पहिलो चरणको निर्वाचन लगत्तै देउवा प्रधानमन्त्री बन्नुहुन्छ: सल्लाहकार खनाल

काठमाडौं २० बैशाख , प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै सहमति अनुसार नै जेठको पहिलो साता काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने स्पष्ट पारेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षातकारमा बोल्दै सल्लाहकार खनालले स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि पनि अहिलेकै काँग्रेस–माओवादी केन्द्रको वर्तमान गठबन्धन नै कायम रहने विश्वास दिलाए । उनले भने,‘जेठको पहिलो साता काँग्रेस सभापति देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ, काँग्रेस र माओवादीवीच भएको भद्र सहमति तोडिँदैन् ।’ उनले विगतमा सत्ता समिकरणहरु भद्र सहमतिका कारण तोडिएका थुप्रै उदाहरण भएकोले अहिले त्यस्तो फोहोरी प्रवृत्ति नदाहोरिने स्पष्ट पारे ।

साक्षात्कारमा उनले प्रचण्ड–देउवावीचको वर्तमान गठबन्धन नतोडिने स्पष्ट पार्दै भने,‘हामीबीच भएको सहमति अनुसार स्थानीय तहको बैशाख ३१ गतेको पहिलो चरणको निर्वाचन लगत्तै देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ, ढुक्क भएहुन्छ।’ उनले बजेट र अर्को चुनावको तालमेल कसरी मिलाउने भन्नेबारेमा गम्भिर छलफल भैरहेकोले सहमति अनुसार नै यसमा निर्णय लिईने बताए । खनालले जेठ १५ गते नै बजेट ल्याउनेगरि सरकारले गृहकार्य थालेको समेत जनाए ।

खनालले सरकारले परिमार्जनसहित संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावलाई पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै सहमतिमा नै पारित गराउन गृहकार्य गरिरहेकोले संशोधन प्रस्ताव पारित हुने विश्वास दिलाए । उनले भने,‘मधेशलाई पनि विश्वासमा लिएर जानुपर्छ, यो पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि दुई वटा चुनावको मिति पनि चाँडै अब बन्ने सरकारले घोषणा गर्छ।’ उनले यही ०७४ माघ ७ गतेभित्रै तीन तहकै निर्वाचन गर्नुपर्ने भएकोले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने दाबी गरे । उनले भने,‘अब संसदको म्याद थपिँदैन्, माघ ७ गतेभित्रै तीन तहकै निर्वाचन सम्पन्न हुन्छ।’

खनालले राप्रपाले सरकार छोड्नुमा पार्टीको आन्तरिक कारण भएको समेत जिकिर गरे । उनले भने,‘सामन्तवाद र राजतन्त्रका अवशेषहरुले राप्रपा फुटाउने भएपछि उहाँ पार्टी एकता जोगाउनको लागि सरकारबाट बाहिरिनुभएको भन्ने कुरा आएको छ, यो हो भने अत्यन्तै स्वागतयोग्य कुरा हो, फेरि पनि उहाँ सरकारमा सहभागी हुन सक्नुहुन्छ।’ उनले पार्टी एकता बलियो बनाएर पूनः काँग्रेस–माओवादी केन्द्रको गठबन्धनमा सहभागी भए कमल थापालाई आफूहरुले जहिलेपनि स्वागत नै गर्ने स्पष्ट पारे ।

त्यस्तै खनालले स्थानीय तहको निर्वाचनमा एमालेका सचिव योगेश भट्टराईले ६० प्र्रतिशतभन्दा बढि स्थानमा चुनाव जित्ने दाबी गरेकोप्रति टिप्पणी गर्दै भने,‘हामी पनि कम्बल ओढेर बसेका छैनौं र बस्दैनौं ।’ खनालले नेपालको ईतिहाँसमै पहिलोपटक जनताको अधिकार घरदैलोमा जाने भएकोले स्थानीय तहको निर्वाचनमा जनताको उल्लेखनीय सहभागिता हुने विश्वास व्यक्त गरे ।
फरक प्रसँगमा उनले हालै सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रका सांसदहरुले प्रधानन्यायाधिश सुशिला कार्कीविरुद्ध दर्ता गराएको महाअभियोग प्रस्ताव स्वाभाविक प्रक्रिया भएको टिप्पणी गरे । उनले भने,‘व्यवस्थापिका संसदले आफ्नो अधिकार प्रयोग गरेको हो, व्यक्ति महत्वपूर्ण कुरा होईन, व्यक्ति स्वेच्छचारी भएकोले यो स्वभाविक प्रक्रियामा आएको हो, त्यसैले महाअभियोग प्रस्ताव प्रक्रियामा जान्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *