किरातभूमिमा हरिनन्द पाध्यको खलनायकी भूमिका

इतिहास

किरातभूमिमा हरिनन्द पाध्यको खलनायकी भूमिका

इन्द्र नारथुङे
“हाम्रो फौज तपाईको सहयोगले दुधकोशी नदि तर्यो । हरिनन्द पाध्य कृपया शीघ्र किरात भूमि बिजय गर्न हामीलाई सहयोग गर्नुहोस् । हामी तपाईको उज्ज्वल भविश्यको लागि सहयोग गर्ने छौं ।”
गोर्खाली फौजका कमाण्डर रामकृष्ण कुँवरले बि.सं. १८२९ भाद्र १३ गते खोटाङ खार्पाका हरिनन्द पाध्य उर्फ हरिनन्द पोखरेललाई लेखेको पत्र हो माथिको अंश ।indra narathunge
तात्कालिन माझकिरात अन्तर्गतको हतुवागढी र चौडण्डीगढी क्षेत्रका राजा कर्ण सेन थिए । उनी हिन्दु भएको नाताले उनको दरबारमा हरिनन्द पाध्य पुरोहितको रुपमा काम गर्थे । उनी राजाको पुरोहित भएको हुनाले तात्कालिन किरात राज्यको अवस्था बारे राम्रोसँग जान्दथे । एकप्रकारले भन्ने हो भने उनी किरात राज्यको बारेमा जसुसी गर्दथे । उनै हरिनन्द पाध्यले पूर्वको किरातभूमिमाथि आक्रमण गर्न नुवाकोट दरबारमा गोर्खाली राजा पृथ्वीनारायण शाहलाई पत्र लेखेका थिए । भनिन्छ, पत्रको साथमा किरातभूमिको माटो पनि उनले पृथ्वीनारायण शाहको पाउमा चढाएका थिए । जसको प्रमाणको रुपमा गोर्खाली सेनाका अधिकृतहरु अभिमानसिं बस्नेत र पारथ भण्डारीले बि.सं. १८३० फागुन १५ गते हरिनन्द पाध्यलाई लेखेको यो तलको अर्को पत्रलाई लिन सकिन्छ ।
“तपाईलाई शुभकामना । तराई र पहाड समाविष्ट नौलाख किरातभूमि विजय गर्न फौज पठाउनु भनी लेखी पठाएको अनुरोध पत्र अवगत गरि नुवाकोटका राजा धेरै सन्तुष्ट हुनुभयो । कृपया बिजयपुरका देवान बुद्धिकर्ण राईले आर्जेको पहाड र तराई क्षेत्र बिजय गर्ने योजना बनाउनु होला ।”
माथी उल्लेखित दुई पत्र करिब ६ महिनाको अन्तरमा लेखिएको छ । दोश्रो पत्रले गोर्खाली फौजलाई किरातभूमि माथी आक्रमण गर्न हरिनन्द पाध्यले नै पृथ्वीनारायण शाहलाई पत्र लेखेको कुरा पुष्टि गर्छ भने पहिलो पत्रले गोर्खाली फौजलाई किरातभूमि पस्न वा किराती गढीहरुमा आक्रमण गर्न हरिनन्द पाध्यले सहयोग गरेको प्रष्ट पार्छ । त्यसैले तात्कालिन किराती राज्य वा भूमिमाथि हरिनन्द पाध्यले धेरै ठूलो घात गरेको ठहर्छ ।
माझ किरातमाथि आक्रमण गर्न हरिनन्द पाध्य पोखरेलले गोर्खालीहरुलाई निमन्त्रणा मात्रै गरेका थिएनन्, दुधकोशी नदि तर्नलाई डुङ्गाको ब्यवस्था गर्नेदेखि, गोर्खाली सेनाहरुलाई भोजनको ब्यवस्था गर्ने काम उनी र उनका दाजु त्रिलोचन उपाध्याय पोखरेलले गरेका थिए । वि.सं. १८३० फागुन १५ गते अभिमानसिं बस्नेत र पारथ भण्डारीबाट हरिनन्द पोखरेललाई लेखिएको पत्रमा उनले गोर्खाली सेनालाई दुईपटक आर्थिक सहयोग समेत गरेको उल्लेख छ । सो पत्रमा उल्लेख भएअनुसार दुईपटक गरेर ११,०५१ (एघार हजार एकाउन्न) रुपैयाँ गोर्खाली सेनालाई हरिनन्दले ऋण दिएका थिए ।
गोर्खाली सेनालाई हरिनन्द पाध्यले आर्थिक सहयोग गरेको रकमलाई हेरेर थाहा लाग्छ कि, उनी त्यसबेला माझ किरातमा धेरै धनी थिए । सेन राजाको पुरोहित भएकोले राजालाई प्रभावितपारी माझ किरातमा आर्यहरुको बस्ती बसाउने र बिर्ता लिने कार्यमा उनी सक्रिय थिए । सेन राजाको अधिनमा भए पनि स्वतन्त्र राज्य सञ्चालन गरिरहेका माझ किरातको आपुङ्गी किरात राजाहरुले हरिनन्दको बढ्दै गएको प्रभावलाई सहने कुरै थिएन । त्यसैले आफ्नो सम्पत्ति जोगाउनको लागि पनि उनले कुनै सुरक्षित बाटो खोज्नै पर्थो । त्योबेला गोर्खाली राजा पृथ्वीनारायण शाहमा उनको नजर पर्नु स्वभाविकै थियो । माझ किरातको माटो मात्रै हरिनन्द पाध्यले नुवाकोट लगेका थिएनन् उनले कर्ण सेनको दरबारमा काम गर्ने सैनिक जवान स्वरुपसिं कार्कीलाई पनि लिएर गएका थिए । स्वरुपसिं कार्कीलाई पृथ्वीनारायण शाहले तत्कालै सैनिक अफिसर (सरदार) मा नियुक्त गरे ।
हरिनन्द पाध्य नुवाकोट पुग्दा, पृथ्वीनारायण शाहले कान्तिपुर र ललितपुर कब्जा गरिसकेका थिए । बाँकी थियो मितबुवाको राज्य भक्तपुर जित्न । भक्तपुर नजिती उपत्यका पूर्णरुपमा हात लाग्दैन थियो । त्यसैले भक्तपुरलाई जितेपछि किरातभूमि आउने बचन दिएर हरिनन्द पाध्यलाई पृथ्वीनारायण शाहले माझ किरातमै फकाईदिए । साथै माझकिरातमा रहेको खसआर्यहरुलाई आफ्नो पक्षमा पार्न र माझ किरातको गतिबिधि अध्ययन गर्न हरिनन्द पाध्यको साथ लाएर गोप्य रुपमा ‘बाङ्ग्या बस्न्यात’लाई समेत पृथ्वीनारायण शाहले पठाए ।
राजा कर्ण सेनको दिवान अर्थात प्रमुख मन्त्री अजित राय (अगमसिं चाम्लिङ)  थिए । राजा कर्ण सेन भए पनि अधिकार दिवान मै केन्द्रित थियो । राजपुरोहित हरिनन्द पाध्य सुटुक्क नुवाकोट गएर पृथ्वीनारायण शाहलाई किरातभूमिको माटो चढाएको अजित रायले थाहा पाए । अजित रायले तुरुन्तै हरिनन्द पाध्यलाई पक्रेर मार्न आदेश दिए । तर हरिनन्द पाध्य भाग्न सफल भए । उनी भागेर पूर्णिया पुगे र त्यहाँ आफ्नै खर्चमा थुप्रै बन्दुक किनेर सुटुक्क माझकिरात पुगे । यता भक्तपुर कब्जा गरेपछि पृथ्वीनारायण शाहको ध्यान माझ किराततर्फ सोझियो । मकवानपुर राज्य अन्र्तगत रहेको दुधकोशीवारीको भू–भाग पहिला नै गोर्खाली सेनाले कब्जा गरिसकेको हुनाले दुधकोशीवारी बसेर पारी तर्न र त्यहाँ पुगीसकेपछिको बन्दोबस्ती मिलाउन सजिलो थियो ।
सन् १७७२ अगस्त २५ तारिकको रात सरदार रामकृष्ण कुँवरको नेतृत्वमा गोर्खाली सेनाले दुधकोशी नदि तर्यो । दुधकोशी नदि तर्ने गोर्खाली सेनाहरु मात्र थिएनन्, रशद–पानी बोक्ने भरियाहरु पनि थिए । वल्लो किरातलाई कब्जागरी सकेपछि त्यहाँका बासिन्दाहरु सुनुवार, थामी, जिरेल आदिलाई गोर्खाली सेनाले भरियाको रुपमा उपयोग गरिरहेका थिए । तर तिनीहरुलाई सेना बन्न भने प्रतिबन्ध थियो । दुधकोशी नदि तरेर गोर्खाली सेनाहरु माझ किरात पस्दा त्यहाँका खसआर्यहरुले धुमधाम स्वागत गरे । यसो हुनुको पछाडि हरिनन्द पाध्य र उनको दाजुले भित्रभित्रै खसआर्य समुदायलाई संगठित गरिसकेका थिए । तिनै हरिनन्द पाध्य र खसआर्यहरुले देखाएको बाटो पहिल्याउँदै गोर्खाली सेनाले रावाथुम, मझुवागढी, पाखाखामथुम, महाकुलुङ र दिङ्लाथुम समेत दखल गरे । तर गोर्खाली र माझ किरातको सेनाबीच भयंकर संघर्ष भएको थियो । गोर्खाली सेनासँग प्रशस्तै बन्दुक थियो भने किराती सेनाहरु धनुषकाँडको भरमा लडेका थिए । किराती सेना धुनुषबाँण चलाउनमा अति निपूर्ण भएको र उनीहरु विषमा चोपिएको काँड प्रयोग गर्थे भनेर गोर्खाली सेनाका कप्तान धोकलसिंह बस्न्यातको एक सिलालेखमा समेत उल्लेख छ ।
माझ किरातको बिजय महत्वपूर्ण थियो भन्ने कुरा पृथ्वीनारायण शाहले वि.सं. १८३० फागुन ९ गते रामकृष्ण कुँवरलाई लेखेको पत्रबाट पुष्टि हुन्छ—“किरात हान्यूं ४÷५ सय कत्तल भयो भन्या पत्रार्थबाट जाहोर भयो. वहुतै बढीया गर्यौ. तिमी देषी बहुतै षुसी भया . नेपाल मार्दाको किरात मार्दाको मिहिनेत अरु सर्दारभन्दा तिमी मुष्य भयौ  . तिम्रो मिहिनेतदेषी षुसी भै २२ जोर सिरपाउ बक्सी पठायाको छ प्रहै…’ । उता माझकिरात जित्नको लागि सबै प्रकारको सहयोग गरेवापत हरिनन्द पाध्यलाई पहाड, भित्री मदेश र तराईको धेरै जमिन बिर्ता दिईएको कुरो वि.सं. १८३० फागुन १५ गते अभिमानसिं बस्नेत र पारथ भण्डारीबाट हरिनन्द पोखरेललाई लेखिएको पत्रबाट थाहा हुन्छ । जुन माटोको अन्नले उनको प्राण बाँचेको थियो, त्यही माटोको बिरुद्ध हरिनन्द पाध्यले ठूलो घात गरेका देखिन्छन् । तात्कालिन गोर्खालीहरुको लागि उनी नायक हुन् तर किरात र किरातभूमिको लागि उनी खलनायक थिए ।
सन्दर्भ सामग्री :
आचार्य बाबुराम–श्री ५ बडामहाराजधरिाज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी
चेम्जोङ इमानसिं : किरात इतिहास र संस्कृति
इतिहास प्रकाश भाग १
लाल बाकस पञ्जिका, आदि

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES