पुरातात्विक एवं सांस्कृतिक महत्वका प्राचीन किराँत सम्पदा नष्ट हुन नदिन सर्वोच्चको परमादेश

काठमाडौ ९ कातिक- सर्वोच्च अदालतले उत्तर-दक्षिण लोकमार्ग निर्माणका क्रममा सडकमा पर्ने पुरातात्विक एवं सांस्कृतिक महत्वका प्राचीन किराँत सम्पदा नष्ट हुन नदिन वैकल्पिक उपाय खोज्न बुधबार सरकारलाई परमादेश दिएको छ ।राष्ट्रिय गौरवको उक्त आयोजनाले प्राचीन धरोहर संकटमा परेको दाबीसहित दायर रिटमा सर्वोच्चका न्यायाधीश दीपकराज जोशी र मीरा खड्काको संयुक्त इजलासले परमादेश जारी गरेको हो ।

सडक विभागले लोकमार्गमा पर्ने विशेषगरी लिम्बू जातिका भावना जोडिएका सम्पदा भत्काएर सडक निर्माण गर्ने स्थिति थियो । यसबाट प्राचीन किराँत इतिहास र संस्कृति नै लोप हुने जोखिम उत्पन्न भएको थियो । सर्वोच्चले किराँत सम्पदा ऐतिहासिक, पुरातात्विक एवं सांस्कृतिक महत्व राख्ने भएकाले नष्ट नहुने गरी वैकल्पिक उपाय खोजेर मात्र निर्माण अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, खानेपानी तथा सरसफाइ मन्त्रालय र सडक विभागका नाममा परमादेश दिएको छ ।

राष्ट्रिय जीवनसँग जोडिएका संस्कृति नष्ट हुन नदिन बारम्बार ध्यानाकर्षण गर्दासमेत विभागले बेवास्ता गरेको दाबीसहित अधिवक्ता प्रविन पन्दाक लिम्बू, मनीषकुमार श्रेष्ठ, राजेश्वरी महर्जन र सन्तोष भण्डारीले रिट दायर गरेका थिए । आदिवासी जनजातिभित्र पर्ने ‘लिम्बू’ जाति प्रकृतिपूजक भएकाले ढुंगासँग परम्परागत संस्कृति गाँसिँदै आएको छ ।

सडक निर्माण क्रममा धार्मिक सम्बन्ध जोडिएका सखुवाका रूखसमेत नष्ट नगर्न पनि सर्वोच्चले परमादेश दिएको छ । ‘सर्वोच्चबाट किराँत समुदायको सांस्कृतिक हक संरक्षणमा बाध्यकारी परमादेश भएको छ । उत्तर-दक्षिण लोकमार्ग निर्माण र खानेपानी योजनाजस्ता विभिन्न आयोजनाले यस्ता प्राकृतिक सांस्कृतिक सम्पदा मासिने अवस्था आएको थियो । अब संरक्षण नगरी काम अघि बढाउन पाइँदैन’, रिटमा बहस गर्ने वरिष्ठ अधिवक्ता डा.चन्द्रकान्त ज्ञवालीले भने ।

बहसका क्रममा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य, ज्ञवाली, लिम्बू र महर्जन लगायतले सनातनकालदेखि धार्मिक रूपमा पूजिँदै आएका ढुंगाहरूको संरक्षण हुने व्यवस्था गरेर मात्र निर्माण अघि बढाउन इजलाससमक्ष माग राखेका थिए । उनीहरूले विकासका नाममा ऐतिहासिक करातहाङ बुद्धिकर्ण दरबार (विजयपुर) समेत संकटापन्न अवस्थामा पुगेको भन्दै इजलासको ध्यानाकर्षणसमेत गरे । इजलाससमक्ष प्रमाणका रूपमा कलाकार झुमा लिम्बूले खिचेका दर्जन तस्बिरसमेत पेस गरिएको थियो।

ताप्लेजुङको ताम्पेथोक, छिरवानीस्थित तमोर खोलको किनारमा रहेको ढुंगामा ‘मुन्धुम’ अनुसार लिम्बू जातिको पहिलो पुर्खा मुजिङमा खेपङनाका छोरा सुसुवेडाले आफ्नो काँण उध्याउने गरेको ऐतिहासिक प्रसंगसमेत रिटमा छ । काँण उध्याउने निशानी रहेको ढुंगा हाल उत्तर-दक्षिण लोकमार्ग ओलाङचुङ जाने सडकको बीचमा परेको छ । ताप्लेजुङ लेलेपको लुङलुङस्थित ‘हल्लिने ढुंगा’ भनेर चिनिने लिम्बू भाषामा (लुङधुङ, हिरिलुङ हाक्का पलुङ, इमिनलुङद्युङ नामले चिनिने) सुसुवेङ लालावेङका छोरा छोरीहरू हाडनातामा बिग्रिएपछि छुट्याइएको विश्वास रहेको ढुंगासमेत तोडफोड हुने अवस्थामा रहेको तथ्यसमेत रिटमा उल्लेख थियो ।

सोही सडकअन्तर्गत लेलेपमा पर्ने साँगो नेन्दुरी पासाङगालाङ (बेहुला र बेहुलीको आयु जोखिने ढुंगा) समेत फुटाउन थालिएको थियो । माया—पिरती बसेपछि बैनाबट्टा गरिने (याङलुङ), पितृहरूलाई पुकारेर चिताएको पूरा गर्न गाडिने (चोङलुङ), मरेपछि चिहानमाथि गाडिने ढुंगा (सङलुङ) जस्ता ऐतिहासिक महत्व बोकेका ढुंगासँग किराँत समुदायको गहिरो अन्तर्निहित सम्बन्ध छ भनेर अन्नपुर्ण दैनिकमा लेखिएको छ ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES