कृषिलाई आधुनिकीकरण गरेर आर्थिक समृद्धि गरिने: प्रधानमन्त्री पुष्पकमल दाहाल

पौष ७ कैलाली, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषिको आधुनिकीकरणबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् । बुधबार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कैलालीको उदासीपुरमा सञ्चालन हुने (गहुँ खेती) सुपरजोन कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्रीले कृषिको आधुनिकीकरणबाट आर्थिक समृद्धिको जग बसाल्न सकिने बताएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भनेका छन्, ‘राजनीतिक परिवर्तनपछि अबको हाम्रो प्राथमिकता आर्थिक समृद्धि हो । आर्थिक क्रान्तिले मात्रै राजनीतिक स्थिरता हासिल गर्न र प्राप्त उपलब्धि जोगाउन सकिन्छ । अहिले सञ्चालन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्ने परियोजना हो । सरकार कृषिको आधुनिकीकरणमार्फत् आर्थिक समृद्धि हासिल गर्न चाहन्छ ।’

कार्यक्रममा प्रधानमन्त्रीले निर्वाहमूखी खेती प्रणालीलाई बदलेर जमिनको चक्लाबन्दीसहित आधुनिक कृषि प्रणालीमा जानुपर्ने आवश्यकता औलाएका छन् । ‘हाम्रो खेती प्रणाली निर्वाहमूखी छ, यसलाई बदल्नुपर्छ । जमिनको चक्लाबन्दी गरेर आधुनिक प्रविधिमार्फत् कृषिको आधुनिकीकरण गर्न जरुरी छ । सरकारले कृषिको आधुनिकीकरणका लागि देशब्यापी रुपमा अभियान सञ्चालन गर्नेछ भनेर प्रधानमन्त्रीले भनेका छन् ।’
उद्घाटन कार्यक्रममा समसामयिक राजनीतिबारे बोल्दै प्रधानमन्त्रीले भने, ‘संविधान कार्यान्वयनका लागि राजनीतिक सहमति जुटाउने कोशिस भइरहेको छ । हिमाल, पहाड र तराई मिलाएर राष्ट्रिय एकता हासिल गर्ने र निर्वाचनमा जाने तयारी हुँदैछ । प्रमूख दलहरुको सहमतिमा निर्वाचनको मिति घोषणा हुन्छ र संविधान कार्यान्वयनले तिब्रता पाउँछ ।’

कार्यक्रममा कृषिमन्त्री गौरीशंकर चौधरीले कृषि मन्त्रालयले किसान लक्षित भएर कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिएको बताउँदै सुपरजोन कार्यक्रम सात वटै प्रदेशमा सञ्चालन गरिने बताए । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत देशका सात वटै प्रदेशमा स्थानीय प्रमूख बालीको उत्पादनमा जोड गर्ने, कृषिको आधुनिकीकरण, बजारीकरण र किसानहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको कृषि विकास मन्त्रालयका सचिव डा. सुरोज पोखरेलले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *