निषेधकारी नितीले बाम एकतामा माओवादी केन्द्र र एमाले बीच तानातान भएकोले नै म अलग भएको हुँ -बाबुराम भट्टराई

गोरखा ७ कातिक – क्षेत्र नम्बर २ का उम्मेदवार तथा नयाँ शक्तिका संयोजक बावुराम भट्टराईले वाम गठबन्धनका नेताहरुले निषेधकारी नीति लिएपछि गठबन्धनबाट आफू बाहिरिनु परेको खलस्त पारेका छन् ।

उम्मेदवारी दर्ता गरेर गृह जिल्लामा बसेका उनले सोमबार सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा एमाले र माओवादीको दाउपेचले वामपन्थी गठबन्धनमा टिक्न नसकेको गुनासो गरे ।

‘वाम गठबन्धन भित्र एमाले र माओवादीमै लुछाचुडी छ,’ उनले भने, ‘पार्टी एकता गरेर अघि बढ्ने भन्दा पनि सत्तामा को हावी हुने भन्ने तानातान बढी छ ।’

गोरखा क्षेत्र नम्बर २ मा चुनाव लड्न नदिएर समेत वाम गठबन्धनले निषेध गरेको उनले खुलासा गरे । ‘गोरखा २ मेरो जन्मथलो कर्मथलो हो, म यहाँबाट चुनाव उठनु स्वभाविक हो,’ उनले भने, ‘गोरखा २ बाट चुनाव लडन पाउँदैनस भनेर झमेला झिकियो ।’ यस्तै निषेधको जोडफलका कारण वाम गठबन्धनमा टिक्न नसकेको उनले प्रष्ट पारे ।

चुनाव पछि एमाले र माओवादीबीच पार्टी एकता नहुने समेत उनले दाबी गरे । भट्टराईले भने, ‘सत्ता स्वार्थका लागि तालमेल भएको हो, चुनाव सकेपछि एमाले माओवादी आफ्नो आफ्नो बाटो लाग्छन् ।’ वामपन्थीहरु रुपान्तरण भएर समाजवादी शक्ति बन्नु पर्ने उनले बताए ।

‘कांग्रेस र कम्युनिष्ट भनेर पर्खाल खडा गर्नु हुँदैन,’ उनले भने, ‘कांग्रेसको वामपन्थीकरण र वामपन्थीहरुको लोकतान्त्रिकरण भए शान्ति र समृद्धिले बाटो लिन्छ ।’ नयाँ शक्ति वामपन्थी लोकतान्त्रिक शक्ति भएको उनको दाबी थियो । ‘वामपन्थी र लोकतान्त्रिक भनेर कित्ताकाट गर्न हुँदै्न, यी दुई शक्ति मिलेर मात्रै देशमा परिवर्तन सम्भव भएको छ ।’

भट्टराईले नयाँ शक्तिले आफ्नै पहिचान र अस्तित्व सहित कांग्रेससँग तालमेल गरेर चुनावमा लड्न लागेको बताए । ‘आँखा दुरदृष्टिको पहिचान हो, आफ्नै आँखा चिन्ह लिएर चुनाव लड्छौ’, उनले भने, ‘आवश्यकता अनुसार वामपन्थी र लोकतान्त्रिक दुवै शक्ति सँग सहकार्य हुन्छ ।’ अर्का प्रंसगमा भट्टराईले सोसल मिडियाले आफूप्रति भ्रम फैलाएको गुनासो गरे । ‘मैले कांग्रेसको जरै उखेलेर फाल्नुपर्छ भनेर कहिल्यै भनेको छैन,’ उनले भने, ‘सपनामा पनि बर्बराउने बानी छैन, सोसल मिडियाले बोल्दै नबोलको कुरामा भ्रम छरे ।’कान्तिपुरले लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *