प्रश्नहरुको गन्जागोलभित्र थीरलोचन ( “प्रश्नपत्र जिन्दगीको” कविता संग्रहलाई पाठकीय दृष्टिकोण)

पञ्च विस्मृत

धेरै भयो कवि थीरलोचन श्रेष्ठका कवितामाथि लेख्न खोजेको । हरेक पल्टको बसाइमा ‘क’ नलेखी उठ्दो रहेछु । बरु उठ्दा मनमा प्रश्नहरुको मेला लाग्दो रहेछ । मेला खुब मन पर्छ । खुब रमाइलो लाग्छ मलाई । विविध रङ बोकेका प्रश्नहरु यताउति झुम्मिइरहेका; सबैको जबाफ आउनु पर्छ भन्ने कहीँ छैन— जसरी मेला भर्ने हरेकका रहरहरु पूरा हुँदैनन् । हरेक पटकको बसाइमा अपूरो रहर बोकेर उठ्दोरहेछु म ।

“मानिसको धर्म के हो ?” एक चर्चित सवाल होस् या “खै कवि पो भइन्छ कि ?” आत्मचिन्तन; या “ढाकर र तोक्मा बोकी कोही आइरहेछ कि ?” एक चौतारीको आशा !

अथवा :

हो, निर्जला तिमी सत्य छौ
अहँ, असत्य भनेकै छैन
मात्र भनेको हो, सोच
सुन्दर थियौ, सौन्दर्यको ताज जित्यौ
यत्तिमै मलाई छोड्यौ ?
– (झरेको फूल) एक गुनासो;

अथवा :

कस्तो सम्बन्ध हो हाम्रो ?
न प्राप्ति, न त्याग
न मिलन, न विछोड
– (जोडा केक र जोडा कफी) रहस्यपूर्ण सम्बन्ध;

प्रश्नहरु यत्रतत्र छन् ।

प्रश्नहरु यत्रतत्र छन्, समाधानका बाटाहरु पनि यत्रतत्र छन् । तर चतुरो कवि सम्भावित जबाफहरु अदृश्य रुपमा पाठकका आँखाअघिल्तिर राखिदिन्छन्, र मन खोज्छन् । अथवा कविलाई सबै प्रश्नहरुको जबाफ थाहा छ, तर पाठकले नै उनको मनमा रहेको जबाफ बोलिदेओस् भन्ने चाहन्छन् । सुख–दु:ख र जिन्दगीको घामपानीका विम्वहरुमा रमाउने कवि आफ्नो वरपर कवितै कविताका भाषा सुन्छन् । कविताको भाषाले मानवतासँग सान्निध्य राख्दछ, तर मावीय धर्म भुल्दै गएका मान्छेहरु पनि यत्रतत्र देख्छन् कवि । फलत: कवि उनीलाई सम्झाउन कर लाग्छ :

“तिम्रो र मेरो जात अलग भए पनि
एउटै शब्द प्रेम … ।”

देशको राजनीतिप्रति सन्तुष्टि व्यक्त गर्ने शायदै कवि छन् देशमा । बन्दको विरोध गर्छन् कवि, सरकारको नालायकीमाथि प्रश्न गर्छन्। यस्तो सरकारले चलाएको देशमा गरिबदुखीको आर्तनाद कवितामा सुन्न सकिन्छ, जब कविको ‘गानो’ दुख्छ । उनी विदेशको परिप्रेक्षमा आफ्नो देशलाई राखेर हेर्नसम्म चुक्दैनन् । यति भएर पनि उनले देशको सौन्दर्य हेर्न जानेका छन् । नत्र ‘भेडेटार’को सौन्दर्यगान किन गर्थे कवि ।

ऐश्वर्य प्रकाशन प्रा. लि. काठमाडौंले वि. सं. २०७३ मा प्रथम संस्करणको रुपमा प्रकाशित गरेको हो प्रश्नपत्र जिन्दगीको । थीरलोचन श्रेष्ठकृत उक्त कविताकृतिका कविताहरू पाँच खण्डमा विभाजित गरिएका छन् । र, जम्मा कविता सङ्ख्या रहेको छ ५१ । यसमा आवरणकला नवल खतिवडाको रहेको छ । भने भाषा सम्पादन कवि रामगोपाल आशुतोषले गरेको हो भन्ने कुरा लेखकीयबाट प्रष्ट हुन्छ । यस कृतिमा करिष्ठ कवि तुलसी दिवश, प्रा. डा. अभि सुवेदी, कवि मनु मन्जिल, र युवा समालोचक महेश पौडेलका कवि र कवितामाथिका बिचार पढ्न पाइन्छ ।

प्रश्नपत्र जिन्दगीको समग्रमा एक राम्रो कृति हो, जसमा युवा जोसमा लेखिएका कविताहरु समेटिएका छन् । कविसँग उमेर प्रशस्तै छ, त्यसैले अझ सशक्त कविताहरु पढ्न पाइने नै छ । यस कुरामा म आशावादी छु । यो सकरात्मक पाटो भयो । त्यसको ठीक उल्टोबाट सङग्रहित कविताहरुलाई हेर्दा देखिएको कुरा भन्नै पर्छ : कविताहरुमा ‘प्राविधिक गडबडीहरु’ प्रशस्तै छन् । तिनलाई भने आगामी लेखनहरुमा सुधार्नै पर्ने देखिन्छ ।
भन्दै यो पङ्क्तिकारलाई मन परेको एउटा कविता प्रश्नपत्र जिन्दगीकोबाट :

चौतारी

हेरिरहन्छु दूरदूरसम्म
सुनिरहन्छु पर क्षितिजको आवाज
झरीले मझेरी भरिने झुपडीबाट
ढाकर र तोक्मा बोकी
कोही आइरहेछ कि ?

सिमलीको पात पिपिरी बजाउँदै
गर्मीको हप्की छेल्न
हातमा गल्फन दौरा सुरुवाल र ढाका टोपी पहिरेर
पारी उनकी प्रेमिकासँग दोहोरी गाउन
भीरमुनिको साइँलो
आउँछ कि आउँदैन ?

खोजिरहेछु क्रान्ति योजना बनाउने ती युवादस्ता
ती प्रेमिल जोडी जसले चौतारीकै योजनाले
एउटा अनमेल जातीय प्रेम सफल तुल्याए
तिनका क्रस सन्तान इतिहास खोतल्न
आउँछन् कि आउँदैनन् ?

सिंहदरबार छिरेका सासकहरु
जसले धेरै रात मसँग काटेका थिए
ढाल बनाएका थिए, गोली खुवाएका थिए
तिनीहरु हेलिकप्टर चढेर
एक क्षण बस्न आउँछन् कि आउँदैनन् ?

बिम्ब बनाई धेरै कविता कोरल्नेहरु
मेरो काखमा महाकाव्य लेख्नेहरु
राष्ट्रिय पुरस्कार पाएपछि
केही छापाहरुमा पोखिएपछि
मलाई सम्झेर फेरि
एउटा कविता लेख्न आउँछन् कि आउँदैनन् ?

आयु त लामै थियो पुर्खाको र मेरो पनि
कुन दिन उँmटको घाँटी र बाघको पञ्जा बोकेर
तिमीहरु सप्पै मिलेर मेरो जरै उखेल्छौ
त्यसैले यो अनुरोध
मेरो शीतलता सकिएको छैन
मलाई स्वतन्त्र शीतल छर्न देऊ !

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES