जनयुद्धकी बहिनीलाई दाजुको चिठ्ठी

प्यारी बहिनी आस्था,
हृदयदेखिको मायासहित क्रान्तिकारी अभिवादन !

आराम छु अनि सोही कामना गर्दछु । पार्टी शान्ति प्रक्रियामा आएपछिको लामो अन्तरालपछि केही समयअघि मात्र तिमीसँग लामो भलाकुसारी गर्ने मौका मिल्यो । धेरै कुरा त मैले तिमीलाई भेटमै भनिसकेको छु, तर केही विषय चाहिँ यो पत्रमार्फत सम्झाउने आवश्यकता ठानेर लेख्दैछु ।
तिमीलाई लाग्न सक्छ, फोन इमेलको यस जमानामा यो चिट्ठी किन लेखेको होला ? मलाई लाग्छ, यसको आवश्यकता अहिले निकै बढेर गएको छ । नेपाली समाज रूपान्तरणको यस महान अभियानमा हजारौं लाखौं दाजुभाइ तथा दिदीबहिनीहरूको सामूहिक योगदान छ । आज ती सबै कताकता अलमलिएका, आफैंभित्र हराएका र जनयुद्धमा आफूले गरेको योगदानमा गर्व गर्नुको साटो त्यसप्रति पीडाबोध गरिरहेका जस्ता देखिन्छन् । हो, यो कुरा कतिपय हकमा सही छ कि लंका विजय गर्ने हनुमान् हो कि होइन भन्ने भ्रम पर्ने गरी ढेडु बाँदरले फेटा गुथेर हिँड्ने गरेको छ ।
नयाँ नयाँ जोगीहरूले आवश्यकताभन्दा बढी खरानी घसिरहेका छन् र उनीहरूले नै चर्कोसँग अलख निरञ्जन भट्याइरहेका छन् । त्यसमा हामीले पीडाबोध गर्ने वा आत्मग्लानि गर्ने होइन नि, लाटी ! बरू यसमा त हामीले गर्व गर्नुपर्दछ किनकि हिजो हामीलाई आतंकवादी, हत्यारा, डाँकु तथा विचारविहीन लुटेरा जत्था भनेर नथाक्नेहरू, हाम्रो बलिदान र योगदानलाई अति तुच्छ रूपमा घृणा गर्नेहरू नै आज फेरि हाम्रो विचार र दर्शनलाई घोक्रो सुक्ने गरी सकारात्मक व्याख्या गरिरहेका छन् । तिनै मान्छेहरू आज हाम्रा नेताको घरमा, पार्टी अफिसहरूमा दुई हात मल्दै, ङिच्च दाँत देखाउँदै गिडगिडाइरहेका छन् । यो हाम्रो सपना, आदर्श र योगदानको नैतिक विजय हो ।
कुनै पनि क्रान्ति वा आन्दोलनको विजय वा पराजयको ब्यारोमिटर यो हो कि त्यसका पछाडि अवसरवादीको एउटा तप्का उपस्थित भयो कि भएन ? अवसरवादी, फटाहा, लोभी तथा चरम महत्वाकांक्षीको एउटा हिस्साले समर्थन नगरी रुस, चीन वा संसारकै कुनै पनि क्रान्ति सफल हुनै नसक्ने समाजविज्ञानको अकाट्य तथ्य हो, नानी ! ठण्डा दिमागले बुझ्ने कोशिश गर ल ।
हो, हामीले बहस गर्ने र चिन्तन गर्ने ठाउँ यसमा छ कि कतै हाम्रै नेतृत्व बुर्जुवा रसरङ्गमा त भुलेको छैन ? कथित आवश्यकताको नाममा सर्वहारा नेतृत्व कतै वर्ग रूपान्तरण भएर उतै आत्मसमर्पण गरिरहेको त छैन ? कतै हाम्रो आस्थाको धरोहर भित्रभित्रै कुहिएर ढल्न लागेको त छैन ? आजका तमाम क्रान्तिकारीहरूले उठाउनैपर्ने र ध्यान दिनुपर्ने विषय यो हो ।
मलाई यसमा यो भन्नु छ कि आज हामीले भित्रैबाट श्रद्धा र विश्वास गरेका कतिपय नेताहरूले साम्यवादको अनुभूति गरिसकेका छन् । उनीहरूले सर्वहारा वर्गका लागि अझ अर्को लडाईं लड्न बाँकी छ भन्ने कुरा बिर्सिसके । उनीहरूलाई लागेको छ कि विश्व मानव समाजमा सबभन्दा पछाडि परेको मनुवा म र मेरो परिवार तथा आफन्त हुन् ।
अब आफ्नो व्यक्तिगत स्वार्थका लागि ज्यान फालेर लाग भन्ने नारा उनीहरूले दिएका छन् । उनीहरूलाई पार्टी, क्रान्ति, शहीद परिवार, घाइते अपांग र बेपत्ता परिवार तथा कार्यकर्ता जनता आदि भनेका “अनावश्यक टेन्सनका विषय” हुन् ।
यी र यस्ता कुरा आउँदा उनीहरूलाई कबाबमा हड्डी आएको अनुभव हुन्छ । यी कमरेडहरू हरेक चीजलाई पैसामा बदल, “आफ्नो शरीरमा एक थोपा रगत रहुन्जेल पद र प्रतिष्ठाको लागि लडिरहनेछु” भन्ने प्रस्थापनालाई आफ्नो आदर्श बनाएका छन् । यिनीहरू सानातिना मान्छे कहाँ छन् र ? हामीलाई मार्क्सवादको विशद व्याख्या दिने नेताहरू छन् ।
प्यारी बहिनी ! अब म तिमीलाई याद गराउँछु , जनयुद्धकै समयमा एकदिन बाटोमा हिँड्दै गर्दा तिमीले स्कूल कलेज पढ्न नपाएको गुनासो गरेकी थियौ । हो, त्यतिबेला मैले तिमीलाई द्वन्द्ववादका तीन आधारभूत नियम र भौतिकवादका सामान्य सिद्धान्तहरू सोधेको थिएँ । त्यतिबेला तिमी अक्मकाएकी थियौ र मैले सम्भव भएसम्म त्यसको व्याख्या गर्दै भनेको थिएँ, यो मार्क्सवादको प्राथमिक कक्षा हो । यसमा तिमीले उत्तीर्ण हुने कोशिश गर, बुर्जुवा कलेज त्यति महत्त्वपूर्ण छैन ।
म अहिले पुनः त्यसलाई स्मरण गराउन चाहन्छु । अबको क्रान्तिका लागि अहिलेको हाम्रो पुस्ताको एउटा हिस्सा अनिवार्य रूपमा बुर्जुवा वर्गसँगै रमाएर बस्नेछ । यो द्वन्द्ववादको निषेधको निषेध नियमअन्तर्गत पर्दछ र हाम्रो पार्टीको एउटा हिस्सा बुर्जुवा वर्गमा पतन भएन भने द्वन्द्ववाद असफल हुनेछ । द्वन्द्ववादको सफलता र वैज्ञानिकता प्रमाणित गर्न हाम्रा केही कमरेडहरू ज्यान फालेर लाग्नुभएको छ । बाबुरामजी खुल्ला र घोषित रूपमा लाग्नुभयो । अरू थुप्रै कमरेडहरू जुनसुकै गुट वा समूहको भएपनि, वहाँको विचारलाई अघोषित रूपमा लागू गरिरहनुभएको छ ।
अब म विषयको यो नकारात्मक पाटोपछि यसको सकारात्मक पाटोतर्फ तिम्रो ध्यानाकर्षण गराउन चाहन्छु । माथिका तमाम कमीकमजोरीका बाबजुद हामी र हाम्रो आन्दोलन तथा नेतृत्व नै आधारभूत रूपमा सही र क्रान्तिकारी छ ।
अहिले विश्वमा संयुक्त राष्ट्र संघमा दर्ता भएका र नभएका गरी झण्डै दुईसय राष्ट्रहरू छन् र त्यसमा नेपाल मात्र त्यस्तो देश हो जहाँ माओवाद र माओवादी एजेन्डा देशको केन्द्रीय एजेन्डा बनेको छ । मानिसहरूलाई जतिसुकै रिस उठेपनि वा मन नपरेपनि हाम्रो एजेन्डाको बारेमा पक्षमा वा विपक्षमा बोल्न र दिमाग खियाउन बाध्य छन् । प्रतिक्रियावादीहरू दाह्रा किट्दै, मुर्छा पर्दै भए पनि माओवादी झण्डा र एजेण्डा हेर्न र सुन्न बाध्य भएका छन् भने तमाम उत्पीडित वर्ग, क्षेत्र, लिङ्गका जनताले धुमिल नै सही, हाम्रो झण्डालाई आशा र आस्थाको केन्द्र मानेका छन् ।
सारा दुनियाँले देख्नेगरी हामी आफैंले निर्माण गरेका यी परिवर्तन र विकासका बिम्बहरूमा हाम्रो योगदान छ भनेर किन गर्व नगर्ने ? यो देशको एउटा युग जसलाई कतिपयले असम्भव भनेका थिए त्यसलाई पल्टाएर अर्को युगनिर्माण गर्नमा बलिदान गरेका हामीले किन अँध्यारो मुख लगाउने ? हामीले छाती फुलाएर यो भन्न सक्नुपर्दछ :
सँसारैभरि कहाँ झुके खै ? क्रान्तिका …….राता सिपाही ।

र अन्तमा,
आत्मीय दाजु, एउटा क्रान्तिकारी अभिभावकसँग लामो समयको अन्तरालमा भएको भलाकुसारीमा भावनाको छाल उर्लन सक्छ र संवेदनाका तरङ्गहरूले कतिपय मान्यताका पर्खालहरू भत्काउन सक्छ, यो म मान्दछु । तिम्रो साहित्यिक चेत र सृजना नै तिम्रो ताकत हो र यसलाई तिमीले जोगाउनु मात्र होइन कि बढाउँदै लानु पनि पर्दछ । साहित्यिक मान्छेहरूको भावना र संवेदना म अनुभूत गर्न सक्दछु तर जेसुकै भएपनि तिम्रो आँखामा टिलपिल टिलपिल आँसु ? अहँ, मसँग कदापि यो देख्ने र पचाउने ताकत छैन, नानी ! हामी हजारौं अस्त्र शस्त्रलाई पचाएका छौं ।

हजारौं कमरेडहरूको शव गाडेर हिँडेका छौं तर आँसु पचाउन सकेनौं किनकि त्यसले हामीलाई कमजोर बनाउँछ । हाम्रो आँखाको आँसु दुश्मनको मुस्कानको मुख्य स्रोत हो । जे होस्, अब म पत्रको बिट मार्न गइरहेको छु ।
मेरा केही शब्दहरूले तिमीलाई यत्तिका वर्षपछि पनि मलाई दाजुले बच्चा जस्तै ठानेछ भन्ने पनि लाग्ला, एक अभिभावकको अधिकार प्रयोग गर्दै लेखिएकोमा कतै अनावश्यक पण्डित्याइँ जस्तो पनि हुन जाला । तर म तिमीले हाँसिरहेको, कविता लेखिरहेको र तमाम महिला तथा सर्वहारा वर्गका लागि उत्साहका साथ डटिरहेको देख्न चाहन्छु । त्यसैले यति लेख्ने घृष्टता गरें त्यसको लागि अग्रिम आत्मालोचना सहित !

उही तिम्रो दाजु
कुमार लाङ्घाली (सुदर्शन बराल)
झारखर्क, गुल्मी

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES