पशुपति शमशेर राणाले भने, ‘पार्टी विभाजनमा पूर्व राजा देखि हिन्दुस्तानसम्मको भूमिका भन्नु कमल थापाको बर्बराहट’ ‘हामी देउवा सरकारमा जान्छौं’

काठमाडौं, साउन २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाले पार्टी विभाजनमा पूर्व राजा, प्रधानमन्त्री शेरबहादुर देउवा देखि हिन्दुस्तानसम्मको भूमिका देख्नु राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको बर्बराहट भनेका छन् ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै राप्रपा प्रजातान्त्रिक गठनमा कुनैपनि बाह्य शक्तिको भूमिका नभएको बताए । आफ्नो भारतमा नातासम्बन्ध रहेको आधारमै भारतले नयाँ पार्टी खोल्न भूमिका खेलेको भन्नुको कुनै तुक नरहेको बताए ।

‘पशुपति शमशेर राणासँग पार्टी गठन गर्ने सामथ्र्य छ । नेपाली राजनीतिमा प्रभावशाली रहँदै आएका साथीहरूको साथ छ कसैको सहयोग चाहिदैन र बहकाउमा बहकिदैन,’राणाले भने,‘कमल थापाले पार्टीका होनहार साथीहरूले महत्वपूर्ण निर्णय लिएपछि रन्थनिएर आरोप लगाइरहनुभएको छ ।’ मुलुकको आवश्यकता र पार्टीका जिम्मेवार कार्यकर्ताको भावना अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक गठन भएको बताए ।

नवगठित पार्टी सरकारमा जाने र त्यसबारे निर्वाचन आयोग र संसदमा पूरा गर्नुपर्ने प्रक्रियापछि आधिकारिक निर्णय लिइने उनको भनाई थियो । पार्टीले सरकारको समर्थन गरिसकेको बताए । रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोलदै संविधान संशोधनको पक्षमा जाने संकेत समेत गरे । यसबारे उचित समयमा निर्णय लिने उनको भनाई थियो । आफू संविधान संशोधनको पक्षमा रहेको स्पष्ट पार्दै त्यसबारे आफ्ना केही धारणा रहेको समेत बताए ।

कमल थापाले एकलौटी र मनोमानी ढंगले पार्टी चलाउन खोजेकाले आफू कठोर निर्णय लिन वाध्य भएको बताए । उनले भने,‘पार्टी ध्वस्त हुनबाट बचाउनका लागि कठोर निर्णय लिएर बेग्लै बाटो जानुप¥यो ।’ पार्टी एकीकरण अगाडि भएका सम्झौता पालना नभएको उनले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था र हिन्दु अधिराज्यको पक्षमा निर्णय लिने संकेत समेत गरे । उनले भने,‘ राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक मुलुकको धर्म, परम्परा र संस्कृतिलाई मान्ने पार्टी हो । मुलुकको गौरवमय इतिहास, समृद्ध संस्कृतिमा हामी अभिमान लिन्छौं ।

शाह वंशको स्थापनाकाल र पृथ्वीनारायाण शाहले एकीकरणका लागि गरेको योगदानको उच्च सम्मान गर्न चाहन्छौं ।’ मुलुकको परम्परा र धर्मको रक्षाप्रति आफूहरूमा जिम्मेवारीबोध भएको समेत बताए । राजंसंस्था र हिन्दु अधिराज्यबारेको निर्णय औपचारिक बैठक बसेर लिइने बताए । हिन्दु अधिराज्यको मुद्या लिएर दक्षिणले समेत पत्याएको हो भनी गरिएको प्रश्नमा उनले भने,‘त्यसो हुन्थ्यो भने कमल थापाले ठूलो समथृन पाउनुपथ्र्यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *