जानुका राई र निश्छल राईको “झम्के मायालु” सार्वजनिक (भिडियो सहित)

ईन्द्र जिजीबिषा– काठमाडौ ७ बैशाख,गायिका जानुका राई र गायक निश्छल राईको पुर्बेली टिपिकल लोक भाका “झम्के मायालु” सार्वजनिक भएको छ । कोटेश्वरस्थित किरात राई यायोख्खाको  भवन सुम्निमा हलमा एक कार्यक्रमको बीच नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

गायिका राईको यो भन्दा अगाडि  किराती लोक मिथकमा आधारित “थिविया चरा” बोलको गीतले विभिन्न रेकर्ड राख्नुका साथै धेरै पुरस्कारहरु प्राप्त गरेको थियो ।जानुकाले नै गाएको लिम्चिम्बुङ एल्बमको “पारुहांगको सन्तान तिमी, नाना छपारी” बोलको गीतलाई पनि स्रोता,दर्शकहरुले कहिल्यै बिर्संदैनन् ।

पृथक धार शैलीमा गीत प्रस्तुत गर्ने गायिका जानुका राईको यी र यस्तै सयौ गीतहरु चर्चित छन् भने गायक निश्छल पनि यो गीत “झम्के मायालु” बाट राम्रा प्रतिभाको रुपमा स्थापित भएका छन् । “झम्के मायालु” पुर्वको भोजपुर र खोटाङ्गको सिमानामा पर्ने  रमणिय स्थान पान्धारेमा छायांकन गरिएको हो ।

“झम्के मायालु”नेपालको पूर्वी क्षेत्रमा चल्ने पुर्वेली लोकभाका हो । यो भाकालाई, बन-जंगल, मेला-पात धाउदा तथा हाट बजार तिर भेटघाट हुदा युवा युवतीहरु बीच  जुवारी (दोहोरी) गाउने पनि भनिन्छ ।

यो गीतको म्युजिक भिडियो पनि बनेको छ । यो गीतको म्युजिक भिडियोमा केही दशक अगाडीका चलन चल्तीहरुलाई देखाउन खोजिएको छ ।   जस्तै हाट, बजार जाने गाउने,नाच्ने, एक-अर्कामा मन परापर भयो भने गाउदा-गाउदै, नाच्दा-नाच्दै त्यहीँ बाट  भागेर बिहे गर्ने, बाँसमा वा बिरुवाको पातमा लेखेर मनको अभिव्यक्ति साटासाट गर्ने जस्ता चलन चल्तिलाई गीतको म्युजिक भिडियोमा देखाईएको छ ।

यो गीतको म्युजिक भिडियोलाई रोशन राईले निर्देशन गरेका हुन् । निर्माण कपिल राईले गरेका हुन् भने छायांकन युवराज राईले गरेका छन् ।  यो गीतको शब्द रचना दिवाकर राईले गरेका हुन् भने, संगीत संयोजन डम्बर लिम्बुले गरेका छन् । यो गीतको म्युजिक भिडियोमा शेसुका राई, निशा एम्बुङ्ग,पवन चाम्लिङ्ग, प्रविन राई र अन्वेस राईको अभिनय रहेको छ ।

कार्यक्रममा बोल्दै चलचित्र विकास वोर्डका अध्यक्ष राजकुमार राईले भने ” भाषा, कला, संस्कृति संग जोडिएका कुराहरु खोजिनु पर्छ । यसको लागी मेरो ठाउँ बाट म जे गर्न सक्छु त्यो गर्न तयार छु” ।

यस्तै कार्यक्रममा अध्यक्षको आसनबाट बोल्दै,डिबी राईले भने “राष्ट्रमा पत्रकारितालाई देशको चौथो अंगको रुपमा मानिन्छ । यो कलाकारितालाई पनि राष्ट्रको पाचौं अंग मानिनु पर्छ भन्ने हाम्रो माग हो र हामी यसको लागि पहल गरिरहने छौं” ।

सुम्निमा कल्चरका डिबी राईको अध्यक्षतामा  सम्पन्न कार्यक्रममा, चलचित्र विकास बोर्डका अध्यक्ष राज कुमार राई प्रमुख अतिथि रहेका थिए ।  अन्य अतिथिहरुमा बरिष्ठ गायक जितेन राई, सुम्निमा कल्चरका सल्लाहकार मणिकुमार राई, गीतकार बशन्त मुकारुङ्ग,राजन राई,गायिका पार्वती राई,अर्जुन जम्नेली, चलचित्र बिनायोका निर्माता/निर्देशक रोशन राई, युवराज राई, तारामणि राई,खुक्साङ्ग खम्बु लगायत अन्य अतिथिहरु रहेका थिए ।

“झम्के मायालु” म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *