दशैं र दशैंको टिकाबारे बिष्णु प्रभातको बहस

bisnu prabhatदशैं आम रुपमा प्रचलनमा रहे पनि यसलाई ठीक ढंगले प्रयोग गरिएको छैन । हामीले शरद याममा मनाउँदै आएको चाडलाई भन्ने गरेको विजया दशमी शब्द नै गलत छ ।

दशैं शरद ऋतुमा शरद महोत्सव अन्तर्गत राखेर मनाइँदै आइएको छ । तर,यो खासमा वसन्त महोत्सवको चाड हो । रामले रावणमाथि गरेको विजयको रुपमा दशैं मनाइएको हिन्दु मिथक चैत्र महिना अर्थात् वसन्त ऋतुको मिथक हो ।

संसारभरि नै मानव संस्कृतिमा रहेका दुई मुख्य पर्व शरद र वसन्त महोत्सवका पर्वहरु हुन् । अहिले हामीले दशैं भनेर शरद महोत्सवमा ल्याएर मनाउँदै आएका छौं, यो पहिले वसन्त महोत्सवमा मनाइन्थ्यो । चैत्र महिनामा धूलो, अन्नको अभाव, खडेरी, प्रतिकूल मौसम सबै कारणले गर्दात्यो ऋतु नरुचाएर दशैंलाई शरद ऋतुमा ल्याइएको हो भन्ने कथन छ ।

अनुकूलताको खोजीमा वसन्तबाट शरद

मानव जातिको बीचमा पहिले शरद ऋतु सबभन्दा राम्रो समय भन्ने रह्यो । स्वच्छ मौसम, वर्षा नभएको, हिलो–धूलो नभएको, नदीनालाहरु विस्तारै तर्नसकिने, डुंगाहरु खियाउन सकिने, बाढी–पहिरोको न्यूनता जस्ता कारणले प्रियऋतु बन्यो । यो समयमा मान्छेको बगाल, गोत्रहरुको बीचमा भेटघाट रपुनर्मिलन गर्न उपयुक्त देखियो ।

त्यसैले वसन्त यामबाट दशैंलाई शरद याममा ल्याएर मनाउन थालिएको देखिन्छ । गोत्रहरुबीचको पुनर्मिलनको रुपमा दशैंलाई लिइएको थियो रत्यसको अवशेष आज पनि छँदै छ । दशैंको टीका थाप्न भए पनि हामीबुवा–आमा, घरपरिवार र इष्टमित्रसम्म पुग्छौं, भेटघाट गर्छौं ।

सामान्यतया घटनास्थापनादेखि दशैं गणना गरिन्छ । कसैले फूलपातीदेखि दशमीसम्म मात्र गणना गर्छन्, कसैले फूलपातीदेखि पूर्णिमासम्म गर्छन् । पूर्णिमासम्म गणना गर्नेहरुले दशमीका दिन मात्र टीका नलगाएर पूर्णिमासम्मै लगाउँछन् । यसमा पनि फरक मान्यताहरु छन् ।

एकै दिन एकै चोटि सबै इष्टमित्रलाई भेट्न सकिँदैन भनेर सोच्नेहरुले पूर्णिमा सम्मटीका लगाए । होइन, यो एउटा आस्थाको कुरा हो, आजको दशमीको दिनमात्र हो दशैं भन्नेहरुले एक दिन मात्र टीका लगाउने गर्न थाले । दशैंमाखासमा देवी अर्थात् मातृशक्तिको पूजा गर्ने चलन छ ।

किरातीबाट आयो मातृपूजाको संस्कृति

दशैंमा कुनै पुरुष देवताको पूजा नगरेर मातृशक्तिको पूजा गरिन्छ । कालीमाता, नवदुर्गा र सप्तदुर्गाको गरिन्छ । यो पूजा मातृप्रधान समाजको बेलामामातृत्व भावलाई सम्मान गरेर गरिएको पूजा थियो ।

यो पूजा हिन्दुहरुबाट नभई किराँतहरुबाट सुरु भएको हो । किराँतहरुमातृत्वपूजक र देवीपूजक थिए । तागेरा निङमाङ फुमाङ उनीहरुको सर्वोच्चदेवी थिइन्, तिनको सम्झनामा अहिले पनि पूजा हुन्छ । प्राचीनसंस्कृतिभित्र रहेका यस्ता कुराले दशैंमा मूलत: देवी पूजा गरिन्छ भन्नेदेखाउँछ ।

दशैंमा दुर्गाको पूजा गरिन्छ । दुर्गा पूजा पनि त्यस्तै मिथकसँग जोडिएको छ ।

टीकाको प्रचलन

दुर्गा पूजामा टीका तथा अक्षताको कुरा आउँछ । पहिले टीकाको रुपमा अक्षताभन्दा पनि उवा र जौं जस्ता अनाजको पिठो प्रयोग हुन्थ्यो । पछि नेवारा भन्ने एक प्रकारको घैया धानजस्तो प्राकृतिक रुपमा उभिएको धानलाई मानिसले प्रयोग गर्न सिक्यो । त्यसबाट अक्षता बनाउन थाल्यो ।

खासमा पहिला क्षत नभएको अन्न वा चामललाई अक्षता भनिएको थियो । त्यसैले अक्षता बनाउँदा चन्दन घोट्ने काठले घोटेर सग्लो चामल चोखो रुपमा निकालिन्थ्यो । पछिसिलौटाको ढुंगाले घोटेर बनाउने चलन पनि आयो । अहिले धेरैजसोले मिलमा कुटेको चामलबाटै अक्षता बनाउँछन् । जुन क्षत नभएको वा नटुक्रिएको भनेर ख्याल गरेको पाइन्न ।

पहिले–पहिले टीकाको रुपमा सेतो अक्षता प्रयोग गरिएको पाइन्छ । प्रकृतिमा सेतो, रातो, हरियो, नीलो रङको यथार्थ रहे पनि दशैंमा सेतो र रातो रङ्ग्याइएको अक्षता बढी प्रयोग गरिन्छ । स्वच्छताको प्रतीकको रुपमा सेतो रङ प्राचीन प्रयोग हो । अझै पनि थारुहरुले, मगरहरुले, राई र लिम्बूहरुले सेतो अक्षता लाउँछन् । तर, पछि उनीहरुले मातृत्वपूजक संस्कृतिसँग बलिप्रथालाई शक्ति पूजाका रुपमा जोड्दै जाँदा बलि दिइएको जनावरको रगतबाट टीका मुछ्नेहरु एकथरी पाइए । पशु बलि नचढाउनेहरुले अबीर र दही प्रयोग गरेर अक्षता मुछ्ने गरेकोपाइयो ।

अक्षताको प्रयोग प्रसादको रुपमा गरिन्छ । तर, यस्ता पूजा, पर्व, अनुष्ठानहरुमा सबैले अक्षता मात्र प्रयोग गर्दैनन् । कसैकसैले विभूति त कसैले तरेखु प्रयोग गर्छन् । शैवमार्गीहरुलेविभूति र तरेखु लगाउँछन् भने अन्य कतिपयले सिन्दूर, सीम्रिक पनि प्रयोग गरेको पाइन्छ ।

टीकाको सन्दर्भ हेर्दा अफ्रिकीहरुको प्रभाव हामीकहाँ आएको पाइन्छ । पुसु भनेर अफ्रिकीहरुले रगतमा मुछेर टीका लगाउँछन् । अरु कतिपय उत्तरी र दक्षिणी प्रभावको मिसमास पनिहाम्रो संस्कृतिमा पाइन्छ । विश्व प्रचलनका अन्तरप्रभावी संस्कृतिको रुपमा नै मानव संस्कृति रहेको छ ।

जमराको प्रचलन

अहिले नौ थरी अन्न मिसाएर कतिपयले जमरा राखेको पाइन्छ । सुरुवातमा मूलत: उवा भन्ने एक किसिमको अन्नबाट जमरा उमारिन्थ्यो । पछि उवासँगै जौं भयो, त्यसपछि गहुँ पनिमिसाए, पछि मकै पनि मिसाए । मकै त हाम्रो सभ्यतामा धेरै पछि मात्र आएको हो । मकैको प्रचलन पश्चिमी माया सभ्यताबाट विकसित भएको हो ।

शिकारी युगपछि कृषि युगको प्रारम्भ हुँदा अन्तरकुन्तर र कुनाकानीमा उम्रिएका अन्नका पहेंला मुजुराहरुलाई टीकासँगै लगाउने चलन खासगरी राई, लिम्बू, मगर, गुरुङ लगायत अहिलेकाजनजाति भनिने मातृत्वपूजक संस्कारबाट प्रारम्भ भएको थियो ।

जमराको सन्दर्भमा एउटा लिम्बू मिथक छ । शिकारको क्रममा ढुकुर मारिएको थियो, ढुकुरले विभिन्न ठाउँमा खाएका अन्न भरिएको गाँड फाल्दा त्यो पछि उम्रियो । त्यो देखेर यो तसुन्दर चिज रहेछ, यति कलकलाउँदो पहेँलो विरुवालाई फूलको रुपमा लगायो भने राम्रो होला भनेर कानमा सिउरिने, माला बनाउने, टोपीमा लगाउने गर्न थालियो । त्यसलाई सगुन मानियो । त्यो सगुन लगाएर शिकार गर्न जाँदा फलिफाप हुने विश्वास गरियो ।

त्यो सगुनमा पाइएको अन्नहरु रोप्दा फलेर त्यसबाट खान र प्रयोग गर्न पाइने, उत्पादन गर्न सकिने भयो । खासगरी कृषि युगको थालनीको सन्दर्भ थियो त्यो । कृषिको सन्दर्भसँगअरु पर्व पनि जोडिन्छन्, जस्तै कृषिको कथासँग जोडेर साकेला सिली नाचिन्छ । यस्तै न्वागी खाने चलन कृषि उपजको पहिलो प्रयोगसँग जोडिन्छ ।

आयुर्वेदमा जमराको सर्बत खाएमा कतिपय विकार, अर्बुदजन्य रोगहरुमा समेत फाइदा पुग्छ भन्ने भनाइ छ । कसैकसैले दशैंको जमरालाई सुकाएर धूलो बनाएर औषधिको रुपमा प्रयोगगरेको पनि पाइन्छ । यसरी मानव स्वास्थ्यलाई फाइदा हुने र तागत मिल्ने अंकुरित गेडागुडी, तुलसी, पाते चिया जस्ता वनस्पति पनि हुन्छन् । तर, खासमा जमराको प्रयोगऔषधिजन्य रुपमा नभई फूलको रुपमा नै गरिन्छ ।

बलिको प्रचलन

बलि भनेर अहिले जुन भावधारा देखिन्छ, यथार्थमा पहिले यस्तो काटमार र हिंसाको रुपमा थिएन । पहिले निश्चित भाग बिलो निश्चित पात्रहरुलाई, त्यो बेला कर्म गरिएकाहरुलाई छुट्याउने हिस्सा, कर र दायित्वका रुपमा बलिलाई लिइन्थ्यो । पछि चाहिँ शाकाहारी पूजा गर्नेहरुले कुभिण्डो, मुला, लौकाको बलि दिने रुपदेखि जनावरको बलि दिनेहरुले भगवानलाई रगत चढाउने रुपमा गयो ।

तर, यो काटमारको रुप दोस्रो हो । पहिले भगवानलाई चढाउने भनिएका पशुहरुको बलि दिइँदैनथ्यो । त्यसलाई डामेर छोडिदिने, जल सिञ्चन गरेर यो भगवानको निम्ति चढाइयो भनेर छोडिदिने चलन थियो । त्यसको अवशेष अहिले पनि कतैकतै पाइन्छ, मन्दिरहरुमा चढाएको भनेर बोकाहरु छाडिदिएको पाइन्छ । देवतालाई चढाइएको वाहनको रुपमा डामेर साँढेहरु छाडेको पाइन्छ । प्राचीन अवशेष पनि एकातिर हामीकहाँ छ ।

मानिस खासमा शिकारी संस्कारबाट ग्रस्त भएकोले उसले आफू त्यो लोभबाट बच्न नसकेर बलिलाई गलत तरिकाले अघि बढाएको पाइन्छ । त्यस क्रममा भगवानलाई जिउँदै चढाउनु भन्दा काटेर चढाइदियो । टाउको र रगत भगवानको नाममा जान्छ, शरीर त ल्याएर प्रसादको रुपमा हामीले खान पाइन्छ भन्ने लोभी चिन्तन बढ्यो ।

आज एकातिर यस्तो बलि दिनु हुँदैन, बलि प्रथा अत्यन्त जीवघाती हो, हिंसात्मक संस्कृतिको पक्षपोषक हो, यसलाई रोक्नुपर्छ भन्ने अभियान पनि चलिरहेको छ । त्यो राम्रो कुरो पनि हो । अर्कोतिर, बलिलाई रुपान्तरण गर्दै फलफूलको, अन्नपात र सागपातको, पूजा प्रसादी रोटी मनभोगहरु बनाएर दिऊँ भन्ने खालको सोच पनि पाइन्छ ।

निष्कर्ष

कता–कता हाम्रो दशैं र भारतीय समाजको दशहरालाई जोडेर हेरिएको पाइन्छ । तर, दशहरा असार महिनालाई पनि भन्छन् । हिन्दीमा दशैंलाई पनि दशहरा भनेको पाइन्छ । तर, उनीहरु दुर्गा पूजा मात्र गर्छन् । दुर्गामा पनि कोही सप्तदुर्गा र कोही नवदुर्गा मान्नेहरु हुन्छन् । नवदुर्गा मान्नेहरुले भवानीसँग जोड्छन्, दक्षिण भारतीय ब्राह्मणहरुले सप्तदुर्गा मान्छन् ।

पछिल्लो समय दशैं हिन्दुको चाड हो भनिएको पाइन्छ । जुन गलत कुरा हो । यसमा विभिन्न समाज र समुदायको कुरा आएका छन् । यसलाई हिन्दुले पछि स्विकारेका हुन् । यो मातृत्वपूजक संस्कृतिबाट आएको हो । मातृप्रधान समाज जनजातिबाट प्रारम्भ भएर आएको हो ।

पछिल्लो समयमा यसको अलि बढी संरक्षण आर्यहरुले गरेको देखिन्छ । भवानी पूजा तथा शक्तिपूजाको संस्कृतिको संरक्षण खस तथा क्षेत्रीहरुले गरे । भक्तिपूजाको संस्कृति वैष्णवहरुले अँगाले । यस्ता रुप र भिन्नताहरु छन् । यसलाई क्रमश: प्रष्ट्याउँदै जानुपर्छ ।

sourc:- onlinekhabar

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES