पूर्व जनसेना “आस्था केसी”को मार्मिक चिट्ठी दाईलाई

आदरणीय कुमार दाइ,
क्रान्तिकारी अभिवादन
तपार्इंले लेख्नुभएको पत्र पाएँ । एउटा उद्वेलनले भावुक बन्दै पत्र पढिसिध्याउँदासम्म आँखाबाट आँसु बगिरह्यो । पत्र पढि सकेको केही बेरसम्म म चुपचाप रोइरहें । अनि केही बेरपछि उठें र तपाईंको पत्रको प्रतिउत्तर कसरी दिनेहोला भनेर सोच्न थालें । मेरो प्रिय दाजु, रुनु भनेको कुनै नराम्रो काम पक्कै होइन । म बरू नहाँसेर बाँच्न सकुँला । तर नरोएर बाँच्न सक्दिनँ ।

हामी बाँचिरहेको सामन्ती चिन्तनले ग्रस्त समाजले रुनुलाई नराम्रो अर्थमा चित्रित गरेको छ । तर दाइ, रुनु भनेको कमजोर हुनु होइन । मेरो हकमा त झन हुँदै होइन । जब रुन्छु, म भित्रको पीडा आँसु बनेर बाहिर निस्किन्छ । आफ्नो मन लागुन्जेल रुन्छु र आँसु पुछेर म आफूलाई एकदमै ताजा र हलुका महसूस गर्छु । तर रुन सकिन भने त म जिन्दगीको नियमित लयमा फर्किनै सक्दिनँ भने पनि हुन्छ । त्यसैले हाँस्ने कुरा जस्तै मेरा लागि रुने कुरा पनि सामान्य भइसकेको छ । र यो हुनुपनि पर्छ भन्ने मेरो मान्यता हो ।

अहिले म काठमाडौंमा बसेर आफ्नो करीयर निर्माण गर्दैछु । हिजो जतिबेला भविष्यका लागि करीयरको लागि पढ्नुपर्ने थियो, त्यतिबेला तपार्इं दाइहरूको पदचापलाई ब्रह्मवाक्य जस्तो मानेर, जनताको मुक्ति र परिवर्तनका लागि लाग्नु महत्त्वपूर्ण थियो । लागिएकै पनि हो । आफ्नो पढाइलाई बीचैमा थाती राखेर, भविष्यका सपनाहरूलाई कतै कुनामा मिल्काएर, जनयुद्धको झण्डा बोकेर “मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ” भन्दै हिँड्दा आज यस्तो दिन पनि आउला भन्ने त कुनै कल्पना पनि गरिएको थिएन । आज आफ्ना आदर्शहरू आँखाअगाडि नाङ्गेझार हुँदै गएको देख्नुपर्दा मन यसै यसै विरक्तिएर आउँछ ।

आज जनयुद्धको २१औं वर्षगाँठ मनाइरहँदा तपाईंलाई सोध्न मन छ । जनयुद्धले देखाएका सपनाहरू अलपत्र पारेर अन्त कतै बरालिने अधिकार नेताहरूलाई छ ? के जनयुद्ध केही अमुक नेताहरुलाई मन्त्री वा प्रधानमन्त्री बनाउनका लागि मात्र गरिएको थियो ? विश्व सर्वहारावर्गको मुक्तिको लागि प्रयत्न नगरेर अनि जनयुद्धले देखाएका सपनाहरू अलपत्र पारेर अन्त कतै बरालिने अधिकार नेताहरूलाई छ ?

सर्वहारावर्गको मुक्तिको लागि आफूलाई हाँसी हाँसी बलिवेदीमा चढाउने वीर शहीदहरुको बलिदानको अर्थ के ? आज शहीद र बेपत्ताका परिवार कसरी बाँचिरहेका छन् भनेर कसैले सोधेको छ ? घाइते, अपांगहरूको अवस्था दयनीय र टीठलाग्दो भएको छ ।
हिजो नेता र कमान्डरहरूको एक वचनमा स्कूलमा झोला फालेर हिँडेका कार्यकर्ताहरूको हविगत कस्तो छ कसैलाई मतलब छैन । सुकुम्बासी, हलिया, कमैयाहरू झन् झन् गरीब र सर्वहारा हुँदै गइरहेका छन् । हाम्रो पार्टीका सर्वोच्च कमान्डर प्रधानमन्त्री भइरहेको समयमा पनि गरीबलाई झन् गरीब र धनीलाई झन् धनी बनाउने व्यवस्था किन दिनानुदिन मौलाउँदै गइरहेको छ ?

हाम्रो आन्दोलन कतै निम्नबुर्जुवाहरूको दलदलमा जाकिइरहेको त छैन भनेर सोच्ने कहिले ? र कसले सोच्ने यस्तो कुरा ? तपार्इंले भनेजस्तै हाम्रा केही नेताहरूलाई त अहिल्यै साम्यवाद आइसकेको जस्तो अनुभूति भएकै छ । त्यस्ताहरूलाई पार्टीबाट गलहत्याउने कहिले ? कम्तीमा तपार्इं हाम्रो स्तरबाट पार्टीभित्र यस्तो विषयमा बहस चलाउन ढिलो भएन र ? जुन लोकतन्त्र ल्याउनको लागि हाम्रा सहयोद्धाहरू शहीद भए, हामीले हाम्रो जीवनका सबैभन्दा रहरलाग्दा दिनहरू क्रान्तिमा लगानी ग–यौं त्यही लोकतान्त्रिक संस्कारको विकास हाम्रो महान् तथा गौरवशाली पार्टीमा कहिलेदेखि शुरुवात गर्ने, अब ढिलो भएन र ? मलाई त लाग्छ, परिस्थिति हाम्रो हातबाट बाहिर गइसकेको छ ।

हो, प्रतिक्रियावादीहरू मन नपरेरै भएपनि हाम्रा नारा सुन्न बाध्य छन् । तर हामीले उनीहरूमाथि हाम्रा एजेन्डा हावी गराउन सकेका छैनौं । बहुसंख्यक नेपाली जनता हाम्रा एजेन्डाहरूको बारेमा स्पष्ट हुन सकिरहेका छैनन् । तिनीहरूलाई स्पष्ट बनाउनका लागि कार्यकर्तालाई उत्साहित बनाउँदै, उनीहरूका भैपरी आउने अल्पकालीन र दीर्घकालीन समस्याहरूको समाधान गर्दै मार्गनिर्देशन गर्नुपर्नेमा हाम्रा कतिपय नेताहरू या त कानमा तेल हालेर सुतिरहेका छन्, या त कतै रिसोर्टहरूमा टाइमपास गरिरहेका छन् ।

प्रिय दाजु, मलाई गर्व छ कि म जनयुद्ध लडेर आएकी एक पात्र हुँ । हाम्रो जनयुद्ध कुनै भ्रमको खेती थिएन । शहीदहरूको बलिदान कुनै नाटकको रिहर्सल थिएन, तर जनयुद्धका नायकहरू नै खलनायकमा परिणत भएपछि जनयुद्धको महिमा र गरिमा चटकेहरूको भजनमण्डलीमा सीमित हुन पुगेको छ । आज सबैतिर कि त अवसरवादी हावी भएका छन्, कि त नेताका भाइ, छोरा र नाता कुटुम्बले स्थान पाएका छन् । कतै अरूले पनि पाएका छन् भने त्यो अपवाद मात्रै हो । मुख्यतया भएको यस्तै छ ।

प्रिय कुमार दाइ, आजकल म एउटा संस्मरण लेखिरहेकी छु । हिजोका हाम्रा सहकार्यहरू सम्झिरहेकी छु । भार्सेको जंगलमा निष्पट्ट कालो रातमा बाटो बिराएर अलपत्र परेको वेला स्याउला ओछ्याएर एक झप्को निदाएको, संकटकालका शुरुवाती दिनमा दिब्रुङको जंगलमा बन्दुकलाई सिरानी बनाएर सुतेको, हँसरा र जुहाङका सेल्टरहरूमा दाइसँग घन्टौं छलफल गरेको, इन्द्रेगौंडाको नाका क्रस गर्नेबेला पारिबाट सेना आएको देखेर भागेको, पहिलोपटक जिल्ला जनसरकार घोषणा गर्दाका पलहरू आज पनि मसँग जीवन्त छन् । एकपटक तपाईंले भन्नुभएको थियो ‘लडार्इं सबैतिर छ, भागेर कहाँ जाने’ भनेर ।

म भागिरहेकी छैन । चुनौतीहरूको सामना गर्ने त्यो उँचो साहस छातीभरि बोकेर आज पनि म सही विचारको लागि संघर्ष गरिरहेकी छु । यो उँचो साहस मलाई जनयुद्धले दिएको हो । जनयुद्धले देखाएको बाटोलाई आत्मसात गर्दै तमाम गलत प्रवृत्तिका विरुद्ध सदैव डटेर लाग्नेछु । आजलाई यत्ति नै । बाँकी अर्को पत्रमा लेखौंला ।

 

तपार्इंकी स्नेही बहिनी
आस्था केसी
हाल: शंखमूल, काठमाडौं

(आस्था केसी हाल सञ्चारकर्मी हुनुहुन्छ)

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES