नेपाल कम्युनिस्ट पार्टीको पहलमा मनसराको उपचार शुरु, बाबुद्वारा सहयोग गर्न अपिल

मानध्वज लामा-२३ जेठ काठमाडौं
गत आइतबार आँखा विस्फोट भई सिकिस्त बिरामी परेकी रोस्कोट नगरपालिका–७, कालिकोटकी चार बर्षीया बालिका मनसरा लुहारको उपचार कान्ति बाल अस्पतालमा शुरु भएको छ ।

स्थानीय स्तरमा उपचार असम्भव भएपछि थप उपचार गर्न नेपाल कम्युनिस्ट पार्टी र सामाजिक अगुवा, युवा पंक्तिको सहयोगमा पैदल र गाडीको दुई दिनको लामो यात्रापश्चात बाबु रने लुहार र अगुवा कालीबहादुर महतराले छोरीलाई मंगलबार अपरान्ह काठमाडौं ल्याइपु¥याएका हुन् ।

महाराजगन्जस्थित बीपी आँखा अस्पतालमा आँखाको परिक्षणलगत्तै उपचारका लागि मनसरालाई कान्ति बाल अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना गरिएको छ । भर्नाअगाडि छोटो समय लिएर पत्रकार सम्मेलन गरेर बिरामीको आर्थिक अवस्थाबारे बाबुले जानकारी दिएका छन् ।

चरम आर्थिक अभावबाट गु्रजिरहेका रने परिवारले छोरी बचाउन सबैसँग सहयोग गर्न अपिल गरेको छ । दुई महिनापहिले घरनजिकै नहरमा खसेर सामान्य चोट लागेका मनसराको दाहिने आँखा आर्थिक संकटकै कारण थप उपचार गर्न नसकिरहेको बाबु रने लुहारले पत्रकार सम्मेलनमा जानकारी दिए । अभावकै कारण छोरीको स्वास्थ्यले जटिल रुप लिएको उनले बताए ।

चोट लागेको करिब दुई महिनापछि आइतबार घाइते आँखा एक्कासी विस्फोट भई बाहिर निक्लियो । त्यसबाट स्वास्थ्यवास्था गम्भीर बनेपछि स्थानीयको सहयोगमा मनसरालाई सदरमुकाम मान्मा पु¥याइयो । त्यहाँ उपचार सम्भव नभएपछि नेपाल कम्युनिस्ट पार्टीका नेता एवं स्थानीय भरत बम ‘रणवीर’सहितको टोलीले बिरामीलाई काठमाडौं ल्याइपु¥याइएको हो ।

मनसराको उपचारप्रति राज्य उदासिन हुन नमिल्ने बताउँदै उपचारका लागि सहयोग गर्न देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीहरुसँग नेता रणवीरले अपिल गरे । नेपालीहरुकै सहयोगबाट मनसराको उपचार सफल बनाउनुपर्नेमा उनले जोड दिए । ‘हामी नेपालीको सहयोगलाई प्राथमिकता दिन्छौं । लुहारजस्ता चरम गरिबीको चंगुलमा पारिएकाहरुको उद्धार गर्न नेपाल कम्युनिस्ट पार्टी सदैव साथमा छ’ उनले भने । त्यसनिम्ति मनसरा संरक्षण कोष स्थापना गरिएको छ । संकलित रकम कोषमार्फत बिरामीको उपचारमा खर्च गर्ने र मनसरा जस्तै वर्गको उपचारमा निरन्तर लगाउने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा बाबु रनेले भावकु हुँदै भने ‘मेरो छोरीलाई बचाउनु छ, तपाईहरुले सहयोग गर्नुस् ।’ स्थानीय अगुवा महतराले मनसराको परिवार चरम गरिबीको चपेटामा गुज्रिएको र छोरीलाई बचाउन सबैको सहयोग खाँचो रहेको बताए । सुर्खेतबाट काठमाडौं आउन वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी खर्च जुटाएर काठमाडौं ल्याइपुर्याउन सकिएको महतराले बताए ।

सहयोग जम्मा गर्न मनसराकी बाबु र महतराको नाममा सानिमा बैंकका संयुक्त खाता खोलेको छ । सहयोग गर्न इच्छुक महानुभावलाई उक्त बैंक खातामा सिधै रकम जम्मा गर्न सकिने जानकारी पनि महतराले दिए । खाता नम्बर ०४४००००००१० रहेको छ । आवश्यक सम्पर्कको लागि महतराको मोवाइल नम्बर ९८४८३०७१७३ दिइएको छ ।

बिरामीको उपचार चिकित्सक प्रकाशनिधी तिवारीको टोलीले गरिरहेको चिकित्सक प्रकाश न्यौपानेले जानकारी दिए । आँखाको भित्री भागसहित ठूलो साइजमा ट्युमर बाहिर निक्लिएको छ । (हेर्नुस् तस्बिर) । मनसराको केश विश्वमै दुर्लभ भएको चिकित्सकको भनाई छ । मेडिकल भाषामा मनसरामा देखिएको केश ब्लास्ट अर्थात विस्फोट भएको अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष डम्बर रावलले बताए । ‘क्यान्सर भइसकेको अवस्थामा ब्लास्ट हुन्छ’ अध्यक्ष रावलले भने ।

पत्रकार सम्मेलनमा धादिङ स्वास्थ्यमा समाजका डा. राम थापा क्षेत्रीले बालिकाको उपचारका लागि आफूहरुले सक्दो सहयोग गर्ने बताए । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका केन्द्रीय सदस्य लोकेश जोशीले मनसराको जीवन बचाउन सबैको सहयोग आवश्यक रहेको बताए ।

५० वर्षीय लुहारका तीन छोरी र तीन छोरा छन् । मनसरा कान्छी सन्तान हुन् । श्रीमती धनञ्जना लुहार गाउँमै मजदुरी गर्छिन् । अभावकै कारण मनसरालाई विद्यालय पठाउन सकेका छैनन् । बिरामीको उपचार निकै जोखिम र लाखौं रुपैयाँ खर्च लाग्ने किसिमको रहेको चिकित्सकको भनाई छ ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES