थित सबै जनसम्पर्क समितिका अध्यक्ष तथा संयोजकलाई आन्तरिक सर्कुलर पठाएर लोकतन्त्रवादी समूहलाई विजयी गराउन परिपत्र जारी गरेको थियो ।

लोकतन्त्रवादी समूहलाई विजयी गराउन तथा आवश्यक समन्वय गर्नका लागि काँग्रेसका तर्फबाट गठित पूर्णबहादुर खड्का नेतृत्वको समितिको बैठकको निर्णयअनुसार सर्कुलर गरिएको छ ।

सो सर्कुलरमा आचार्य नेतृत्वको प्यानललाई जिताउन आ–आफ्नो देशभित्र रहेका साथीहरुसँग आवश्यक समन्वय र सहयोग गर्नका लागि अपिल समेत गरिएको छ ।

साथै युरोप, एसिया, अमेरिका, अफ्रिका, मध्यपूर्व र ओशिनिया क्षेत्रका देशहरुमा पार्टीका तर्फबाट आवश्यक समन्वय गर्नका लागि केन्द्रीय नेताहरुलाई जिम्मेवारी दिईएको छ ।

युरोप क्षेत्रका लागि प्रकाशशरण महत र गगन थापा, एशिया क्षेत्रका लागि अर्जुन नरसिंह केसी र अर्जुन जोशी, अमेरिका क्षेत्रका लागि मिनेन्द्र रिजाल, अफ्रिका, मध्यपूर्व क्षेत्रका लागि गोविन्द भट्टराई र विश्वप्रकाश शर्मा, ओसेनिया क्षेत्रका लागि सुरेन्द्रराज पाण्डेलाई जिम्मेवारी प्रदान गरिएको छ ।

यस्तै नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकको निर्णयले पनि नेपालकै सरकारमा जसरी गठबन्धन बनाएर एनआरएनएमा कुल आचार्य समूहलाई जिताउन प्रवासका कमिटीहरूलाई आन्तरिक सर्कुलर गरेको छ ।

नेकपा माओवादी केन्द्रको असोज ६ गते बसेको स्थायी कमिटीको बैठकको निर्णय अनुसार माओवादीको प्रवास समन्वय कमिटीलाई सो आन्तरिक सर्कुलर जारी गरेको थियो ।

सोहीअनुसार विदेशमा रहेका माओवादी निकट नेपाली जनप्रगतिशील मन्चहरुले उम्मेदवार तय गर्नेदेखि आचार्यको पक्षमा माहोल बनाउनेसम्मका अभियान गरिरहेका छन ।

माओवादी अध्यक्ष प्रचण्डले असोज ७ गते प्रवास सम्पर्क समन्वय समितिका इन्चार्ज नारायणकाजी श्रेष्ठलाई यसबारे आवश्यक निर्देशन समेत दिएका थिए ।

प्रचण्डले ‘एनआरएनएको सम्मेलनलाई विधिसम्मत र उद्देश्यमूलक ढंगले सफल पार्न प्रवास समन्वय समिति र त्यसमार्फत संगठनहरुले सकारात्मक भूमिका खेल्न निर्देशन दिएका छन ।

यसको नेतृत्व निर्माणको सन्दर्भमा वर्तमान सरकारमा रहेका राजनैतिक दलहरूको गठबन्धनसँगको एकता र सहकार्यको नीति लिइएको जनाईएको छ ।

पार्टी केन्द्रसँगको समन्वयमा यसबारेमा ठोस निर्णय लिने जिम्मेवारी प्रवास समन्वय समितिलाई दिइएको पार्टी स्रोतले बतायो ।

माओवादीले संघको भूमिका एवं महत्वलाई दृष्टिगत गरी सदस्य बन्न योग्यता पुगेका संगठनका सदस्यहरुलाई एनआरएनएको सदस्य लिन पनि अनुरोध गरेको छ ।

एनआरएनएमा आधिकारिक रुपमा दलीय प्यानल बनाएर चुनाव लड्न नपाइने व्यवस्था भएपनि राजनीतिक प्रभाव भने हरेक निर्बाचनमा हावी हुने गरेको छ ।

काँग्रेस र माओवादी केन्द्रले लोक बाम गठबन्धनलाई जिताउन आधिकारिक रुपमै पहल थालेपछि एनआरएनएमा हलचल मच्चिएको छ ।

अहिले बद्री केसी समूहमा हलचल भएको छ । केसी समूहमा माओवादी निकट केही उम्मेदवार अझैपनि लागिरहेको अवस्थामा अब के गर्ने भन्नेबारे आन्तरिक छलफल सुरु भएको केसी निकट स्रोतले बतायो ।

केसी एमाले ओली निकटका उम्मेदवार हुन । काँग्रेस र माओवादी एकातिर हुँदा एमाले निकटका केसी निर्बाचनमा जाने कि नजाने दोधारमा छन ।

यो भन्दा पहिले केसी समूहले चुनाव आफ्नो पक्षमा पार्नका लागि काँग्रेस र माओवादी निकटका केही अभियन्तालाई आफ्नो पक्षमा तान्ने प्रयास मात्रै होईन काँग्रेस र माओवादीलाई आफनो समुहलाई समर्थन गराउनको लागि ठूलो मेहनत गरेको थियो । तर केसी समुह यसमा असफल भएको थियो ।

Share this:

Leave a Reply

Your email address will not be published. Required fields are marked *