प्रधानमन्त्रीको निर्वाचन जेठ २१ गते हुन्छ : मन्त्री नायक

काठमाडौं, १८ जेठ- कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले यही जेठ २१ गते नै प्रधानमन्त्रीको लागि निर्वाचन हुने बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री नायकले एमालेले संसद अवरुद्ध गरेपनि यही जेठ २१ गते चयन हुने बताएका हुन् ।  उनले भने,‘एमालेको अवरोधका कारण आजको बैठक बस्न सकेन, अब अर्को बैठक जेठ २१ गते बस्दैछ, सायद भोलि नै सभामुखले प्रधानमन्त्री निर्वाचनको लागि परामर्श समितिको बैठक बस्छ्, त्यसले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्दैछ।’ मन्त्री नायकका अनुसार शनिबार नै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको लागि उम्मेद्धवारी दिनेछन् ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा मन्त्री नायकले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको विषयलाई लिएर एमालेले संसद अवरुद्ध गर्नु गलत भएको टिप्पणी गरे । उनले भने,‘एमालेले भ्रम सिर्जना गरिरहेको छ, हुन त उसले पहिलेदेखि नै भ्रमहरु फैलाएको थियो, निर्वाचनको मुखमा पनि उसले हुँदैन कि भनेर भनेको थियो तर निर्वाचन समयमै सम्पन्न भएपछि उहाँहरुलाई झनै औडाहा भएको छ।’

उनले पहिलो चरणको निर्वाचन सम्पन्न भएसँगै अब एमालेको अघि कुनैपनि भ्रम नरहेको समेत उनले जिकिर गरे । उनले भरतपुर महानगरपालिकाको विषयलाई एमालेले रेणु दाहाललाई परास्त गर्न सके माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै परास्त गरिएको भन्ने भ्रम फैलाउन यस्तो गरिरहेको बताए । नायकले भने,‘प्रचण्डको राजनीति धमिलो हुन्छ भन्ने एमालेका साथीहरुले सोचेर नै भरतपुरमा उत्तेजित वातावरण बनाउनुभएको हो।’

मन्त्री नायकले भरतपुर महानगरपालिकाको विषयमा स्थानीय ऐन÷कानून तथा निर्वाचन निर्देशिकाले जे भन्छ त्यही गर्नुपर्नेमा जोड दिए । नायकले प्रचण्डको लागि आफू हार्नु वा पार्टीका नेता हार्नुले त्यति महत्व नराख्ने बताउँदै थपे,‘व्यक्तिले हार्नु वा जित्नुले उहाँलाई कुनै महत्व राख्दैन्, हुन त माओवादी धेरै ठाउँमा हार्यो तर जसले जितेपनि जनताले जितेका छन्, देशले जितेको छ।’ उनका अनुसार पहिलो चरणको निर्वाचन सम्पन्न भएसँगै देशमा यतिवेला उत्साह छाएको छ र यसको मुख्य जश स्वयम् प्रधानमन्त्री प्रचण्डलाई जानेछ ।

मन्त्री नायकले भरतपुर महानगरापालिकाको घट्नामा पनि निर्वाचन आयोगले जे निर्णय गर्छ त्यो सरकारको लागि स्विकार्य हुने स्पष्ट पारे । उनले भने,‘निर्वाचन आयोग आँफैमा संवैधानिक अंग हो, संवैधानिक आयोगले गर्ने निर्णय हाम्रो लागि स्विकार्य छ, सरकारले कुनै हस्तक्षेप वा नमान्ने भन्ने कुरै हुँदैन्।’ त्यस्तै उनले भरतपुरको विषयलाई लिएर एमालेले सदन अवरुद्ध गर्नु यो गर्नै नहुने काम भएको आरोप लगाए ।

उनले पछिल्लो समय एमालेले संसदलाई बन्धक बनाउने काम गरिरहेको समेत गुनासो पोखे । नायकले भने,‘एमालेको क्रियाकलापहरु यतिवेला सरकारलाई बाध्यकारी पार्नेखालका छन्, जे कुरामा पनि अड्को थाप्ने, बजेट आउने संवैधानिक प्रावधानमा पनि झण्डै अवरुद्ध गर्न खोजेको थियो, महाअभियोग प्रस्ताव फिर्ता नलिए बजेट ल्याउन नदिने भनेपछि सरकारले फिर्ता लियो र बजेट आउन संभव भयो।’

उनले नेपाली राजनीतिक बजारमा यतिवेला एमाले आतंकित बनेको समेत आरोप लगाए । उनले भने,‘सरकारले समयमै निर्वाचन सम्पन्न गरेपछि बजारमा एमाले आतंकित बनेको छ।’ मन्त्री नायकले एमालेलाई प्रतिक्रान्तिको प्रमुख संवाहक नै भएको आरोप लगाए ।

उनले निर्वाचन हुनु केही दिनअघिमात्रैपनि मुलुकमा प्रतिक्रान्तिको खतरा देखा परेको उल्लेख गर्दै यसलाई सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका नेतृत्वकर्ताले चिर्न सफल भएको विश्वास व्यक्त गरे । उनले भने,‘सत्तारुढ दलका नेतृत्वले सचेत भएर त्यस्तो कुनै भूमिका नै खेल्न दिनुभएन्।’

त्यस्तै उनले दोस्रो चरणको निर्वाचनपनि सहमतिमै सरकारले तोकेको स्पष्ट पारे । उनले भने,‘असार १४ उपर्युक्त हुन्छ भनेर नै हामीले सबैसँग परामर्श लिएर मिति तोकेका हौं, यसमा आयोगकोपनि सहमति लिईएको हो।’

त्यस्तै उनले एमाले नेता प्रकाश ज्वालाले एमालेलाई हराउने उद्देश्यले सत्तारुढ दलले अप्ठ्यारो र एमाले कमजोर रहेका प्रदेशमा पहिलो चरणको निर्वाचन गराउन खोजेको भएपनि आफ्नो पार्टीले विजयी हाँसिल गरेको भनेर दिएको अभिव्यक्तिको खण्डन गर्दै भने,‘उहाँले लगाएको आरोपमा कुनै दम्भ छैन, हामीले असन्तुष्ट पक्ष खासगरी मधेशी मोर्चालाई चुनावमा सहभागी गराउनको लागि दोस्रो चरणको निर्वाचन तोकेका हौं, र एमालेलाई हराउने उद्देश्यले यस्तो गरिएको भन्ने ज्वालाजीले जुन आरोप लगाउनुभयो, यसमा कुनै सत्यता छैन, यो उहाँहरुको केटाकेटीजस्तै कुरा मात्रै हो।’
मन्त्री नायकले दोस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालपनि सहभागी हुने विश्वास व्यक्त गरे । उनले भने,‘मधेशका गाउँ गाउँमा निर्वाचनको उत्साह देखिएको छ, स्वयम म आँफैपनि मधेशका विभिन्न ठाउँहरु घुमेर आएको छु, सबैले निर्वाचनको तयारी गरिरहुनभएको छ, राजपा नेपालपनि दोस्रो चरणको निर्वाचनमा सहभागी हुन्छ, म पूर्ण विश्वस्त छु।’

कुन दिन आफ्नै कामरेडको घरझगडाको निहुँमा एमालेले संसद अवरोध गर्न बेर छैन ? : मिन विश्कर्मा

प्रमुख दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् सांसद मीन विश्वकर्माले भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको विषयलाई लिएर एमालेले संसद अवरुद्ध गर्नु गलत भएको टिप्पणी गरेका छन् । उनले निर्वाचन आयोग यसबारेमा निर्णय लिन स्वतन्त्र भएकोले यसमा कसैले हल्ला गरेर केही नहुने स्पष्ट पारे ।

नेता विश्वकर्माले निर्वाचन ऐन, निर्देशिका र आचारसंहिताले यसबारेमा प्रष्ट रुपमा व्यवस्था गरेकोले मतदान अधिकृतले निर्णय तुरुन्त पूनः मतदान गर्नुपर्ने बताए । उनले भने,‘मतदान अधिकृतले नयाँ मिति, स्थान र समय तोक्न सक्ने व्यवस्था छ।’
उनले मतदान अधिकृत किन आँत्तिएको भन्दै प्रश्न समेत गरे । विश्वकर्माले भने,‘मतदान अधिकृत किन आत्तिनुभएको हो ? उहाँले आत्तिएर समिति बनाउनुभयो, एमालेले संसद अवरुद्ध गर्यो भनेर डराउनुभएको होला ।’ उनले संसद अवरुद्ध एमालेले गर्नुभन्दापनि अब आफूहरुले गर्नुपर्ने बेला आएको बताए ।

विश्वकर्माले निर्वाचन आयोग संवैधानिक अंग भएकोले यसबारेमा निर्णय लिन आयोग स्वतन्त्र रहेको समेत स्पष्ट पारे । उनले मुलुक पछिल्लो समय लहडमा चलेको समेत गुनासो पोखे । उनले भने,‘एमालेका साथीहरु खासगरी वुद्धिजीवी साथीहरुले फेसबुकमा र टिव्टरमा लेखिहाल्नुहुन्छ, म भन्छु देश अहिले लहडमा चलेको छ, देश भावनामा चल्दैछ।’

उनले पद्धती, विधि र संविधानलाई सबैले स्विकानुपर्ने बताउँदै भने,‘एमाले अहिले उल्टो बाटोमा हिडिँरहेको छ।’ भरतपुर महानगरपालिकाको घट्नालाई नौलो रुपमा लिन नहुने समेत उनले बताए । उनका अनुसार ०५४ को स्थानीय तहको निर्वाचनमा कन्चटमा पेस्टोल तेर्साएर समेत मतपत्र च्यातेका घट्नाहरु घटेका उदाहरण सुनाए । उनले भने,‘त्यतिवेला हामीले ५८ नगरपालिकामा जम्मा कांग्रेसले ९ वटामा मात्रै विजयी हाँसिल गरेको थियो, तर हामीले परिणाम स्विकार्यौं।’

उनले एमालेले भरतपुर घट्नालाई लिएर संसद अवरुद्ध गरेको घट्नालाई विगतमा जे हुँदापनि चक्काजाम गर्ने चलन दोहोर्याउन खोजेको आरोप लगाए । उनले भने,‘कुन बेला एमालेले कमरेडको घरमा झगडा भयो भनेर संसद अवरोध गर्न बेर छैन ?’ उनले आफूले संसद अवरुद्ध गरेको विषयमा एमालेका दोस्रो वरियताक्रमका नेताहरुसँग कुरा समेत गरेको सुनाएँ । उनले गेम हार्नेले ग्राउण्ड नै भत्काउने काम गर्न नहुने समेत सुझाए ।

उनले केही दिनभित्रै प्रधानमन्त्री चयनको लागि निर्वाचन तालिका सार्वजनिक हुने समेत जानकारी दिए । उनले भने,‘सभामुखज्यूले प्रधानमन्त्री चयनको कार्यसूचि सार्वजनिक गनुहुनेछ।’ उनले अबको चार दिनभित्र प्रधानमन्त्री चयन हुने समेत दाबी गरे । माओवादी केन्द्रको समर्थन रहेकोले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सुनिश्चित रहेको स्पष्ट पारे । उनले भने,‘अहिले हाम्रो पक्षमा ३ सय छ।’

भरतपुरमा तत्काल मतगणना नभए संसद अवरोध जारी रहन्छ :  एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता प्रकाश ज्वालाले भरतपुर महानगरपालिकामा तत्काल मतगणना नगरे एमालेले संसद अवरुद्ध जारी राख्ने चेतावनी दिए । उनले भने,‘भरतपुरमा अप्रत्यासित घट्ना घटाईयो, मतपत्र च्यात्ने काम भयो, कसले मतपत्र च्यातेको हो भन्ने कुरापनि पुष्टि भैसक्यो।’ उनले तत्काल मतगणना सूचारु गर्नुपर्ने माँग गरे ।

उनले हार्ने निश्चित भएपछि नियतवश रुपमा मतपत्र च्यातिएकोले आफूहरुले तत्काल मतगणना सुरु गर्नुपर्ने भन्दै संसद अवरोध गरेको स्पष्ट पारे । उनले भने,‘तत्काल मतगणना हुनुपर्छ, चुनाव भनेको हार जितको लागि हो, चुनाव हार्नको लागि पनि तयार हुनुपर्छ।’

ज्वालाले आफ्नै जिल्लामा समेत तीन ठाउँमा मत बराबर आएकोले गोलाप्रथाद्धारा हार जित वा निर्वाचनको मतपरिणाम सार्वजनिक गरेको उदाहरण पेश गरे ।

उनले प्रधानमन्त्री निर्वाचन रोक्नको लागि आफूहरुले संसद अवरोध नगरेको समेत जिकिर गरे । उनले भने,‘अहिलेको संसद अवरोध प्रधानमन्त्री चयनको लागि रोक्ने उद्देश्यले होईन, भरतपुरमा तत्काल निर्वाचन मतगणना सुरु नभएसम्म हामी संसद अवरोध जारी राख्छौं, भोलि सुरु हुन्छ भने हामी अवरोध गर्दैर्नौ।’

दोस्रो चरणको निर्वाचन विभिन्न नाटक गरेर असार १४ गतेको लागि तोकिएको भन्दै उनले दोस्रो चरणको निर्वाचनमापनि एमालेले राम्रो नतिजा ल्याउने विश्वास दिलाए । उनले भने,‘मधेशमा एमालेको धेरै राम्रो छ।’ उनले पहिलो चरणको निर्वाचनमा एमालेलाई कमजोर र हराउन सकिने गलत नियतले चुनाव गराएको भएपनि एमालेले विजयी हाँसिल गरेको र सरकारले भनेको भन्दा उल्टो परिणाम आएपछि सत्तारुढ दल आँत्तिएको समेत स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES