प्रदेश १ को मुख्यमन्त्रीको दौडमा रहेका एमाले पार्टी सचिव योगेश भट्टराई पछाडि हटे

काठमाडौ २३ असोज – नेकपा एमालेबाट प्रदेश १ को मुख्यमन्त्रीको दौडमा रहेका एमाले पार्टी सचिव योगेश भट्टराई पछाडि हटेका छन् । प्रदेशमा चुनाव लड्ने योजनाका साथ पार्टी नेतृत्वसँग परामर्श गरेर उनले काठमाडौंबाट आफ्नो मतदाता नामावली पनि ताप्लेजुङ सारे पनि उम्मेदवारी सिफारिसम्म आइपुग्दा भट्टराई एकाएक मुख्यमन्त्रीको दौडबाट बाहिरिएका हुन् ।

उनको नाम ताप्लेजुङ जिल्ला कमिटीबाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको छ । सचिव भट्टराई पनि प्रतिनिधिसभा चुनाव लड्ने गरी गाउँगाउँ पुगिरहेका छन् ।

स्रोतका अनुसार भट्टराईलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने गरी प्रदेश १ मा पठाउन एमाले नेतृत्व सकारात्मक थियो । तर, प्रदेश १ का प्रमुख भीम आचार्य र उपप्रमुख शेरधन राईले मुख्यमन्त्रीमा दाबी गरेपछि सचिव भट्टराई पछि हटेका हुन् ।

प्रदेश कमिटी बैठकमा आचार्य र राईले अनौपचारिक रुपमा मुख्यमन्त्रीको दाबेदारी प्रस्तुत गरेका छन् । ताप्लेजुङमै रहेका भट्टराईले पनि आफू मुख्यमन्त्रीको दौडबाट पछि हटेको स्वीकार गरिसकेका छन् ।

यद्यपि स्थायी कमिटीले निर्णय गर्ने भएकाले औपचारिक रुपमा उनको सम्भावना कायमै छ । पार्टी सचिव समेत रहेका भीम आचार्य सुनसरी क्षेत्र नम्बर १ को प्रदेश निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका छन् भने पोलिटव्यूरो सदस्य समेत रहेका राई भोजपुरको प्रदेशसभा क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस भएका छन् । पार्टीभित्र मुख्यमन्त्रीका दाबेदार आचार्य माधव नेपाल पक्षका हुन् भने राई केपी ओली पक्षका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *