गाउँलेको “पार्सल” र विन्दुको “विन्दुवाण” सार्वजनिक

ईन्द्र जिजीबिषा- काठमाडौं, २९ साउन- साहित्यकारद्वय जीवन देवान गाउँले र तुलसी विन्दुका दुई कृति विमोचन गरिएको छ । जीवन देवान गाउँलेको कथा संग्रह “पार्सल” र साहित्यकार तथा कार्टुनिस्ट तुलसी विन्दुको कार्टुन संग्रह “विन्दु वाण” को विमोचन गरिएको हो । वरिष्ठ साहित्यकार तथा प्रज्ञा प्रतिस्ठानको पुर्व कुलपती वैरागी काईलाले विमोचन गरेका हुन् । साहित्यकारद्वय गाउँले र विन्दु मलेसियामा रहेर नेपाली साहित्यमा सक्रिय रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि वैरागी काइँलाले “पहिले हाम्रा पूर्खाहरू लाहुरे भएर आउँथे, अहिले साहित्यकार भएर आउन थालेका छन्” भन्दै जीवन देवान गाउँलेमा राम्रो कथाकारिता रहेको कुरा पनि प्रष्ट्याए । त्यसैगरी व्यङ्ग्यचित्र पनि साहित्यको अभिन्न अङ्ग भएकोले नेपालबाहिर पनि फस्टाउन पाउँदा खुशी भएको व्यक्त गरेका छन् ।

पुस्तकको समालोचना गर्दै समालोचक सुरेश हाँचेकालीले यस कृति वैदेशिक रोजगारीको कथा भन्न मिल्ने बताए । अर्का समिक्षक बिना थिङ तामाङले पार्सलका कथाहरू सामाजिक परिवेशबाट टपक्क टिपिएको बताईन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा आख्यान विभाग प्रमुख मातृका पोखरेलले भने “जीवन देवान गाउँलेको पहिलो कृति नै यतिको चोटिलो कथा लेख्न सक्नु साहित्यमा लोभलाग्दो उपस्थिति रहेको बताए” भने, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा मातृभाषा विभाग प्रमुख श्रवण मुकारुङले आफूले कथा पढिनसकेको भएपनि चर्चा सुन्दै कथामा सम्भावना छ भनेर ठोकुवा गर्न सकिने पनि बताए ।

कार्यक्रमका संयोजक देवेन्द्र सुर्केलीले मलेसियामा सन् १९४७ देखि पर्वते नेपाली पत्रिकाको प्रकाशन भएर नेपाली साहित्यको प्रादुर्भाव भएको बताउँदै करिब ६० वटा भन्दा बढि कृति आए पनि उचित चर्चा भने नगरिएको बताए ।

साहित्यकार जीवन देवान गाउँलेको कथा संग्रह पार्सल भित्र “अरपे”,”विश्वासको हत्या”, “क्याफे वान”, “एकपात्र”, “खोल” ,”मिसकल” , “पार्सल”, “रुपशिखा”, “सपना मात्रै” , “सुयोग”, “आरएम दशको नोट”, र “प्लेन भित्रको साथि” गरी १२ वटा कथाहरु रहेका छन् भने, तुलसी विन्दुको “विन्दु वाण” भित्र समसामयिक, राजनीतिक विषयका ६३ वटा कार्टुन चित्रहरु समेटिएका छन् ।

कार्यक्रममा साहित्यकार टंक सम्बाहाम्फे, कविता राई गाउँले, देविका, चन्द्रा चाम्लिङ, मनोज साङसोन, विष्णु सिंगक, सुक तुम्रोक, जमुना राई, प्रिन्स याक्खा लगायतका साहित्यनुरागी उपस्थित थियो भने नेपाल पत्रकार महासंघ, मलेसियाका पूर्व सभापति विपिन राई, एनआरएन मलेसियाका पूर्व महासचिव सुनिल चालिसे, नेपाल साहित्य समाज इपो मलेसियाका अध्यक्ष युवराज साम्पाङ जेठा,किरात याक्खा छुम्माका अध्यक्ष लिल रोगु, प्रवासी तामाङ एकता समाज मलेसियाका संस्थापक अध्यक्ष विनो लामाको पनि उपस्थिति रहेको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य शशि लुमुम्बूको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई गीतकार टीका चाम्लिङले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *