खोटाङमा २६ दिन अगाडिदेखिको बन्द सडक खुल्ला,पुरानै स्थानिय संरचना कायम गर्ने सर्वपक्षीय प्रतिबद्दता

माघ २२ खोटाङ,स्थानीय तह पुनःसंरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनको विषयमा असन्तुष्टी जनाउँदै खोटाङमा तीन साताअघि देखि सुरु भएको अनिश्चितकालीन सडक बन्द फिर्ता भएको छ ।

जिल्लाबाट सर्वसम्मतिमा सिफारिस गरिएको महुरेगढी गाउँपालिकालाई हटाएर लामीडाँडा बनाइएको विरोधमा पुस २३ गतेदेखि सुरु गरिएको अनिश्चितकालीन सडक बन्द जिल्ला प्रशासन कार्यालयमा आन्दोलनरत पक्षसहित बसेको सर्वदलीय–सर्वपक्षीय बैठकमा ‘महुरेगढी गाउँपालिकालाई कायम गर्न’ जिल्लाका सबै दलले सहयोग गर्ने बताएपछि बुधबारदेखि सडक बन्द फिर्ता लिइएको हो ।

स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले महुरेगढी गाउँपालिकामा समावेश गरेको बुइपा, राजापानी, विजयखर्क र नुनथला गाविसमध्ये आयोगले बुइपा र नुनथलालाई रुपाकोट मझुवागढी नगरपालिकामा तथा राजापानी र विजयखर्क गाविसलाई हलेसी तुवाचुङ नगरपालिकामा समावेश गरेको छ ।पुनःसंरचना आयोगले खोटाङ जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिका बनाउन सिफारिस गरेको थियो ।

जिल्लास्थित राजनीतिक दलले पनि जिल्लाबाट सिफारिस गरिएका प्रतिवेदन जस्ताको तस्तै पारित गर्नुपर्ने बुधबार संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै माग गरेका छन् । जिल्लाबाट सिफारिस गरिएको भन्दा आयोगले फरक खाकाको प्रतिवेदन बुझाएकाले जिल्लाको सिफारिस नै कायम गर्न माग गरिएको नेपाली काँग्रेस खोटाङका महासमिति सदस्य विष्णुकुमार राईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *