पुर्ब राजा ज्ञानेन्द्र शाह बिरुद्ध बोल्ने उपप्रधानमन्त्री कांग्रेस नेता संग रुष्ट कांग्रेसकै नेताहरु

पौष ११ काठमाडौं, पूर्वराजा ज्ञानेन्द्रको अभिब्यक्ति लगत्तै दरबार हत्याकाण्डको छानबिन गर्न सकिने भनी दिएको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको अभिव्यक्तिप्रति नेपाली कांग्रेसकै नेताहरूले आपत्ति जनाएका छन् ।
पूर्वराजा या कसैको पनि अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज पुर्‌याउन नहुने र त्यसो गर्नु कांग्रेसकै सिद्धान्त र मान्यताविपरीत हुने चेतावनी कांग्रेसका वरिष्ठ नेताहरूले मन्त्रिपरिषदमा आफ्ना दलका नेता निधिलाई दिएका छन् । पार्टीको उद्देश्य र नीतिअनुरूपको संयमपूर्ण राजनीति नतोड्न र बोल्न पाउने अधिकारबाट कसैलाई वञ्चित नगर्न पनि उनीहरूले मन्त्री निधिलाई सचेत गराएका छन्।

कांग्रेस वरिष्ठ नेता एवं सांसद कुलबहादुर गुरुङले पूर्वराजाले एक सम्मानित नागरिकको हैसियतमा मुलुकमा भए–गरेका कार्यमा सोच्न र अभिव्यक्ति दिन सक्ने बताए । समय छउन्जेल केही नगर्ने र समय ढल्केपछि कारबाही गर्छु भन्दै धम्की दिने कुरा कांग्रेसको प्रजातान्त्रिक विधि र व्यवहारविपरीत हुन्छ । नेताहरूले गर्न नसकेको कामलाई पूर्वराजाले औंल्याउन सक्ने भन्दै गुरुङले उनमा त्यस्तो अधिकार रहेको बताए ।

पूर्वमन्त्री लक्ष्मणप्रसाद घिमिरेले सबैले मुलुकका बारेमा बोल्न पाउँछन् भने पूर्वराजालाई पनि त्यस्तो अधिकार हुने दाबी गरे । हिम्मत भए प्रमुख तीन दलका नेताले राजाले उठाएका प्रश्नको सही र सत्य जबाफ दिनुपर्छ । पूर्वराजाले बोल्नासाथ जनतामा यथार्थ राख्नुपर्ने डरले एकैपटक ‘दरबार हत्याकाण्ड’ को छानबिन गर्छु भन्नुभन्दा दुर्भाग्यपूर्ण काम अरू केही हुन नसक्ने उनले बताए । ‘कारबाहीको धम्की दिने नेता र मन्त्रिपरिषद्ले पूर्वराजाले उठाएका प्रश्नको ओठे जबाफ होइन, प्रमाणित जबाफ आमजनतालाई दिनुपर्छ, ओठे जबाफ दिँदै पञ्चायत वा उनको कार्यकालमा के भयो भन्न मिल्दैन भनेर लक्ष्मणप्रसाद घिमिरेले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *