गाउँको वैसहरु:कविता-भिम दुमी(माक्पाली कान्छा)

शहर पुगेछ गाउँ
विकास छिरेछ
वस्तिहरुमा
धानकोदो र मकै फल्ने
खेतबारीमा पसेछ
विकास
डुङडुङती उडाउँदै धुलो
कराउँदै टाँ..टाँ..टुँ.. टुँ..

छोपेछ उत्तिसको हरियो बोट
घरको धुरी पुरिएछ धुलोले
मासिएछ हाम्रो आपाले खाने
काँचोपातको बोट
खोसेला, पात्ले र भोर्लाको पात
विस्थापित गर्दै
पुगेछ पाइलट, खुकुरी र गोर्खाको फिल्टर

पाक्न छाडेछ कोदोको उम्मा
पारिदैन अचेल तिनपाने आरखु
साईला, तिरिमिरि झ्याई, जिरेखुर्सानी
स्यानमिगेल, गोरखा, टुबोर्गले हटाएछ
मेरो आमाले पनि आमाकै हातबाट लिएको
फुङगा पईनी र बाटाहरु

आमाले आगो बाल्दै गरेको अगेनुमा
पाक्दै न गुन्द्रुक, भुटिदैन मकै भटमास
उमालिदैन खस्साकङकुको पानी
टयाक्टरले अक्वाको मिनिरल वाटर
पुर्‍याएपछि खादैनन् उतिसफेदको जरुवा
चाउ चाउ र विस्कुट पकाउनै नपर्ने भएपछि
भुटिदैन जुनेलोको दानाहरु
पाल्दैनन् गाई भैसी
पिउन पर्दैन दही मोही
रुचाउँदैनन् नानीहरु
बोत्तलका बोत्तल डिउ र कोकहरु
उपलब्ध भएपछि किन पिउन पर्‍यो

यी सब थोक
हो शहर गाउँ पसेपछि
भागेछन् हाम्रा
लेलेदुम कोकोदुम
सोक्पा र वनझाँक्रीहरु
हराएछ
ढिकि र जाँतो
कोदोको तिनपाने, हरियो काँचोपात
बाक्लो दही मही, मकै र भटमास
शहर गाउँ पसेपछि
विकास गाउँ छिरेपछि
अझै धेरै हराएछन्
गाउँको वैँसहरु
अझै धेरै भागेछन्
यूवा मनहरु

भिम दुमी(माक्पाली कान्छा)

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES