काठमाडौमा बिजुलीका ताराहरु अण्डर ग्राउण्ड गरिने

काठमाडौ १६ कातिक- नेपाल विद्युत प्राधिकरणले जमिन मुनीबाट विजुलीको तार लैजान प्रकृया यहि हिउँदबाट सुरु गर्ने भएको छ। पहिलो चरणमा रत्नपार्क र महाराजगंज वितरण केन्द्र अन्तर्गतका ग्राहकहरुलाई भूमिगत तारबाट विजुली पुर्याउने प्राधिकरणको योजना छ।

‘भूमिगत तार बिच्छाउन टेण्डर हाल्ने कम्पनीको अहिले मूल्याङ्कनको काम जारि छ’ प्राधिकरणका प्रवक्ताले भने- आगामी मार्च (फागुन-चैत्र) सम्म ठेक्का सम्झौता हुन्छ।’

रत्नपार्क, सिंहदरवार, पुतलीसडक, न्युरोड, जमल, दरबारमार्ग, नक्साल, बालुवाटार, लाजिम्पाट, महाराजगंज र चक्रपथ क्षेत्रमा पहिलो चरणमा भूमिगत तारबाट विजुली पुर्याइने छ। यी क्षेत्रका एक लाख घरले भूमिगत तारबाट आएको विजुली बाल्न पाउनेछन्।

घना बस्ती भएको ठाउँमा एक ईन्च माटो पनि कसैले छोड्न मान्दैनन्। कतिपय ठाउँमा विजुलीको पोल भएकै कारण अग्लो घर बनाउन सकेका छैनन्। अब यस्ता सबै समस्याको समाधान हुने भएको छ ।’

प्राधिकरणले सडक नभत्काइ एवं धुलो नउडाइ जमिन मुनी बिजुलीको तार विछ्याउन लागेको हो। एक ठाउँमा खाल्डो खन्ने र त्यहीँबाट ‘अण्डरग्राउन्ड’ भित्रभित्रै १०/१५ मिटरसम्म दायाँ बायाँ तार विछ्याउन मिल्ने पाइप राख्ने प्रविधि ल्याइने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। त्यसो भएमा मेलम्चीको पाइप बिछ्याउँदा जस्तो सडक खनेर धुलो उडाउनु पर्दैन।

भूमिगत तार बिच्छाउने कामसँगै स्मार्ट मिटर र स्मार्ट ग्रिडको काम पनि प्राधिकरणले अघि बढाउएको छ। यी दुबैको लागि पनि टेन्डर हुन बाँकी छ। भूमिगत तारको टेन्डर हाल्ने समय सकिएको छ। स्मार्ट मिटर र ग्रिडको लागि टेन्डर हाल्ने समय बाँकी रहेको अधिकारीले बताए।

स्मार्ट मिटर जडान भएपछि कसैले बिजुलीको बिल तिरेन भने कार्यालयबाटै लाईन काट्न सकिन्छ। कतै लाईन बिग्रियो भने स्मार्ट ग्रिडका कारण अफिसबाटै मर्मत गर्न सकिन्छ।

टेलिफोन र केवल तार पनि भूमिगत
विजुलीको तार भूमिगत गरेपछि पोलहरु बिस्थापित हुनेछन्। विजुलीको पोल भएरै टाँगिएका टेलिफोन, केवल टीभी र ईन्टरनेट सेवा प्रदायक कम्पनीका तारलाई पनि भूमिगत मार्गबाट हिँडाउने प्राधिकरणको योजना छ।

विजुलीको तार भूमिगत बनाउँदा तीन वटा अप्टिकल फाईबर राख्ने पाईप पनि सँगै राखिनेछन्। नेपाल टेलिकमले एउटा अप्टिकल फाईबरको लाईन लिनेछ। अन्य दुईवटा अप्टिकल फाईबर राख्ने पाईप खाली रहनेछन्। त्यहाँबाट इन्टरनेट एवं केवल टिभीका तार लैजान मिल्नेछ।

नेपाल दुरसञ्चार प्राधिकरणले सबै ईन्टरनेट र केबल अपरेटरहरुसँग यसबारे छलफल गरिरहेको छ। ‘हामी पनि दूरसञ्चार प्राधिकरणसँग छलफलमै छौ, अधिकारीले भने- बाँकी रहेको अप्टिकल फाईबरको लाईन भाडामा दिने वा प्राधिकरणलाई बेच्ने भन्ने बारे कुराकानी भइरहेको छ।’

भूमिगत तारबाट विजुली दिए पनि तत्काल पोलबाट दिएको विजुलीको लाईन नकाट्ने अधिकारी बताउँछन्। भूमिगत तार, स्मार्ट मिटर र ग्रिडको परीक्षण काल एक वर्षको हुनेछ। परीक्षण कालभर पोलमा रहेको तारबाट पनि विजुली दिईने छ। परिक्षण सफल भयो भने विजुलीको पोल पूर्ण रुपमा विस्थापित गरिने बिजमाण्डुले लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *