कुवेत पुगेर सम्पर्कविहिन भइन लोक दोहोरी गायिका भगवती खड्का

काठमाडौ १३ भदौ-दोलखा जिल्ला बिगू गाउँपालिका घर भएकी भगवती खड्का गत चैतमा घरपरिवारसँग सल्लाह नै नगरी कुवेत पुगेकी थिइन् । कुवेतमा कसरी कुन माध्यमबाट पुगेको भन्ने कुरा कसैलाई पनि जानकारी छैन् । निम्न वर्गीय परिवारमा जन्मिएकी खड्काको पारिवारिक स्थिति निकै नै कमजोर थियो । उनी छिमेकीको घरमा बिहान बेलुका काम गर्दै कक्षा १० सम्म श्री हिमालय मावि चिलंखामा अध्ययन गरेकी थिइन् । २०७२ मा एसएलसी परीक्षा दिइन तर सफल हुन सकिनन् ।

त्यसपछि आर्मी , प्रहरीमा जागिर खान पटक पटक प्रयास गरेपनि त्यो प्रयास पनि सफल हुन सकेन् । उनी मिठो स्वरको धनी थिइन् । गायिका बन्ने सपना बोकेर काठमाडौ आइन् र कलाकारिता क्षेत्रमा लागिन् । उनको दुई ओटा गीत अहिले पनि सर्वत्र बजारमा उपलब्ध रहेका छन् । पहिलो आकाशको जुन छुन्छु र दोस्रो ए ह्यानसम सुन भन्ने बोलको गीत बजारमा ल्याएकी थिइन् । तर विडम्बना कलाकारिता क्षेत्रबाट पनि आर्थिक आय आजर्बन गर्न नसकेपछि बैदेशिक रोजगारीमा जाने बिचार गरिन् ।

केही गरौ भन्ने सोच विचार जोश जागर, उत्साह , साहस भएकी खड्का दई चार बर्ष विदेश बस्ने र आर्थिक रुपमा आत्मनिर्भर भै स्वदेशमा केही गरेर देखाउने बताउथिइन् । त्यही सोचका साथ उनी साइप्रस जाने तयारीमा लागिन् । तर साइप्रस जान सक्ने उनको आर्थिक स्थिति थिएन् । उनलाई सहयोग गर्ने छरछिमेकी घरपरिवार र आफन्त कोही पनि भएन् । साइप्रस जाने भनेर मेडिकल परीक्षण सम्म गरी सकेकी थिइन् । अन्त्यमा आर्थिक अवस्थाकै कारण साइप्रस जानबाट बञ्चित भइन् र उनको सपना चक्नाचुर भयो ।

आफू र आफ्नो परिवार गरिब भएकै कारण कसैले सहयोग नगरेको भन्दै उनी निकै दुःखी भएकी थिइन् । उनी ललितपुरको गोदावारीमा दाजुभाउजुसँग बस्दै आएकी थिइन् । गत चैत ७ गतेतिर एक्कासी कोठाबाट निस्किएर उनी सम्पर्कविहिन भइन् । उनले प्रयोग गर्ने मोबाइलमा फोन लागेन उनले पनि कसैसँग सम्पर्क गरिनन् । करिब त्यसको ७ दिनपछि आफू कुवेत आएको र काममा लागेको भाइ टपन खड्कालाई जानकारी गराइन् । एक महिना पुगेपछि पैसा पठाइ दिने भन्दै घरपरिवारमा पीर नगर्न भनेको भाइ टपनले बताए । तर, त्यसको १५ २० दिनपछि परिवारसँग उनी आफै सम्पर्कविहिन भइन् ।

उनका भाइ टपन खड्का सबओभरसियरको विद्यार्थी हुन् । उसले विहान कलेज पढेर दिउँसो मजदुरी गरेर केही रकम जम्मा गरेका रहेछन् । त्यो रकम पनि उनै दिदी भगवती खड्काले विदेश जान्छु भनी भाइबाट पैसा लगेकी रहिछिन् । टपन भन्छन् एकातिर दिदी हराएको पीर अर्काेतिर आफूसँग खान बस्न पैसाको अभाव भएको र कति छाक खानै नखाएको उनी बताउँछन् ।

उनको खोजी कार्य अहिले तीव्र गतिमा भइ रहेको छ । बैदेशिक रोजगार विभागले उनले श्रम स्विकृति नलिएको जनाएको छ । उनी अबैधानिक ढङ्गले कुवेत पुगेको अनुमान गरिएको छ । केन्द्रिय अनुसन्धान ब्युरो सिआइबीका एसएसपी शेरबहादुर बस्नेतले अनुसन्धान पछि उनको पत्ता लाग्ने बताएका छन् । त्यसैगरी श्रम तथा रोजगार मन्त्री फर्मुल्लाह मन्सुरले पनि कुवेत स्थित नेपाली राजदुत यज्ञबहादुर हमाललाई उनको अवस्थाबारे पत्ता लगाउन निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *