तारा मिस बन्ने,मेरो सपना(कथा) जानू काम्बांग लिङ्ग्देन

कथा
तारा मिस बन्ने,मेरो सपना
____________________
मेरो तारा मिस, सारै सुन्दर गोरो अनुहारमा गुलाबी ओठ, ठुल्ठुला आँखामा हल्का गाजल, अनुहार बान्की परेको, सर्लक्क परेको नाकमा सानो टल्किने फुली, कानमा सानो-सानो एक-एक ढिके सुनको टप, कति राम्री कति राम्री, कहिले निलो,कहिले रातो थरि थरिका कुर्ता सुरुवाल र सारीमा अहा ! तारा मिस्स, म पनि तारा मिस जस्तै बन्न चाहन्थें, मनैले कल्पेर आफुलाई तारा मिस बनाएर पुतलीहरु लहरै राखेर गुरु आमा बन्थें । हातमा सानो लौरी लिएर कक्षा कोठा प्रवेश गर्थें । मेरा विद्यार्थीहरु मलाई जुरुक्क उठेर एकैसाथ गुड मर्निङ्ग मिस भनेर स्वागत गर्थे । म उनीहरुलाई कक्षा गित गाउन लगाउथे । यसैगरी म खेली रहन्थें क्रमैसंग मेरा विद्यार्थी परीक्षा दिन्थे पास फेल दुवै हुन्थे । मेरा कुनै क्षात्राहरु म, मेरो मतलब तारा मिस जस्तै राम्री बनाउथें । तारा मिसलाई स्कुलको सरहरुले मन पराए जस्तै, मलाई पनि मेरा विद्यार्थीहरुका सरहरुले मन पराउथे । कल्पनाको मेरो स्कुल, स्कुलको म तारा मिस अनि मलाई मन पराउने आङ्बुहाङ् सर, चौधरी सर अनि मलाई माया गर्ने मेरा कपडाका रंगीचंगी पुतली विद्यार्थीहरु आहा ! कति रमाईला मेरा बाल्यकाल र सुस्तरी हुर्केका मेरा पुतलीका लाभ्रा जस्ता रहर अनि मेरा अनगिन्ती सपना, सपनाभित्रकी म सुन्दर पात्र तारा मिस (तारा गुरुआमा ) हरेक दिन म तारा मिसको हाऊभाऊ सिकेर घर आउथे अनि उस्तै चालढालमा म प्रस्तुत हुन्थेँ कतिपल्ट आमा छक्क पर्नु हुन्थ्यो । एकदिन कक्षामा तारा मिसले भन्नु भो ! नानि हो, यदि मनमा डर राखेर या डराएर चुपचाप बस्यो भने केहि सिकिन्दैन, बुझ्यौ ? बरु कसैले केहि सोधे जानी नजानी हात उठाएर म भन्न सक्छु भनेर अघि बढ्नु पर्छ l अनि यदि आफुले भनेको कुरो गल्ति छ भने जान्नेले सच्याएर भनि दिन्छ अनि सिकिन्छ, बुझ्यौ ? हामीले पनि एकै स्वरमा बुझ्यौं मिस भनेर जोडले कराएका थियौं l

साँझ घर आएर मैले पनि मेरो पुतली विद्यार्थीहरुलाई उस्तै दुरुस्तै अर्ति दिएकी थिएँ, सुनेर नाङ्लोमा चामल केलाउदै आमा मुसुमूमुसु हाँस्नु भएको थियो l त्यो बेला आमा हाँस्दा मलाई लाज लागेको थिएन तर भोलि पल्ट माथिल्लो घरमा डेरा गरि बस्ने हामीलाई नेपाली पढाउने नारद मणि सरलाई सुनाउदा भने सारै रातो पिरो भएको थिएँ l
बिस्तारै बिस्तारै तारा मिस बन्ने मेरो सपनाले रंग फेर्न थाल्यो क्यारे, म भित्र-भित्र लजाउने उमेर थपिंदै गयो, थाहै नपाई मुटुको धड्कन् बढ्न थाल्यो, अनुहारमा लाली चढ्न थाल्यो मान्छेले एक्कासी हेरी दिए लजावती झार झैं निहुरिने भएँ l मेरो कपडाको पुतली विद्यार्थीहरु पनि बिस्तारै परिक्षा पास गर्दै क्याम्पस पढ्न थाले होलान्, म बाट ओझेल पर्न थाले l मनमा नयाँ नयाँ जोस जाँगर र उमंगहरु फक्रिन थाले l तर मनमा तारा मिस जस्तै राम्री हुने सपनाले भने पछ्याई रह्यो l मेरो मनमा रहेको रहरको पोको बोकेर एउटा दशैं आयो l स्कुलदेखि अलि तल एकजना जुनु मुनुको मुम्मी भन्ने आन्टीले दशैको मुख पारेर रेडिमेट कपडाको दोकान खोलीन् l त्यहाँ तारा मिसले लगाएको जस्तै कुर्ता सुरुवालहरु आएका थिए l म हरेकदिन स्कुल जाँदा आउदा त्यो कपडा पसलमा पुगेर खम्बा समातेर औंला टोक्दै अरुले किनेको र हेरेको म पनि हेरिरहन्थे l त्यो रात बाबा आफ्नो तलब बोकेर घर आएको देखें आमालाई हातैमा गनेर रु १३ सय छ यतिले महिना मार्ने …….बाबाको निकै गर्जिएको आवाज यति सुने आमा चुपचाप पैसा लुकाएर सुत्नु भो l त्यो रात मलाई रातभरी निन्द्रा लागेन मलाई मन पर्ने कुर्ता कसैले किनेर लैजाला भन्ने चिन्ता र आमालाई के भनेर पैसा माग्ने भन्ने चिन्ता l भोलिपल्ट फेरि त्यो दोकान पुगेँ, दोकान खालि थियो, आन्टीले मलाई हरेक दिन देखेर होला सोध्नु भो ? के भयो नानि तिमी टेके दाजुको छोरी होइन ? मैले हो छेमा नमस्ते भनेर हात जोडें, उहालाई कपडा पट्याउन हतारो भएर होला मेरो नमस्कारको जवाफ नै दिनु भएन l मैले हिम्मत जुटाएर माथि झुन्डिरहेको कुर्ता देखाएर आन्टी मलाई ऊ त्यो कुर्ता मन पर्‍यो भने, मेरो कुरा सुनेर सिर देखि पाऊ सम्म हेर्दै भन्नु भो नानि यो कुर्ता कसलाई ? मम्मिलाई ? म अवाक भएँ के भन्ने के नभन्ने एकछिन मन यताउति डुलाएर भने, होइन आन्टी मलाई नै हो सारै मन पर्‍यो अनि मुम्मिलाई भनेको ले न त ? म घटाई दिन्छु भन्नु भाको छ l लौ यो कुर्ता नै बिग्रन्छ नि नानि घटाउदा त बिचरा नानि ? तिमी त स्यानी (सानी) छौ यो कुर्ता लगाउनलाई तिमीले अझ १० वर्ष कुर्नु पर्छ l होइन आन्टी आमालाई घटाउन लगाएर भएपनि लगाउछु दिनुस मैले भने,त्यसपछि उसको के जान्थ्यो र ? बेच्ने माल न हो, गरि राखेको काम छोडी त्यो कुर्ता झिक्नु भो साँची नै कुर्ता २० बर्षकोलाई हुने थियो l म ७,८ बर्षकी मात्र थिएँ सायद l दाम सोधें ३ सय भन्नु भो, हुन्छ म लान्छु बाबाको नाम लेखि राख्नु रे पछि दिनु हुन्छ रे मैले जिन्दगीमा पहिलो पल्ट तारा मिस जस्तै बन्नलाई म झुट बोल्दै थिएँ l

घर पुगेर कुर्ता लुकाएँ खाट बाकसमा, तर चिन्ता यति लाग्यो कि भोक निद्रा सब गायब, म भोकै सुतें बिहान उठेर चुपचाप स्कुल गएँ l साँझ स्कुल सकेर आउदा घरमा आमा बम्म भएर बस्नु भएको रहेछ, मलाई थाहा भएन l किताब राखेर खाजा होला भनि चौकामा पस्दै थिएँ मेरो टाउको झननन्न हुने गरि मेरो लामो चुल्ठोमा आमा झुण्डिनु भो म भुईमा थचक्क बसेर बिन्ति बिसाउन थालें, आमा मलाइ नकुट्नुस म खुट्टा ढोग्छु, यस्तै के-के फलाकि रहेथे, बाबा पनि टुप्लुक्क आईपुग्नु भो l आमाले कुर्ता देखाउदै सारा बेली बिस्तार लागाउनु भो अनि बाबाले मलाई फ़काउदै छोरी यो त मुम्मी जत्रोले लगाउने लुगा हो तिमीलाई कहाँ हुन्छ हेर त ? बरु तिमीलाई ठिक्क हुने सिलाई दिन्छु भन्नु भो मैले रुँदै टाउको हल्लएपछी हामी बिचको एक मौखिक सहमति भो, बाबाले त्यो कुर्ता भोलि पल्ट जँहाबाट मैले ल्याएँ त्यहि पुर्‍याई दिनु भो, दोकानको आन्टीले जहाँ थियो त्यहि झुन्ड्याउनु भयो मैले धेरै दिन हेर्दै हिडें त्यहि उकालो बाटोमा मैले लगाउन नपाएको त्यो हरियो कुर्ता बेवारिसे झुण्डीरहेथ्यो l म किन चाँडो तारा मिस जत्रो नभएको होला भनि मनमै सोचेर रिस उठी रहन्थ्यो l

मेरो तारा मिस हुने लुगा जस्तै मेरो तारा मिस पनि एक्कासी हराउनु भो स्कुलबाट ! मैले धेरै दिनसम्म उहाँले दिनु भएको होमवोर्क देखाएर स्याबासी लिनु भनि बोकेर हिडें कक्षा कोठामा कुरेर बसें तर उहाँ आउनु भएन l दिनहरु तारा मिसको बारेमा नयाँ-नयाँ कथा कहानी बुन्दै बितिरहे l एक हप्तापछि मात्र थाहा भयो उहाँ त पोइला जानु भो रे, त्यो पनि कुनै उहाँलाई मन पराउने सरसंग होइन देश चलाउने मन्त्री पद्‌म सुन्दर लावती संग l घर आउदा आमा र उहाँको साथीहरुले कुरो गरिरहेको सुने तारा मिस त आफु भन्दा बुढोसंग पोईला गयो रे, त्यो पनि सौता माथि रे, आदि ईत्यादि ..यति पढे लेखेर राम्री भएर पनि त्यस्तो के गर्‍या होला छी……एकजना आन्टीको मुखबाट फुत्त यी शब्दहरु उफ्रिएर निस्किए अनि मेरा कलिला मस्तिस्कमा स्वात्त पसे, त्यो दिनदेखि मेरो तारा मिस हुने रहर टुट्यो फेरि कहिले पलाएन तर पनि मैले मिसलाई भुल्न भने सकेकी थीइन l एकदिन भेटेर म तपाईलाई सारै मन पराउने तपाई जस्तै हुन चाहाने तपाईको विद्यार्थी हुँ भनेर आफ्नो परिचय दिने बिचारमा थिएँ l धेरै बर्षपछि एक्कासी तारा मिसको देहावसान भएको खबर पाएँ, त्यसपछि तारा मिसको कथा यतिकै मेरो मनमा लथालिंग भो, अझै सम्हाल्न सकेकी छुइन, मेरो लागि संसारकै राम्री सुन्दरी मेरो बाल्यकालको तारा मिसको सजिलै संग बैकुण्ठ बासहोस् हार्दिक श्रदान्जली !!

जानू काम्बांग लिङ्ग्देन
ताप्लेजुङ्ग हाल बेलायत

One thought on “तारा मिस बन्ने,मेरो सपना(कथा) जानू काम्बांग लिङ्ग्देन

Leave a Reply

Your email address will not be published. Required fields are marked *