पद्मश्री पुरस्कार नीलम कार्की निहारिकालाई, पद्मश्री वैरागी काइँला

Chirharanभदौ १९, काठमाडौं । खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले ०७२ सालको पद्मश्री पुरस्कार नीलम कार्की निहारिकाको ‘चीरहरण’ उपन्यासलाई अर्पण गर्ने भएको छ ।

गत साउन ११ गते पुरस्कारका लागि वर्षभरि प्रकाशित कृतिहरुमध्येबाट उत्कृष्ट पाँच कृतिको मनोनयन गरी सूची सार्वजनिक गरेको प्रतिष्ठानले मूल्याङ्कनकर्ताहरूको निर्णय अनुसार ‘चीरहरण’लाई सर्वोत्कृष्ट ठहर गरिएको जनाएको छ ।

पुरस्कारको लागि पाँच कृतिको सूचीमा ‘चीरहरण’सँगै रामलाल जोशीको कथासंग्रह ‘ऐना’, कुमार नगरकोटीको उपन्यास ‘मिस्टिका’, गिरीश गिरीको गैह्र-आख्यान ‘वीरगञ्ज’ र भूपिनको कवितासंग्रह ‘सुप्लाको हवाईजहाज’ मनोनयनमा परेका थिए ।

सर्जकलाई अभिनन्दनसहित प्रमाणपत्र र दुई लाख रुपैयाँ नगद अर्पण गरिने प्रतिष्ठानले जनाएको छ ।

२०६३ सालदेखि वर्षभरिमा प्रकाशित पुस्तकहरूमध्येबाट छानिएको कृतिलाई प्रतिष्ठानले पद्मश्री पुरस्कार दिँदै आएको छ ।

वैरागी काइँलालाई पद्मश्री साधना

यस्तै, ०७२ को पद्मश्री साधना सम्मान वरिष्ठ साहित्यकार वैरागी काइँलालाई अर्पण गर्ने निर्णय गरिएको छ ।

पाँच दशकअघिदेखि नेपाली र लिम्बू साहित्यको उत्थान तथा अनुसन्धानमा सक्रिय रहेको र अविच्छिन्न योगदान गरेको कदर गर्दै यो वर्षको सम्मान काइँलालाई अर्पण गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।

अभिनन्दनसहित सम्मानपत्र र दुई लाख रुपैयाँ नगदसहित सम्मान गरिनेछ । यो सम्मान यसअघि राष्ट्रकवि माधव घिमिरे, आख्यानकार मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी कलाकार मह जोडीले पाइसकेका छन् ।

पद्मश्री पुरस्कार र साधना सम्मान बडादशैंको कोजाग्रत पूर्णिमाको दिनमा अर्पण गरिने प्रतिष्ठानले जनाएको छ ।

source:onelinekhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *