गीत-संगीतमा मैले राम्रै भविष्य देखेको छु : भोजपुर आईडल दिपक राई

rai dipakभोजपुर युँ ७ हालको आमचोक गाउँ पालिकामा जन्मिएका गायक दिपक राई एउटा सरल गायक हुन् । पछिल्लो समयमा “तिमीलाई नै” गीति एल्बम बजारमा ल्याएर चर्चाको पात्र बनेका छन् दिपक राई । बाबु तुलसबहादुर राई र आमा मनमाया राईको कान्छो छोरोको रुपमा जन्मिएका दिपक राईका दुई दाजु र ३ जना दिदीहरु छन् । २०६८ सालमा भएको पुर्वाञ्चल व्यापी भोजपुर आईडलमा प्रथम भएका गायक दिपक राईले डिप्लोमा फार्मेसी(DPH )को अध्यायन पुरा गरेका छन् ।

“तिमीलाई नै” गीति एल्बम बजारमा ल्याउनु अगाडि खासै चर्चामा नआएका गायक दिपक राईको आफ्नो यो पहिलो गीति एल्बम हो । यो एल्बममा रहेका पाँचवटा गीतहरु मध्ये शिर्ष गीत “तिमीलाई नै ” को शब्द रचना र संगीत पनि आफैले गरेका हुन् । दिपक राईको “तिमी त साथि घर पुगी आयौ” “कहाँ मैले गल्ति गरेछु” “रातै गुराँश फुल्यो रातै” “तिमीले बोलेका बातहरु”जस्ता गीतहरु बजारमा आईसकेका छन् । बरिष्ठ संगीतकार डक्टर किरात संग संगीतको प्रशिक्षण लिएका दिपक राई संग सूचना खबरको लागी ईन्द्र जिजीबिषाले गरेको कुराकानी

“तिमी त साथि घर पुगी आयौ” भन्ने गीत त निक्कै मार्मिक निकाल्नु भएछ नि,आज सम्म कति वटा गीतहरु बजारमा ल्याउनु भएको छ ?
यो भन्दा अगाडि २०६४ सालमा २ वटा गीतहरु रेकर्ड गराएको थिएँ, तर त्यो विविध कारणले बजारमा आउन सकेन । किन भने त्यो मैले अरुकै एल्बमको लागी रेकर्ड गराएको थिएँ । त्यसपछि ग्रुपिङ्गमा भने थुप्रै गीतहरु रेकर्ड गराएको छु । तर सोलो गीत भने अस्ति चैत्र २९ गते रिलिज गरेको “तिमीलाई नै ” भन्ने गीति एल्बमको गीतहरु नै मेरो गीतहरु हुन् ।

यो गीत र गीति एल्बम बजारमा आएपछि दर्शक स्रोताहरुको प्रतिक्रिया कस्तो पाईरहनु भएको छ ?
अहिले बजारमा जुन गीत ल्याईयो, त्यसमा मेडियाहरुको पनि राम्रै साथ् सहयोग रहेको छ । अहिले सम्मको प्रतिक्रियाहरुलाई हेर्दा खेरी राम्रो प्रतिक्रिया पाईरहेको छु । मेरो पहिलो प्रयास भएपनि मैले सकेसम्म राम्रो गर्ने कोशिस गरेकोले गीत पनि राम्रै नै भएको छ । यसमा दुई वटा गीतको चाहिँ म्युजिक भिडियो पनि बनाएको छु । त्यो गीतलाई हेर्न चाहनु हुन्छ भने, युट्युबमा गएर दिपक राई सर्च गर्दा पाउन सक्नु हुनेछ ।

तपाईं त भोजपुर आईडल पनि जिती सक्नु भएको गायक, सांगीतिक बजारमा किन ढिलो उदाउनु भयो ?
यो बारेमा मैले भन्नै पर्छ,जब म पुर्वाञ्चल व्यापी भोजपुर आईडल जिते,त्यो भन्दा अगाडि पनि म सामान्य रुपमा गीतहरु गाउँथे । औपचारिक रुपमा भने भोजपुर आईडल जितेपछि मात्रै लागेको हुँ । आईडल जितीसके पछि,संगीतलाई निरन्तरता दिनुपर्छ भन्ने लाग्यो । गीत-संगीत प्रेमीहरुको, म प्रतिको आशालाई पनि त मैले मारिदिनु हुन्न थियो । तर बिचमा मेरो घाटिको समस्याले गर्दा काम गर्न सकिन । मेरो घाटीमा जिब्रोको मुनिबाट स्टोन भएको रहेछ । त्यसले गर्दा र्‍याल ग्रन्थिहरुलाई ब्लक गरेकोले अलिक असहज भएको थियो । पछि त्यसलाई अप्रेसन गरेकोले मेरो बिचको समय त्यतिकै बित्यो । यसैकारण म सांगीतिक माहौलमा अलिक ढिलो आएको हुँ ।

अहिले चाहि तपाईं के गरिरहनु भएको छ ?
मेरो पेसा त म फार्मेसिस्ट हुँ र त्यसैमा आबद्ध पनि थिएँ । तर पछिलो समय भने, म गीत-संगीत क्षेत्रमै सक्रिय छु । यो मेरो बाल्यकाल देखिकै रुचि पनि हो ।

अब, तपाईंको विगत तिर फर्कौ,गीत-संगीत क्षेत्रमा कहिले र कसरी लाग्नु भयो ?
जतिबेला देखि मेरो ज्ञान आयो, त्यतिबेलै देखि अरुको गीतहरु सुनेर कपि गर्ने गर्थे । त्यतिबेला गाउँमा रेडियोहरु पनि सबैको घरमा हुदैन थियो । कसै कसैको घरमा भएका रेडियोमा बजेको गीतहरु सुनेर,गुनगुनाउने गर्थे । अरुले गाएका गीतहरु सुनेर म आफू पनि गीत गाउँथे । त्यसरी गीत गाउँदा, दाई दिदीहरुले तिम्रो स्वर राम्रो छ भनेर मलाई प्रोत्साहन गर्नुहुन्थ्यो । यसरी गाउँदा गाउँदै, २०६८ सालमा भोजपुर आईडल जिते,त्यसपछि काठमाडौ आएर गीत-संगीतमा औपचारिक रुपमा लागेको हुँ ।

गीत संगीत सम्बन्धि, औपचारिक शिक्षा पनि लिनु भएको छ ?
मैले,वरिष्ठ संगीतकार डक्टर किरात संग संगीतको प्रशिक्षण लिएको छु । उहाँ एकदमै,मिलनसार र व्यक्तित्वको धनि पनि हुनुहुन्छ ।

गीत-संगीतमा भविष्य देख्नु भएको छ त ?
गीत-संगीतमा मैले राम्रै भविष्य देखेको छु । तर मैले यहि गीत-संगीत बाटै सबै चिज प्राप्त गर्न सकिन्छ भन्न खोजेको हैन । मान्छेको जीवन बिताउनलाई त हरेक कुराको आवस्यकता पर्छ । त्यसैले यहीं बाट मेरो जिविका चलाउछु भन्न त सक्दिन । किनकी नेपाली बजार नै सानो छ । यसमा पनि उचित व्यावस्थापन नभएकोले यसैबाट जीवन निर्वाह गर्न सकिन्दैन । तर मैले यो मानेमा भनेको हुँ, अबको समय परिवर्तनशिल छ । समयको परिवर्तन संग-संगै, राज्यले कलाकारहरुलाई व्यवस्थापन पनि गर्नु पर्छ । कलाकार भनेको राज्यको एउटा अभिन्न अंग हो । जस्तै :-सयौ थुङ्गा फूलका हामी एउटै माला नेपाली भन्ने राष्ट्रिय गीत प्रायजसो कार्यक्रम सुरुवात गर्नु अगाडि बजाईन्छ । तर त्यो गीत गाउने गायक,संगीतकार अनि शब्द रचनाकारहरु छायाँमा परिरहेका हुन्छन् । यस्तालाई चाहिँ सम्बन्धित निकायले बुझिदियो भने,पक्कै पनि राम्रो हुनेछ ।

पछिल्लो समयमा आएर, तपाईं कुन-कुन गीतहरुको लागि काम गर्दै हुनुहुन्छ ?
अस्ति चैत्र २९ गते,नयाँ बर्षको अवसर पारेर,”तिमीलाई नै” भन्ने गीति एल्बम विमोचन गरे । त्यसमा पाँचवटा गीतहरु रहेका छन् । विमोचन पछाडी मैले २ वटा स्वदेश गान रेकर्ड गराएको छु । त्यो मध्ये एउटामा चाहिँ, मेरो आफ्नै शब्द संगीत पनि रहेको छ । त्यसको अलावा अर्को एउटा गीतको पनि काम भएको छ । एल्बम विमोचन गरेपश्चात मैले ३ वटा गीतहरु रेकर्ड गरिसकेको छु ।

अब अन्त्यमा,तपाईंको भावी योजना चाहिं के छ त ?
अबको मेरो योजना भनेको,गीत-संगीतलाई नै निरन्तरता दिने हो । गीत-संगीत मेरो बच्चा देखिकै नशा पनि हो ।

गायक दिपक राईको “तिमी त साथी घर पुगी आयौ” गीतको म्युजिक भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *