चन्द्र रानाहँछा र उमेश अकिञ्चनको कविता चौतारीमा बिसौ कविताहरु(कविता सहित)

माघ १७ काठमाडौ, कवि चन्द्र रानाहँछा र कवि उमेश अकिञ्चनले कविता चौतारीमा उपस्थित दर्शक स्रोताहरुलाई बिसौ कविताहरु श्रवण गराएका छन् । मिलाप साहित्यिक परिवारको आयोजनमा सम्पन्न कविता वाचन कार्यक्रममा कवि चन्द्र रानाहँछाले अर्को जन्ममा शिर्षक रहेको कविता बाट वाचन सुरु गरेर, यात्रामा, आमाको सम्झना,अनुपस्थितमा,रेटिएको ईतिहासका कथा, आपाको सालिक, एक्कासी तिमीलाई भेट्दा,रितो आकाश, ईश्वरको सवारी,हुरि चल्ना साथ, नफर्किनेहरुलाई गरेर दस वटा कविताहरु वाचन गरेका थिए ।

यसैगरी अर्का कवि उमेश अकिञ्चनले, किनारी कृत प्रश्न, टोक्योमा टेकेको डोबहरु, दोस्रो पृथ्वी, दृष्टिकोण, बाराक ओबामा, जीवन तीन दृष्य, सोल्टिनी सहर, भूगोल पार्क,मोनोलिसा र मार्च ८ र आमाको समाधिस्थल गरेर दसौं कविता वाचन गरेका थिए । कवि रानाहँछाको कविताले, संस्कृतिको बिम्ब झल्काउने, भन्न खोजिएको कुरा सजिलै बुझ्न नसकिने भएको हुँदा, निक्कै गहिरिएर रानाहँछाको कवितालाई अध्ययन गर्नु पर्ने र अकिञ्चनले कविता सरल र सिधा विषय वस्तुमा लेख्ने गरेको कवि तथा प्राज्ञ श्रवण मुकारुङले बताए ।

कवि: चन्द्र रानाहँछाको एक कविता

अर्को जन्ममा
खोला हुन पाऊँ भनेर
किरातेश्वर !
कान्छा किरातीले तिमीलाई
खोलाकै अंश चढायो आँखाबाट
बल्झिदा छाती
बेहालत किराती
पिउँछकोदोको तीनपाने
व्याथाको सितनसित
मगज चर्किने गरि पिउँछ ।
दुख्दै यो बाटो हिड्दा उसले
सयौपल्ट हात जोडीसक्यो यहाँको देउरालीलाई
धनुकाँड सिरानी हालेर
रुदै पल्टिदा
देखिएको हृदय जस्तो आकाश बाट तिमीले
किन हाँसी दियौ देउता ?
ऊ त फूललाई दुख्ला कि भन्दै, बोल्ने कवि पो त
हिउँलाई चिसो लाग्यो कि भन्दै आगो फुक्ने किराती पो त
नत्र
डबका जाँड किन, सीसी फालेर मात्रै पिउँछ ऊ ?
मलामी गएर फर्कदा किन आगो टेकेर मात्र घरभित्र छिर्छ ऊ ?
तै,उसले लेखेको मुन्दुमको कविता
या उसैले गाएको पुर्खाको
समर्पण गरेर नि:सर्त तिमीलाई
झुकेको छ शिर ।
उप्रान्त –
उसले उसको गोरेटो सोध्दा
भिर नदेखाइदिनु
उसले उसको खुसि रोज्दा
पिर नथमाइदिनु ।
साँझको धमिलो सिमाना बाट
बोकेर दर्जनौ तातो पृथ्वी
झरिरहेछ किराती ओह्रालो ….
नपुछियोस
डाँडामा पोखिएको घामको झोल
ऊ आँधीसँग हार्ने मान्छे कदापि होइन
ऊ आफैसित भाग्ने मान्छे हुदै होइन
किरातेश्वर !
अर्को जन्ममा कान्छा किरातीलाई
खोला बनाईदेउ …..!

कवि: उमेश अकिञ्चनको कविता

जिवन तीन दृश्य
ब्ल्याक बोर्डमा
बूढो टिचरको
काम्ने हातले लेखेका
अलजेब्राका फरमूला सम्झे झैँ गरी
पाईला-पाईला गनेर
रोकिदै हिड्नु, हिडेर रोकिनु
यहि हो सायद
जीवनको गणित
आँखाको मण्डपमा
सहनाई अजाउदै आउने
सपनाका लामा जन्ति
अनि
बादल झैँ टाढा पुगेका
रङ्गीन पछ्यौरीहरु
सम्झिदै लेख्नु
लेखेर सम्झिनु
यहि हो सायद
जीवनको कविता
मन्दिर परिसरमा गुन्जिने
टाढा बाट आधा सुनिने
भजनका खण्डित स्वरहरु संगै
बहिरहने हावामा
हिड्दै जाने
भगवानका अमुर्त अनुहारहरु
देखेर नचिन्ने
चिनेर नदेख्नु
यहि हो सायद जीवनको अमूर्तता ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES