फास्ट ट्रयाक निर्माणलाई गति दिन प्राविधिक तयारी तीव्र

काठमाडौं ७ मंसिर- नेपाली सेनाले काठमाडौं-तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणलाई गति दिन प्राविधिक तयारी तीव्र पारेको छ । निर्माण आधारशिविर स्थापना, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) परिमार्जन, निर्माणसम्बद्ध यन्त्र/उपकरण खरिद र विष्फोटक पदार्थ आपूर्तिलगायतको काम सेनाले एकसाथ थालेको छ ।

मख्खुबेसी, कुलेखानी, लेनडाँडा, बुदुने र बागदेव गरी पाँच स्थानमा शिविर खडा भइसकेको छ । थप पाँच स्थानमा स्थापना गर्ने बताईएको छ । हालसम्म दुई वटा गणका करिब पाँच सय सैनिक फास्ट ट्रयाक निर्माणमा परिचालन भइसकेका छन् भने थप दुई वटा गणलाई परिचालन गरिने बताईएको छ ।

अहिले ‘डीपीआरको सबै प्रक्रिया पूरा नभए पनि अहिले काम थालिहाल्न समस्या नभएको सैनिक स्रोतले बताएको छ । तर अहिले ट्रयाक सहज गराउने काम भइरहेको छ ।

द्रुतमार्ग निर्माण तीव्र बनाउन सेनाले आधुनिक हेभी इक्युपमेन्ट मेसिन खरिद गरेर ल्याउन थालेको छ । नयाँ रक ब्रेकर, एक्जाभेटर, व्हिल लोडर, एयर कम्प्रेसर, रोलर, बुल डोजर, ब्याक हो लोडर र ग्रेडर मेसिन , ट्रक, क्याब पिकअप, ट्रेलरसहितको ट्याक्टरलगायत साधन खरिद गरिसकिएको छ ।

द्रुतमार्ग ललितपुरको खोकनाबाट काठमाडौंको चाल्नाखेल तथा दक्षिणकाली-इपा-गढी-छतिवन र धियाल हुँदै बाराको रतनपुरी लालगाउँ र निजगढमा पूर्वपश्चिम राजमार्गमा जोडिने छ।

चार लेनको आधुनिक तथा सुविधा सम्पन्न सडक पहाडी क्षेत्रमा २३ र तराईमा २५ मिटर चौडाइको हुनेछ भने,उक्त मार्गमा ९९ सय वटा पुल निर्माण गरिने छ । द्रुतमार्गर्मा पर्ने मकवानपुरको ठिंगनबाट रातोमाटे जोड्ने डेढ किलोमिटर लम्बाइको दुईमुखे सुरुङ पनि निर्माण गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *